नेपालमा आइपरेको महाविपत्तिको घडीमा हामी परदेशमा बस्नेहरूले आ–आफ्नो तर्फबाट सहयोग गर्नैपर्छ । थोरै, धेरै जति सकिन्छ आर्थिक सहयोग गर्नु हाम्रो पहिलो कर्तव्य हो । त्यसबाहेक हामी जहाँ रहे पनि हामी बसेको ठाउँमा सहयोगका लागि अभियान सञ्चालन गर्न सक्छौं । विदेशी संघसंस्था, कार्यालय, क्लब, स्कुल, विश्वविद्यालयजस्ता विभिन्न निकायसँग मिलेर कसरी, कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सक्छौं ।
आर्थिक क्षमता हुनेले, सक्नेले नगद रकम दिएर सहयोग गर्न सक्छन् । त्यस्तै प्राविधिक क्षमता हुनेले जनशक्ति, प्रविधि, कुनै उपकरण दिएर सहयोग गर्न सक्छन् । जुन हाम्रो मुलुकका लागि अत्यावश्यक नै छ । स्कुल, विश्वविद्यालयले स्टेसनरी सहयोग, विज्ञान प्रयोगशालाका लागि चाहिने सामग्रीहरू प्रदान गर्न सक्छन् । नेपालका स्कुल, कलेजहरू खुलेपछि कतिपयले स्वयंसेवकको रूपमा काम गर्ने चाहना देखाउलान्, त्यसरी काम गर्न इच्छुकहरूलाई नेपाल सरकारले उपयुक्त वातावरण बनाइदिनुपर्यो । बरु हामी विदेशमा रहनेहरू त्यस्तो जनशक्ति नेपालमा पठाउन पहल गर्न तयार छौं ।
यतिबेला विदेशमा बस्नेहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहयोग गर्न तयार हुनैपर्छ । यो मुलुक बनाउने मौका पनि हो । सबैले फराकिलो मन देखाउने बेला हो ।
नेपालका लागि अहिले गरिएको सहयोगको यो क्रमलाई निरन्तरता दिनुपर्छ । कम्तीमा वर्षको एक पटक अनिवार्य नेपाल जाने, वस्तुस्थिति बुझ्न सक्यो भने अझ कस्तो प्रकारको सहयोग गर्ने भन्नेमा स्पष्ट हुन सकिन्छ । देश बनाउनमा मेरो पनि भूमिका रहन्छ, यो मेरो पनि कर्तव्य हो भनेर अघि बढ्नु आवश्यक छ ।
हवलचन्द्र लामा, प्रिन्सिपल,
निक्को स्कुल, जापान
देश बनाउन एकजुट हुनैपर्छ
मेरो विचारमा नेपालका सरदर ६० प्रतिशत घरधुरीका कोही न कोही हामी नेपाल बाहिर छौं । यसको आधाभन्दा बढी जनसंख्या विकसित मुलकमा छौं । म अमेरिका बसेको १६ वर्ष भयो । अहिले आफ्नै सानो व्यवसाय छ, त्यो व्यवसायबाट जीवन धान्न मात्र सकिएको छ । म ‘पार्टटाइम’ काम पनि गर्छु । अहिले देशलाई सहयोगको खाँचो छ । प्रशस्त भएर होइन, जोहो गर्न सक्ने रकम अनुमान गरेर सात लाख रुपैयाँ मातृभूमि नेपालका भूकम्पपीडितका लागि सहयोग गर्नेसंकल्प हामीले गर्यौं । परिवारिक निर्णय भयो, असमर्थलाई नै सहयोग गरौं । थोरै भए पनि सकेको गरौं । हाम्रो सहयोगले दुई परिवारका लागि स–सानै भए पनि दुईवटा घर बन्छ कि भन्ने लागेको छ । नभए दुई टुहुरालाई पढाउन सक्छौं कि भन्ने पनि लागेको छ ।
म विदेशमा बस्नेहरूलाई आग्रह गर्छु, सबैले गरौं, सकेको गरौं । जबसम्म हामीभित्रको मानवता कमजोर हुँदैन, तबसम्म हामी बलियो रहन्छौं । यो हाम्रो सोच बदल्ने बेला हो । सरकारलाई दोष दिएर मुठी बाँधेर बस्नुभन्दा आफूले के गर्न सकिन्छ, त्यो गर्ने बेला हो ।
