साप्ताहिक संवाददाता
म्युजिक थेरापीको लोकप्रियता
भूकम्प प्रभावित बालबालिकालाई डर, त्रास र पीडाबाट मुक्त गराउन सुरशाला म्युजिक एकेडेमीले सञ्चालन गरेको म्युजिक थेरापीले सकारात्मक परिणाम दिइरहेको छ। गत शनिबार झम्सीखेलमा एकेडेमीले संगीत, राष्ट्र भावका गीत, नृत्य तथा रमाइला कुरा गरेर बालबालिकाको मस्तिष्कमा सकारात्मक प्रभाव ल्याउने जमर्को गरेको छ। ललितपुरबाट प्रारम्भ भएको म्युजिक थेरापी काठमाडौं तथा भक्तपुरका विभिन्न भूकम्पपीडित बालबालिकामाझ पुगेर टुंगिने एकेडेमीका सञ्चालक तथा गायक अमृत क्षेत्रीले बताएका छन्। गायक रामकृष्ण ढकाल, हेमन्त शर्मा, प्रमोद खरेल, आनन्द कार्की, अमृत छेत्री, कोमल वली, हिमाल सागर, कमल खत्री, डोल्मा शेर्पा, विनय केटु, ऋतु कँडेल आदिले संगीत थेरापीमा साथ दिँदै आएका छन्।
दिल्लीमा दीप श्रेष्ठ
भूकम्पपीडितहरूका लागि सहयोग संकलन गर्ने क्रममा गायक दीप श्रेष्ठ पहिलो पटक भारतको राजधानी नयाँ दिल्लीमा बसोबास गर्ने नेपालीमाझ प्रस्तुत भएका छन्। आधा दर्जन वाद्यवादकसहित गायक श्रेष्ठलाई हिमालयन इन्टरनेसनल कल्चरल एसोसिएसन (हिका) तथा ओडीसी कल्चरल सेन्टर (दिल्ली) ले भूकम्पपीडित नेपालीको सहयोगार्थ दिल्ली निम्त्याएको हो। आफ्नै खर्चमा दिल्ली पुगेका दीप तथा वाद्यवादकको समुहले एक घण्टा लामो प्रस्तुतिका क्रममा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए।
विकासको अघि बढौं...
पप गायक विकास श्रेष्ठले भूकम्पको पीडा बिर्सने उद्देश्यले तयार पारेको ‘अघि बढौं...’ शीर्षकको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेका छन्। सुरेन्द्र श्रेष्ठ तथा दीपा महर्जनको समेत स्वर रहेको यो गीतका गीतकार तथा संगीतकार पनि गायक विकास श्रेष्ठ नै हुन्।
शिवाकोटीको याद तिम्रो
गायक लिला शिवाकोटीको पहिलो एल्बम ‘याद तिम्रो’ बजारमा आएको छ। एल्बममा समावेश ‘गाजले...’ गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ। राजनराज शिवाकोटीद्वारा संगीतबद्ध उक्त गीतको भिडियोको निर्देशन विशाल भण्डारीले गरेका हुन्, जसमा अनु शाह र पल शाहले अभिनय गरेका छन्।
नित्याशिवाको घोषणा
गायिका नित्याशिवाले आफ्नो नयाँ एल्बम ‘मेरो दिलमा...’ बाट उठेको सम्पूर्ण रकम भूकम्प पीडित बालबालिकालाई प्रदान गर्ने घोषणा गरेकी छिन्। यो एल्बमका गीतमा शंकर अधिकारी घायलको शब्द तथा देवेन्द्र नेवाको संगीत निर्देशन छ। एल्बमका दुई गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ। तीमध्ये ‘मेरो दिलमा तिमीले....’ गीतको म्युजिक भिडियो यसै साता प्रिमियर गरिएको छ। गीतकार घायलको निर्देशन रहेको यो पहिलो भिडियोमा सञ्चारकर्मी विकास लामिछाने, काजोल खनाल, कामना बम्जन तथा संजु मोक्तानले अभिनय गरेका छन्। यो भिडियोको युट्युबबाट संकलित रोयल्टी पनि बालबालिकाहरूलाई नै प्रदान गरिने बताइन्छ।
काभ्रेमा आनन्द र इन्दिरा
गायक आनन्द कार्की तथा गायिका इन्दिरा जोशीले काभ्रेको कुशादेवीका भूकम्प प्रभावितहरूलाई स्वास्थ्यसेवाका साथै गीत–संगीतबाट मनोरञ्जन दिएका छन्। कार्यक्रममा दुवै गायक–गायिकाले ‘वनमा फुल्यो फूल’, ‘रेशम फिरिरी’, ‘मोहनी लाग्ला है’ गाएका थिए। भूकम्पका कारण त्रसित मानसिकतामा रहेकालाई खुसी ल्याउन लोकप्रिय गायक–गायिकासहित स्वास्थ्यसेवा प्रदान गरिएको आयोजक युथ फेडेरेसन फर वल्र्ड पिसका नेपाल अध्यक्ष प्रकाशबाबु थापाले स्पष्ट पारेका छन्।
निरन्तर भिडियो
वैशाख १२ को महाभूकम्पपछि केही दिन राहतमा जुटेका म्युजिक भिडियो निर्देशक समन अधिकारीले यो अवधिमा चारवटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। मधुमल्ला, धरान, पोखरा तथा बाग्लुङ पुगेर समनले अभिनेता निर्मल सेन्चुरी, मोडल सुप्रिया कटुवाल, सिर्जना सुब्बा, बादल श्रेष्ठसहितलाई अभिनय गराउँदै म्युजिक भिडियो छायांकन गरेका हुन्। उनले श्याम लिम्बू, नारायण लामा, गौरव दर्पण तथा समिर बि.के.का गीतको भिडियो बनाएका हुन्। निर्देशक मुनाल शिशिरले पनि पोखरा नै पुगेर केही गीतका म्युजिक भिडियो तयार पारेका छन्।
दुबईमा नेपथ्य
नेपाली सांगीतिक समूह नेपथ्यले दुबईमा लाइभ कन्सर्ट आयोजना गरेर भूकम्प पीडितका लागि सहयोग राशि संकलन गरेको छ। अल नासेर लिजर ल्यान्डको आइस रिंकमा सम्पन्न कन्सर्टको प्रारम्भमा ब्यान्डका गायक अमृत गुरुङले ‘सरुमा रानीको आँसुको कस्सम्...’ गाएका थिए। त्यसपछि उनले क्रमश: ‘अभाव अभावै भयो’, ‘यो जिन्दगानी’, ‘जीवन हो घाम छायाँ’ आदि गीत गाए। कन्सर्टमा ‘भेडाको ऊनजस्तो...’ गाउनुअघि अमृतले उक्त गीत संकलनका लागि लाङटाङ क्षेत्रमा बिताएका क्षणहरूको सम्झना गरेका थिए। यतिबेला भूकम्पपछि आएको पहिरोमा पुरिएर सिंगो लाङटाङ गाउँको अस्तित्व नै लोप भइसकेको छ।