‘उत्तर पुस्तिका हराएको, पुन: परीक्षा सञ्चालन हुने र नतिजा स्थगित हुने भन्ने खालको हल्लामा विश्वास नगर्नुहोला,’ साप्ताहिकसँगको कुराकानीमा परीक्षा नियन्त्रक द्वारेले भने– ‘त्यसमा कुनै सत्यता छैन।’ एसएलसी परीक्षाको नतिजा निर्धारित समयमै हुने उनको दाबी छ। ‘परीक्षा सञ्चालन भएको तीन महिनाभित्र नतिजा प्रकाशित गर्ने चलन छ,’ परीक्षा नियन्त्रक द्वारेले भने– ‘त्यो समयसीमा भन्दा धेरै टाढा जाँदैन।’ एसएलसी परीक्षा गत चैत ५ देखि १२ गतेसम्म सञ्चालन भएको थियो।
द्वारेका अनुसार आउँदो असार महिनाको दोस्रो सातासम्म एसएलसीको नतिजा प्रकाशन हुनेछ। गएको वर्ष जेठ ३० गते नतिजा प्रकाशन भएको थियो। भूकम्पले परीक्षा नियन्त्रण कार्यालयको भवनमा केही क्षति पुर्याएका कारण प्राविधिक काम केही प्रभावित
भएकाले नतिजा प्रकाशनमा केही ढिला हुने भएको हो।
देशभर सञ्चालन गरिएको एसएलसीको उत्तरपुस्तिका विभिन्न जिल्लाका ६४ वटा परीक्षण केन्द्रमा परीक्षण भैरहेको थियो। त्यसमध्ये ४३ वटा केन्द्रका उत्तरपुस्तिका परीक्षण भएर केन्द्र (परीक्षा नियन्त्रण कार्यलय) मा आइसकेको छ। भूकम्पले सबैभन्दा बढी प्रभावित जिल्लाहरू गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, दोलखाको समेत उत्तरपुस्तिका परीक्षण भएर केन्द्रमा आइसकेकाले नतिजा प्रकाशनमा कुनै कठिनाइ नभएको द्वारेले बताए। ‘भूकम्पले जहाँ बढी प्रभावित पारेको छ, त्यस क्षेत्रका उत्तरपुस्तिका लगभग यहाँ आइसकेको छ,’ द्वारेले भने– ‘हराएको वा पुरिएको भन्ने हल्ला निराधार हो।’ सिन्धुपाल्चोकलगायत बाँकी जिल्लाबाट भने उत्तरपुस्तिका आउने क्रम जारी छ।
जिल्लाको परीक्षण केन्द्रबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाहरू परीक्षा नियन्त्रण कार्यालयमा दर्ता गरिन्छ। द्वारेको भाषामा ‘अब केही गोप्य काम हुन बाँकी छ।’
गत वर्ष कार्यालयले जेठ ३० गते परीक्षाफल प्रकाशन गरेकाले यस वर्ष यही जेठ २५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने योजना रहे पनि भूकम्पका कारण परीक्षाफल प्रकाशन असारमै पुग्ने कार्यालयले जनाएको छ।
टी एसएलसीलाई ग्रेडिङ सिस्टममा
यसै वर्षदेखि एसएलसीमा अक्षरांक प्रणाली (ग्रेडिङ सिस्टम) प्रारम्भ गरिएको छ। प्राविधिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको हकमा यो प्रणाली लागू गरिनेछ। यसपालि ३ हजार २ सय ८८ जना विद्यार्थीले प्राविधिक एसएलसी (टी एसएलसी) दिएका छन्।
यस अन्तर्गत क्रमस ए प्लस, ए, बी, सी, डी र ई ग्रेड दिइनेछ। ९० देखि १०० प्रतिशतसम्म अंक प्राप्त गर्नेलाई ‘ए प्लस’ अर्थात् विशिष्ठ, ८० देखि ८९ प्रतिशतलाई ‘ए’ अर्थात् उत्कृष्ट, ६० देखि ७९ प्रतिशतलाई बी (धेरै राम्रो) उल्लेख गरिनेछ। यसैगरी ४० देखि ५९ प्रतिशतलाई सी अर्थात राम्रो, २५ देखि ३९ लाई ‘डी’ अर्थात् कमजोर र २५ भन्दा कम अंक ल्याउनेलाई ‘ई’ अर्थात धेरै कमजोर उल्लेख गरिनेछ।
