त्यो दिन (वैशाख १२ गते शनिबार) बिहानैदेखि मौसम अलि नरमाइलो थियो । बिहान सबेरै सिंहदरबारस्थित रेडियो नेपालको कार्यालय पुगेर ७ बजेको समाचार पढें । त्यसपछि चिया पिएर कपनमा रहेको घरतिर लागें । ज्यानलाई त्यति सञ्चो थिएन ।
अघिल्लो दिन मोबाइल म्यासेजमार्फत निम्तो आएको थियो, पुस्तक विमोचनसम्बन्धी । काभ्रे समाजले आयोजना गरेको उक्त कार्यक्रम ११:१५ मा सुरु हुने । गजबको टाइमिङ ! ११ बजे वा साढे ११ मा कार्यक्रम किन नराखिएको होला भनेर मनमनै सोचें । उक्त कार्यक्रममा हाजिर मात्र भएर सिंहदरबार फर्किएँ । ११ बजेको समाचार बुलेटिन प्रसारण गरिसक्दा दिवा सत्रका सहकर्मीहरू आइसकेका थिए । त्यहाँबाट निस्कने बेला ठीक १२ बजेको थियो ।
हामीकहाँ ८ र १२ बजे हिँड्दा अशुभ हुन्छ भन्ने पुरानै मान्यता छ । त्यसैले १२ बजेको समय कटाउन नजिकैको वन मन्त्रालयको क्यान्टिनमा चिया पिउन गएँ । टेबुलमा चिया के आइपुगेको थियो, हामी बसेको धर्ती बेस्सरी हल्लिन थाल्यो । दौडदै चौरमा पुगें । त्यही एक बल्ड्याङ लडियो । कम्पन थामिएको छैन । शान्ति मन्त्रालय र वन मन्त्रालयको भवन हल्लिन थाल्यो । पर्खाल गल्र्याम्मै ढल्यो । दायाँ र बायाँ पाँच–पाँच तलाको भवन हल्लिँदा ‘कर्याक–कुरुक’ गर्दै एक किसिमको अत्यासलाग्दो आवाज निस्कियो । जताततै धूलो उडेको देखियो । पार्किङका मोटरसाइकलहरू ढले । त्यसदिन गाडी छाडेर मोटरसाइकलमै अफिस पुगेको थिएँ ।
म उभिएको ठाउँबाट रेडियो नेपाल १ मिनेटको दूरीमा थियो, दौडदै त्यहाँ पुगें । १२ बजेको समाचार बुलेटिन प्रसारण भएनछ । समाचार प्रसारणका लागि गएका सहकर्मीहरू माधव घिमिरे र जनार्दन विष्ट घाइते भएर बाहिर निस्किए । उनीहरू पुरानो स्टुडियोमा थिए ।
जीवनकालमै अनुभव नगरेको भूकम्पले नराम्ररी तर्साइसकेको थियो । निकै ठूलो विपद् आइसकेको छ भन्ने कुरा अनुमान गरिसकेको थिएँ । सर्वत्र विपद् छाइरहेको बेला हठात म एउटा कठोर निर्णयमा पुगें र हतार–हतार १ मिनेटको दूरीमा रहेको मास्टर कन्ट्रोल रुममा छिरें ।
जापानी सहयोगमा बनेको यो भवनले भूकम्पको धक्का थाम्छ भन्ने लागेरै मलाई यस्तो हिम्मत आएको हुनुपर्छ । रेडियो नेपालले यो भवनलाई पूर्णरूपमा उपयोग गरेको छैन । यसभित्र निकै उत्कृष्ट रेकर्डिङ स्टुडियो छ ।
मास्टर कन्ट्रोल रुममा प्राविधिक बहिनी मीनरुवा बज्राचार्य एक्लै रहिछन् । उनले रेडियोमा आनी छोइङको गीत ‘फूलको आँखामा फूलै संसार..’ बजाइरहेकी रहिछन् । मैले उनलाई इन्टरनेटमा ‘अहिलेको भूकम्पबारे के जानकारी छ ?’ भनेर सोधें । अमेरिकी भूगर्भ विभागले ७ दशमवल ९ रेक्टर स्केलको भूकम्प मापन गरेको जानकारी पाइयो ।
