कम्पन जारी थियो, हतारिँदै मोटरसाइकल चढेर धापासीस्थित घरमा पुगें,अनि क्यामेरा भिरेर असनतर्फ लागें। बाक्लो र पुराना घरहरू भएकाले असन ध्वस्त भयो होला भन्ने मेरो अनुमान थियो। भूकम्पको त्रासले बाटोभरि मानिस ओइरिएका थिए। सबैको अनुहार भयग्रस्त थियो। जाँदाजाँदै दरबार हाइस्कुल भत्किएको देखें। धरहरा पुगेर पनि तस्बिर खिच्न सकिनँ। त्यहाँ एकदमै तनावपूर्ण अवस्था थियो, कोही रोइरहेका, कोही चिच्याइरहेका। सुरक्षाकर्मीहरू उद्धारमा खटिएका थिए। त्यहाँ सहयोग गर्नेहरूभन्दा पनि रमितेहरू बढी थिए। रमितेहरूको भीडले गर्दा काम गर्न अप्ठ्यारो भएकाले सुरक्षाकर्मीहरू आक्रोशित देखिन्थे। उनीहरू रमितेहरूलाई गाली पनि गरिरहेका थिए।
भूकम्पले काठमाडौंमा मच्चाएको विध्वंसलाई नजिकबाट नियालेपछि राति घर फर्कें। घरका सबै नजिकै पालमा बसिसकेका थिए। त्यहीबेला न्युयोर्कस्थित टाइम पत्रिकाको कार्यालयबाट फोन आयो। मैले उनीहरूलाई यहाँको वस्तुस्थितिबारे सरसर्ती जानकारी गराएँ। अनि, दिउँसो खिचेको ८ वटाजति तस्बिर पनि पठाइदिएँ। त्यसमध्ये तीनवटा तस्बिर टाइमको अनलाइन संस्करणमा प्रकाशित भयो।
राति सुत्न सकिएन। फेरि सुन्धारातर्फ हान्निएँ। रातको १२ बजिसकेको थियो। भत्किएको धरहरामा पुरिएकालाई निकाल्न सुरक्षाकर्मीहरू भग्नावशेष खोतल्दै थिए। बत्ती नभएकाले टर्च बालेर काम गरिरहेका थिए। त्यस्तो बेला काम गर्नका लागि आवश्यक औजारहरू थिएन। त्यसैले उनीहरू दु:खपूर्ण तरिकाले माटोभित्र पुरिएकाहरूको खोजी गरिरहेका थिए।
धरहराको अत्याशलाग्दो दृश्य कैद गरिसकेपछि टुँडिखेलतर्फ लागें। अघिल्लो दिनसम्म योग गुरु रामदेवले योग सिकाइरहेको त्यो ठाउँमा आसपासका कैयौं मानिस थुप्रिएका थिए। योग गर्न बिच्छ्याइएको म्याट्रेस र जेनेरेटरले गर्दा उनीहरूले त्यहाँ अलि बढी सहज महसुस गरेका थिए। यद्यपि, उनीहरू कुनै भयानक युद्धबाट लखेटिएका झै निरिह, त्रसित र अन्यौलग्रस्त देखिन्थे।
झम्सिखेललगायतका स्थानका बाटाहरूमा साइनबोर्ड नै राखेर मानिसहरू सुतिरहेका देखिन्थे। खुला ठाउँहरू पालले भरिएका थिए। फोटोपत्रकारिताको १० वर्षे करियरमा यस्तो अत्याशलाग्दो दृश्यहरू देख्नु, भोग्नुपर्छ भन्ने सोचिएको थिएन।
बिहान २ बजे धापासी हाइटको पालमा घुस्रिएँ। तीन घण्टाजति सुतियो। त्यसपछि बाहिर निस्किएँ। कहाँ जाने? कुनै टुंगो थिएन। महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगेपछि त्यहाँभित्रको वातावरण हेर्न मन लाग्यो। त्यहाँ एम्बुलेन्स, मिनिट्रक, सेनाको गाडीमा धमाधम भूकम्पमा घइते भएका, मरेका व्यक्तिहरूको लास ल्याइँदै थियो। त्यहाँभित्रको दृश्य एकदमै तनावग्रस्त थियो। बाहिरै पाल टाँगेर उपचार गरिँदै थियो। घाइतेहरू छटपटाइरहेका थिए। बाहिरबाट ल्याइएकामध्ये कतिलाई मृत घोषित गरिन्थ्यो र नजिकैको सटरमा राखिन्थ्यो। मूल गेटनजिकैको दुइटा सटरमा तिनै मृतकहरूको लस्कर थियो। मृतक पहिचान गर्न आफन्तहरू लास पल्टाइरहेका थिए। त्यस्तो तस्बिर कैद गरिरहँदा मन निकै विरत्तिएको थियो।