हामी विदेशमा बस्नेले पनि स्वदेशका लागी केही गर्नुपर्छ । मातृभूमिलाई मलमपट्टीको खाँचो छ । मलमपट्टीका लागि मुठ्ठी खोल्नु जरुरी हुन्छ । हामी सामान्य परिवारले र हामी जस्ता अरू धेरैको सहयोग सागरमा एक थोपा पानी सरहमात्रै हुन सक्ला, तर हामीले यो सानो संकल्प गर्नुको पछाडि पनि केही स–साना कारणहरू पनि छन् । देश हाम्रो हो, हामीले नै बनाउनुपर्छ । देश भत्किएको कुरा मात्र नगरौं, अब देश बनाउने कुरा गरौं । महाभूकम्पले धरहरा लडायो, काष्ठमण्डप ढाल्यो, नौतले दरबार भत्कायो तर हामी नेपालीको छातीमा ठडिएको अठोटको धरहरा लड्नु हुँदैन । जाँगरको काष्ठमण्डप ढल्नु हुँदैन । आत्मसम्मानको नौतले दरबार भत्किनु हुँदैन । घर भत्किए पनि हाम्रो साहस भत्किनु हुँदैन । हाम्रो विश्वास मर्नु हुँदैन ।
हामीसँग सामथ्र्य नभएको हैन, संकल्प नभएको हो । आज नेपाल आमाको छाती चिरिएको छ । देश शोकमा डुबेको छ । संकटमा छ । अब यही शोक र संकटलाई संकल्पमा बदल्नु छ । संकल्प गरौं– सबैले गरौं, सकेको गरौं । देशमा उन्नति र समृद्धिका धेरै धरहरा, काष्ठमण्डप र नौतले दरबारहरू ठड्याऔं । गाउँगोठहरू फेरि बसाऔं ।
शिव प्रकाश, बोस्टन, अमेरिका
आवश्यकता र माग बुझेर सहयोग गरौं
आफ्नो मातृभूमि शोकमा डुबेका बेला हामी परदेशमा बस्नेहरू पनि उत्तिकै पीडामा छौं । नेपालमै भएको भए त्यहाँको वस्तुस्थितिका बारेमा अझ बढी थाहा हुन्थ्यो, तर बाहिर रहँदा अझ बढी छट्पटी हुँदो रहेछ । कतिखेर के हुने हो पत्तै नहुने । चैनले सुत्न पनि सकिएन ।
महाविपत्तिमा परेर धेरैले ज्यान गुमाए । त्यो पीडा असह्य बनेको छ । कति मानिसहरू घरबारविहीन बनेका छन् । बाँच्नेहरू पनि अत्यन्तै कष्टले जीवन गुजारा गरिहेका छन् । हामी परदेशमा बस्नेहरूले मातृभूमिमा यसरी छट्पटाइरहेका नागरिकहरूको राहत लागी केही गर्नैपर्छ । आफ्नो कमाइको केही अंश गाउँका क्षतिग्रस्त घरको निमार्णका लागि दिन सक्छौं । लुगाकपडा, औषधि, खानेकुरा दिएर पनि सहयोग गर्न सक्छौं । आआफ्नो ठाउँबाट देशलाई सहयोग गर्नु हामी विदेशमा बस्नेहरूको कर्तव्य हो ।
हामीले पीडितहरूको सहयोगका लागि खर्चिनुपर्छ । सम्बन्धित ठाउँको आवश्यकता, माग हेरेर त्यसैअनुसार कहाँ, के पठाउनुपर्छ हामी त्यसका लागि तयार हुनुपर्छ । चाउचाउ, बिस्कुट मात्र बाँडेर हुँदैन । लामो समय पुग्ने गरी हामीले सहयोग गर्नु उचित हुन्छ ।
टीका गुरुङ, नमोबुद्ध आमा समुह, हङकङ
फजुल खर्च घटाएर पीडितलाई सहयोग गरौं
नेपालमा यतिबेला आइपरेको विपत्तिले विदेशमा छरिएर रहेका हामी नेपालीहरू अत्यन्तै दु:खी छांै । यो समय हाम्रा लागि प्रतिकूल छ । यस्तो दर्दनाक अवस्थामा विदेशमा हुँदा झनै गार्हो हुँदो रहेछ । सामाजिक सञ्जाल र मिडियाहरूमा देखिने तस्बिर र समाचारहरूले त झन् मनै रुवाउँछन् ।