त्यहाँ दुइटा टेलिफोन उपलब्ध थियो । मैले त्यसको नम्बर नोट गरें । प्राविधिकलाई प्रत्यक्ष प्रसारणका लागि तयार रहन भनें । मस्तिष्कमै कार्यक्रमको एउटा खाका बनाएँ । अनि रेडियोलाई कसैको अनुमति बिना स्वविवेकले आफ्नो नियन्त्रणमा लिएँ, अर्थात ‘टेक ओभर’ गरें । २५ वर्षे रेडियो पत्रकारितामा मेरो निम्ति यो ठूलो परीक्षा थियो । २०४६ सालमा रेडियो नेपालबाट पत्रकारिता थालेको मलाई यस्तो आपतको बेला कसरी अगाडि बढ्ने भन्ने कुराको ज्ञान त थियो, अनुभव थिएन ।
‘फूलको आँखामा..’ गीत बजिसकेकै थिएन । भूकम्प गएको करिब ५ मिनेटपछि मैले रेडियोलाई टेक ओभर गरेर भने, ‘यो रेडियो नेपालको विशेष प्रसारण हो । भर्खरै मात्र शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले यसलाई ७ दशमवल ९ रेक्टर स्केलको मापन गरेको छ ।’ मैले रेडियो नेपाल ७२ घण्टा निरन्तर प्रसारण हुने उद्घोष पनि गरें । त्यसपछि मलाई यो अवस्थामा अलि उत्तरदायी ढंगले कार्यक्रम प्रस्तुत गर्नुपर्छ भन्ने लाग्यो । सर्वसाधारणलाई ‘धैर्य गर्न’ आग्रह गर्दै भने–‘तपाईंहरू आफू सुरक्षित रहेर अरूलाई पनि बचाउनु होला ।’
म त स्टुडियोमा छु । बाहिर के भैरहेको छ ? जानकारी छैन । मैले सर्वसाधारणलाई अनुरोध गरें–‘तपाईं जे–जस्तो अवस्थामा हुनुहुन्छ, कृपया हाम्रो टेलिफोनमा जानकारी गराउनु होला ।’ त्यसपछि विभिन्न ठाउँबाट फोनहरू आउन थाल्यो । यस्तो बेला अनेक विषयहरू छरपस्ट हुँदारहेछन् । त्यसैले बाहिरबाट आउने खबरलाई सिलसिलाबद्ध गरेर प्रसारण गर्दै गएँ । क्रमश: बाहिरका घटनाहरू, त्यहीँका बासिन्दामार्फत आउन थाल्यो ।
करिब आधा घण्टापछि दुई जना रिपोर्टर दुर्गा फुँयाल र विमल ज्ञवाली पनि आइपुगे । सञ्चार मन्त्रालय र गृह मन्त्रालयमा खटाउना साथ उनीहरू दौडिहाले । केही छिनमै सञ्चारमन्त्री र गृहमन्त्रीलाई उनीहरूले मोबाइलमार्फत बोल्न लगाए ।
अर्का रिपोर्टर चन्द्र बानियाँ कीर्तिपुर हुँदै रेडियो नेपाल आइपुगे । उनी भूकम्पको बेला बीच बाटोमै परेकाले सुन्धारा चक्कर लगाएर आएका रहेछन् । उनले धरहरा ढलेकासहित राजधानीभित्रका केही ताजा समाचारहरू सुनाए । त्यसपछि क्रमश: रोमा रायमाझी र दुई जना प्राविधिक पनि कार्यालयमा आए । चार जना रिपोर्टर र तीन जना प्राविधिक भएपछि कार्यक्रमलाई मैले थप सशक्त ढंगले अगाडि बढाएँ । त्यतिबेला आफ्नो मान्यताअनुसार स्वतन्त्र रूपमा १२ घण्टा कार्यक्रम चलाएँ । बाह्य हस्तक्षेपबाट बच्न मैले अलि कडा भाषामा ‘यदि कसैले मलाई यहाँ डिस्टर्व गर्न खोज्यो भने, घोक्रयाएर बाहिर निकाल्छु’ सम्म भनिदिएँ ।