शिक्षण अस्पतालवाट लासहरू पशुपतिनाथस्थित आर्याघाटतिर लगिँदै थियो। मलाई त्यहाँको वातावरण कस्तो होला भन्ने कौतूहलता लाग्यो। आर्यघाट पुगेपछि यस्तो लग्थ्यो, मानौं कोही मानिस सद्दे छैनन्। त्यहाँ लासैलास देख्दा, तिनको आफन्तहरूको चिच्याहट देख्दा मन त्यसै अतालिन्थ्यो।
लासहरू पोल्ने ठाउँ नपुगेर बाग्मती नदीको किनाराका खाली ठाउँहरूमा चितै–चिता बनाइएको थियो। प्लास्टिकमा पोको पारिएका लास त्यत्तिकै चितामा राखिएका थिए। न त्यहाँ विधि–विधानको कुरा थियो, न संस्कारको। दुई–दुइटा लास राखेर पोलिँदै थियो। एउटा चितामा आमा र छोरीको लास राखिएको थियो। त्यो दृश्य यति दर्दनाक थियो कि जो– कोहीको मन भक्कानिन्थ्यो।
अर्को दिन भक्तपुरतर्फ लागँे। सल्लाघारीमा स्थानीय बासिन्दाहरू त्यहाँको खुला चौरमा पाल टाँगेर बसिरहेका थिए। कोही ठूलो ट्रकमा आश्रय लिइरहेका देखिन्थें। भक्तपुरको भित्री क्षेत्रमा भूकम्पले ठूलो विध्वंस मच्याएको रहेछ। पुराना घरहरू भत्किएका थिए। यसरी भत्किएका घरभित्र पुरिएर कति मरिसकेका थिए। सुरक्षाकर्मीहरू निकै जोखिम मोलेर भग्नावशेष खोतल्दै लास निकालिरहेका थिए। कति मानिसहरू आफ्नो घरबाट भाडावर्तन, लुगाफाटो निकाल्ने प्रयास गरिरहेका देखिन्थे। त्यसपछि बालाजु, माछापोखरीमा पुग्दा पनि यस्तै दृश्य देख्नुपरेको थियो। त्यहाँका घरहरू पूरै भत्किएका थिए। एउटा भग्नावशेषबाट दुईजना बूढाबूढीको लास निकालिदै थियो।
केही दिनपछि टाइम पत्रिकाबाट खटिएर चर्चित फोटोग्राफर जेम्स नाट्वे आए। सहयोगीका रूपमा म उनीसँग भूकम्प प्रभावित क्षेत्रहरूमा पुगें। भूकम्प गएको अर्को साता हामी पोखरा हुँदै बारपाक पुग्यौं, सेनाको हेलिकप्टरबाट। आकाशबाट बारपाक, लाप्राक र आसपासका बस्तीहरू हेर्दा कुनै काल्पनिक चलचित्रको अपत्यारिलो दृश्यझै लाग्थ्यो। हरेक बस्ती सोत्तर भएको थियो, कुनै सद्दे थिएनन्।
बारपाक जानुअघि पोखरामै टेन्ट, स्लिपिङ ब्याग र ड्राइफुडको जोहो गरिएको थियो। बारपाक पुगेपछि एउटा विद्यालयको अलि खुला भागमा हामीले आश्रय लियौं। त्यहाँ जानुअघि धेरै हल्ला सुनिएको थियो– ‘बारपाकमा थुप्रै उद्वारकर्मी पुगेका छन्, एनजीओ, आईएनजीओले राहत पुर्याएका छन्। त्यसैले तुलनात्मक रूपमा त्यहाँ उति संकट छैन।’ तर, त्यहाँ पुगेपछि त्यो हल्ला झूटो सावित भयो। बारपाकमा नेपाली र भारतीय सेनाबाहेक कोही पुगेकै रहेनछन्। स्थानीय बासिन्दाहरूले पुग्दो राहत पाएका थिएनन्।
पुरानो शैलीमा बनाइएका बारपाकका घरहरू पूर्ण रूपमा भत्किएका थिए। यतिसम्म कि भत्किएको घर पन्छाएर बस्ने खाली ठाउँसमेत थिएन। स्थानीय बासिन्दाहरू पुरिएको घर खोतल्दै आफ्ना सामान खोजिरहेका थिए। त्यहाँको दृश्य एकदमै टीठलाग्दो थियो।
बारपाकबाट फर्किएपछि जेम्स एउटा स्वास्थ्यकर्मीहरूको समूहसँग गोरखाकै अर्को गाउँतिर लाग्यो। म सिन्धुपाल्चोकको चौतारातर्फ लागें। त्यहाँ पनि कुनै घर बाँकी थिएनन्। स्थानीय बासिन्दाहरू पालमुनि रात कटाइरहेका थिए।