अब प्राविधिक एसएलसी मात्र होइन, समग्र एसएलसीको नतिजालाई नै क्रमश: अक्षरांक प्रणालीमा लाने तयारी भैरहेको बताइन्छ। ‘सबैजसो सार्क मुलुकले यो प्रणाली अपनाइसकेका छन्,’ परीक्षा नियन्त्रक द्वारे भन्छन्– ‘त्यसैले हामीले पनि यसमा जानुको विकल्प छैन। यसका निम्ति केहि तयारी र समय भने लाग्नेछ।’
भूकम्प प्रभावितले विद्यालय स्थानान्तरण गर्न सकिने
भूकम्पका कारण आउँदो वर्ष एसएलसी दिने तयारीमा जुटेका विद्यार्थीले विद्यालय स्थान्तरण गर्न सक्नेछन्। भूकम्प प्रभावित विद्यार्थीको हकमा यो सुविधा लागू हुने बताइएको छ।
एसएलसी दिने विद्यार्थीको नाम र विद्यालय ९ कक्षामा नै रजिस्ट्रेशन गरिएको हुन्छ। यसै आधारमा उनीहरूको एसएलसी केन्द्र निर्धारण गरिन्छ। त्यसैले शिक्षा नियमावलीको केही प्रावधानबाहेकको अवस्थामा विद्यालय स्थान्तरण गर्न पाइँदैन। नियमावलीले विवाह भएको, बसाइँ सरेको र नोकरीको सिलसिलामा अभिभावक सरुवा भएको अवस्थामा मात्र विद्यार्थीलाई विद्यालय स्थान्तरण गर्न सक्ने सुविधा दिएको छ। भूकम्पका कारण उत्पन्न भएको असहज परिस्थितिले गर्दा भूकम्प प्रभावित विद्यार्थीलाई विद्यालय स्थानान्तरण गर्ने सुविधा दिइएको हो। यसका लागि सम्बन्धित क्षेत्रका जिल्ला शिक्षा कार्यालयको सिफारिस आवश्यक हुनेछ।
‘कति विद्यालय भत्केका छन्, कति विद्यार्थीले आफन्त र घरबार गुमाएका छन्,’ परीक्षा नियन्त्रक द्वारे भन्छन्– ‘उनीहरूका लागि अर्को ठाउँ सर्नुपर्ने भौतिक वा मानसिक कारण हुन सक्छन्। यस्ता विद्यार्थीले विद्यालय स्थान्तरण गर्न सक्नेछन्।’
सर्न सक्छ प्ल टु परीक्षा
जेठ २० गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को र असार १ गतेदेखि सञ्चलन हुने भइनिएको कक्षा ११ को परीक्षाका विषयमा उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अत्यन्त जरुरी सूचना जारी गरेको छ। सूचनाअनुसार पूर्व निर्धारित परीक्षा केन्द्रहरूमा पुगेको भुकम्पीय क्षतिको विषयमा जिल्ला शिक्षा कार्यालयको प्राविधिक प्रतिनिधि तथा उच्च माध्यामिक शिक्षा परिषद्को प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरिरहेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका हकमा कायम गरिएका परीक्षा केन्द्रहरूका सन्दर्भमा जिल्ला परीक्षा समन्वय समितिबाट सिफारिस भै आएअनुसार निर्धारण गरिने बताइएको छ। भूकम्पबाट बढी नै प्रभावित सिन्धुपाल्चोक, दोलखा, गोरखा, नुवाकोट, धादिङ, काभ्रे र रामेछाप जिल्लाको हकमा भने परीक्षा सारिएको छ। त्यसबाहेकका जिल्लाहरूमा तोकिएकै समयमा परीक्षा हुने बताइएको छ।
यस अघि उक्त परीक्षा निर्धारित समयमा गर्ने/नगर्ने सम्बन्धमा विद्यार्थी र उच्च माध्यमिक शिक्षा परिषद्बीच जुहारी चलेको थियो। त्यसबेला परिषद्ले तोकिएकै समयमा परीक्षा सञ्चालन हुने जिकिर गरेको थियो भने विद्यार्थीहरू ‘परीक्षा सार्नैपर्ने’ अडानमा थिए। त्यसबेला विद्यार्थीहरूले ‘भूकम्पका कारण आफूहरू मानसिक तथा सामाजिक रूपमा परीक्षा दिन असमर्थ’ भएको बताउँदै परीक्षाको मिति सार्न माग गरेका थिए।