अब मैले आफ्नो भूमिका अलि फरक बनाउनुपर्छ भन्ने लाग्यो । दूरसञ्चारका हाकिमलाई फोन गरेर भने– ‘अहिले सर्वसाधारण विषम परिस्थितिमा छन् । यस्तो बेला तपाईंहरूले एसएमएस र मोबाइल कल फ्रि गर्नुपर्छ कि पर्दैन ?’ नेपाल टेलिकमले तत्कालै फोन कल र एसएमएस फ्रि गरिदियो । त्यसबेला फोन सम्पर्क हुन गाह्रो हुने भएकाले मैले रेडियोबाट नै सर्वसाधारणलाई भनें– ‘कृपया आफन्तसँग सञ्चार सम्पर्कका लागि कलभन्दा म्यासेज गर्नुहोला ।’
यसैगरी मैले अन्य निकायलाई पनि आ–आफ्नो ठाउँवाट सहयोग गर्न आग्रह गरें । भूकम्प पछि पानी, खाद्यान्नको संकट हुन नदिन सम्बन्धित निकायलाई सतर्क गराएँ । बजारमा खाद्य सामग्रीको मूल्य बढाइएको, गाडी भाडा बढाइएको गुनासो आयो । प्रहरी, यातायात व्यवसायीलाई फोन गरेर त्यस्ता कार्य नगर्न र नगराउन अनुरोध गरें । सँगसँगै आम जनताहरू मनोवैज्ञानिक रूपमा त्रसित र हतास नहुन भनेर परामर्श पनि दिइरहें । सरकार र सर्वसाधारणबीच जुन ग्याप थियो, त्यसलाई मेट्ने प्रयास गरें । भूकम्पपछि विकसित घटनाक्रमअनुसार कार्यक्रमको खाका स्वत: बन्दै गयो । अर्कोदिन साथीसँग नगरकोट पुगें । त्यहाँ मेरो घर पनि ध्वस्त थियो । त्यसदिन साथीसँगै नगरकोट डाँडामा बसेर काठमाडौं बाहिरका जानकारी लिएँ ।
भूकम्पको त्रासले सबै बाहिर आइसकेका थिए । अब के हुन्छ भन्ने अज्ञात त्रास थियो । सञ्चार सम्पर्क अबरुद्ध भएकाले कहाँ के भैरहेको छ भन्ने कुरामा उनीहरू वेखबर थिए । यस्तो बेला मोबाइलमार्फत उनीहरूले रेडियो ट्युन गरे । भूकम्पपछि कतिले मलाई भने– ‘त्यो शून्यतामा रेडियोको आवाज कुनै देववाणी जस्तै लाग्यो ।’ हुन पनि घर बाहिर भएकाले उनीहरू टेलिभिजनको पहुँचमा थिएनन् । अन्य रेडियो स्टेसनहरू ढलेका थिए । त्यस्तो परिस्थितिमा रेडियो नेपालमार्फत मैले उनीहरूलाई भूकम्पको ताजा जानकारी पस्किएँ । त्यति मात्र होइन, सर्वसाधारण र राज्यलाई जोड्ने साँघुको काम पनि गरें ।
मनोमानी ढंगले घर बनाउनुभएन
प्रमोद न्यौपाने, इन्जिनियर
यो भुइँचालोले नेपाललाई धेरै पाठ सिकायो । घर बनाउँदा सर्वसाधारणदेखि सबैले ख्याल गर्नैपर्ने धेरै कुरा छन् । यो महाविपत्तिपछि हाम्रो मुलुकमा सडक संरचना, विद्युत्, टेलिफोन, एयरपोर्ट, इन्टरनेट सेवा सुचारु भएकाले काम गर्न सहज भयो । यीमध्ये कुनै एउटा मात्र बन्द हुन्थ्यो भने ठूलो अझ ठूलो विपत्ति आइलाग्थ्यो ।