परदेशमा रहनेहरूले आफ्नो देशका लागि सकेको सहयोग गर्नु कर्तव्य हो । सक्नेहरूले आर्थिक सहयोग गर्नु त स्वभाविक नै भयो । अन्य नेपालीहरूले पनि आ–आफ्ना ठाउँमा सहयोगी हातहरू अगाडि बढाउनैपर्छ । विपद्का बेला हामीले योगदान दिन सकेनौं भने कहिले गर्ने ? प्रत्येक गाउँ, सहर, जिल्लाबाट नेपालीहरू बिदेसिएका छन् । सकिन्छ भने आफ्नै गाउँठाउँ फर्किएर निर्माण कार्यमा जुटौं । सकिँदैन भने कम्तीमा आफ्नो ठाउँका लागि केही योगदान गरौं । अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउनु उचित होला । नेपाल रोइरहेका बेला सहयोग नगरे कहिले गर्ने ? बरु नेपाल सरकारले आफ्ना नागरिकहरूलाई स्वदेशमै बस्ने प्रबन्ध मिलाओस् ।
हामी परदेशमा रहे पनि राहत जुटाउने अभियानमा साथ दिन्छौ । नेपालमा भैदिएको भए निर्माण कार्यमा अगाडि बढ्थ्यांै होला । छिटै नयाँ नेपालको निर्माणमा सहभागि हुने आशा गरेको छु ।
तारा उदासी, इजरायल
हामी युवाहरू अर्काको देशमा पसिना बगाउँदै, मातृभूमि रोएको दृश्य सामाजिक सञ्जालमार्फत टुलुटुलु हेरेर बस्नुपरेको छ । यो मनमा कति छट्पटी हुन्छ । रोइरहेको नेपालीहरूलाई सहयोग गर्न नपाउँदा मन कटक्क हुन्छ ।
सम्पूर्ण पीडितहरूलाई हामी परदेशीको सन्देश साथै आर्थिक सहयोग गर्ने योजना छ । जति जे हुनु थियो भयो भैसक्यो । आफुलाई कमजोर नबनाउनुहोस् । देशका लागी हामी एकजुट भयौ भने धेरै गर्न सकिन्छ । विदेश बस्नेले आफू जन्मेको मातृभूमिप्रति सद्भाव जगाउनुपर्छ । अहिले देशलाई मनोबलको खाँचो छ, साथै आ–आफ्नो तर्फबाट गर्न सक्ने आर्थिक सहयोग गरौं ।
टेक प्रिन्स
जो विदेशी भूमिमा छ, उसलाई थाहा हुन्छ देशको माया कति लाग्छ भनेर । सही अर्थमा देशले के मान्यता राख्दो रहेछ भन्ने कुरा नेपालबाहिर गएपछि मात्र थाहा हुन्छ । विदेशी भूमिमा म पनि श्रम गरेर बाँचिरहेकी छु । मलगायत विदेशी भूमिमा रहनेहरूले नेपालको दुखेको घाउमा मल्हम लगाउनु कर्तव्य हो । जसरी जुन रूपमा हुन्छ हामीले त्यसका लागि प्रयास गर्नुपर्छ, गरिरहेका पनि छौं ।
युुनिसा लिम्बुनी
विदेशमा सिकेको र आर्जेको ज्ञान, सीप अब मातृभूमिका लागि उपयोग गरौं । यो दुखद क्षणलाई अवसरका रूपमा लिनुपर्छ । अब नेपालमै बस्ने अबस्था सिर्जना गरिनुपर्छ ।
रवि केसी
हामी नेपाल बाहिर रहनेहरू जुन देशमा छरिएर रहेका भए पनि आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेका छौं । अझ एकजुट हुनु आवश्यक छ । पीडितहरूलाई सानोभन्दा सानो सहयोग गर्न सके ठूलो राहत हुनेछ । हाम्रो सानो सहयोगले धेरैको ज्यान जोगिन सक्छ ।
रोशन लामा, दोहा, कतार
पीडितहरूलाई सान्त्वना, आँट, हौसला, उचित सल्लाह, मनोबल बढाउने काम गर्न सके पनि धेरै राहत हुन्छ । सक्नेहरूले आर्थिक सहयोग गर्नु
कर्तव्य हो ।
पूर्णिमा राई, इजरायल
नेपाल शोकमा डुबेको अवस्था छ । त्यसैले हामी प्रवासमा कार्यरत नेपाली साथीहरूले एक–दुई पैसा मात्र जुटाए पनि भूकम्पपीडितका लागि आर्थिक सहयोग जुटाउनेतिर ध्यान दिनुपर्छ ।
तुम्बापो पूर्ण लिम्बु, मलेसिया