मैले क्षतिग्रस्त काठमाडौंका उपत्यकाका ३ सय ५० घरहरूको परीक्षण गरें । मेरो घर बालाजु आसपासका क्षेत्रदेखि थेचो, सातदोबाटो, सुन्दरीजल, बौद्ध, गोंगबु, कपनलगायत अन्य धेरै ठाउँ पुगें । धेरै अग्ला–अग्ला घरहरू ढलेको पाइयो । सुरुमा नक्सा पास गर्दा दुईतले घर बनाइएको पछि त्यसैलाई सात तलासम्म बनाइएको पाइयो । सुरुमा आफू मात्र बस्न बनाइएको घर पछि त्यो ठाउँ व्यापारिक क्षेत्रमा परिणत भएपछि अग्ला महलमा परिणत गरिए । घरधनीहरूमा बढी पैसा कमाउने लोभ बढ्यो । यसरी मापदण्डविपरीत बनाइएका घर नै बढीजसो ढलेको देखियो । धेरैजसोले घर बनाउँदा कमसल डन्डी, रोडा, बालुवा र मिक्सिङ प्रयोग गरेको पाइयो । घरको जगमा पानी जान दिनु हुँदैनथ्यो । अग्ला र लडेका घरहरूमा अगाडिपट्टी ढल भेटियो । घर बनाउँदा इन्जिनियरहरूको सुझाव लिएको खासै भेटिएन । ठेकेदारहरूले जे–जे भने त्यहीअनुसार घरधनीहरूले घर बनाए । इन्जिनियरसँग सम्पर्क नै नगरी घर बनाउँदा अहिले ठूलो क्षति बेहोर्नुपर्यो । इन्जिनियरिङको भाषामा डिके (कुहिएर झर्ने क्रम) भएका घरहरूको आयु कम हुन्छ । घरमा प्रयोग भएका सरसामानहरू, उपकरणहरू समय बित्दै गएपछि कुहिँदै जान्छन् । त्यहाँ दुर्घटनाको सम्भावना बढी हुन्छ । गोंगबु क्षेत्रमा बढीजसो क्षति भएको पाइयो । त्यसको पनि कारण छ । त्यहाँ दुईतले घरहरूमाथि थप तला थपेको भेटियो । अन्यत्रभन्दा त्यस क्षेत्रको माटो पनि कमजोर छ, जसले गर्दा ठूलो क्षति भयो । नक्सा पास गरेका, भवन निर्माण निर्देशिकाले भनेका कुरा पालना गर्ने घरहरू भने सुरक्षित भएको पाइयो ।
आवासीय प्रयोजनका लागि भनेर स्वीकृति लिने तर व्यापारिक प्रयोजनका लागि घरहरू बनाइएको पनि पाइयो । ठेकेदार, घरधनीहरूले यसरी मनोमानी ढंगले भवनहरू बनाए । क्षति हुनमा त्यो पनि एक प्रमुख कारण हो । धेरै ठाउँमा गेट, पर्खालहरू समेत ढलेको पाइयो । तिनलाई बिनाआधार ठिङ्ग उभ्याइएकाले ढलेका हुन् । यिनलाई बाँध्ने कुरा पनि हुन आवश्यक छ, तर कतै त्यस्तो गरेको देखिएन । सहर यी र यस्तै कारणले पनि जोखिममा छ । हेर्दै जाँदा कतै घरको, कतै कार्यालयको पर्खाल भत्किएको भेटियो । भत्किएका त्यस्ता पर्खाल हटाएर बस्न खासै डराउनु पर्दैन, तर धेरै मानिस आतंकित भएको देखिन्छ ।
सनराइज टावरमा ८ सय परिवार र काठमाडौं रेसिडेन्सीमा २ सय परिवार बसिरहेका छन् । ती बस्न योग्य छैनन्, तर भवनहरू तत्काल भत्काइहाल्नु भने पर्दैन । मेरुदण्ड नै भाँचिएको हो कि औंला भाँचिएको हो त्यो कुरा बुझेर मात्र नयाँ भवन बनाउनतिर लाग्नुपर्छ । पद्मा कोलोनीको जस्तो अवस्था अन्यत्र कमै देखियो । यहाभित्र रहेका ९६ वटा घरमध्ये कुनै पनि बस्न योग्य रहेनन् । भिरालो जग्गामा अव्यवस्थित ढंगले बनाएकाले त्यस्तो क्षति हुन गयो । यहाँको माटो परीक्षण गरेर, जग हेरेर त्यही अनुसार घरको जग हाल्नुपर्ने थियो, तर ती कुनै कुरामा पनि ख्याल गरेको पाइएन ।
राजधानीका सपिङ मल, कम्प्लेक्सहरू चर्किएका छन् ।
रातारात तिनलाई टाल्ने काम भैरहेको छ, तर त्यो सही समाधान होइन । बाहिर टालेर मात्र हँुदैन । तिनले बढी भार थाम्न सक्दैनन् । त्यस्तोमा अझ दुर्घटनाको सम्भावना हुन्छ । अति सामान्य चर्किएका घरहरू छन् भने बस्न योग्य हुन्छन्, तर पूरै प्वाल परेको छ, हात नै छिर्ने खालका, इँटा फुटेका छन् भने बस्न योग्य मानिँदैन । तत्काल भत्काएर अर्को बनाउन हतारिनु पनि हुँदैन । राष्ट्रिय सम्पदाहरू बनाउन पनि त्यति हतारिनु आवश्यक छैन । विस्तृत अध्ययनपछि बिस्तारै बनाउँदा हुन्छ । स्मारकहरू खुला ठाउँमा बनाउनुपर्छ । तिनलाई व्यापारीकरण गरिनु हँुदैन ।
दुई तला नक्सा पास गरेर, त्यसमाथि तलाहरू थपेको, भवन निर्माण निर्देशिकाको नियमविपरीत गएको, दुई घरहरू जोडिएको छ भने त्यसलाई मापदण्डविपरित गएको मानिन्छ । घर निरीक्षण गर्दै जाने क्रममा हामीलाई पर्याप्त मात्रामा उपकरणहरूको कमी महसुस भयो । किन्ने हो भने एउटै उपकरणको २५–२६ लाख रुपैयाँसम्म पर्छ । ती मेसिन हामीसँग भैदिने हो भने वास्तविक कुरा पत्ता लगाउन ठूलो सहयोग मिल्छ । चर्किएका, भत्किन लागेका घरहरूमा ती मेसिन राखेर जाँच्ने हो भने अब कति क्षति हुने सम्भावना रहन्छ, त्यो कुरा ठ्याक्कै पत्ता लाग्छ । हामीसँग महँगा उपकरणहरू छैनन् । काम गर्न असहज भैरहेको छ ।
बेलायतको सेफिल्ड विश्वविद्यालयमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गर्दा मलाई पढाउने प्रोफेसरहरूसँग नियमित सम्पर्कमा छु । उहाँहरूले पनि निकै चासोपूर्वक नजिकबाट हाम्रो काम र नेपालको भूकम्पलाई हेरिरहनुभएको छ । हामीलाई आवश्यक सुझाव, सल्लाह निरन्तर दिइरहनुहुन्छ । थप काम गर्नमा यसले हामीमा अझ उत्साह र उर्जा मिलेको छ । मेरा अन्य साथीहरू जसले विदेशी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङबाट डिग्री लिएका छन्, सबैजना आ–आफ्नो प्रोफेसरहरूसँग नियमित सम्पर्कमा छन् । यस्तो बेला विज्ञको सुझाव, सल्लाह पनि धेरै नै उपयोगी भैदिन्छ ।
(स्टक्चरल इन्जिनियरन्यौपानेसँग नरेन्द्र रौलेले गरेको कुराकानीमा आधारित ।)