साप्ताहिक संवाददाता
भोलिदेखि हाकाहाकी
वैशाख १२ को भूकम्पअघि २ भाग प्रसारण भएको हास्य टेलिशृंङ्खला ‘हाकाहाकी’ को नियमित प्रसारण भोलि शनिबारदेखि हुने भएको छ। दमन रुपाखेतीद्वारा निर्देशित यो शृंङ्खला नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राति ८:५० बजेदेखि प्रसारण हुनेछ। शृंङ्खलामा दमन रुपाखेती, राजु भुजु, कविता शर्मा, कमला अर्याल, राधा श्रेष्ठ, राजु कमेडी, उमेशकुमार के.सी., सुजित थापा, राम थापा आदि कलाकारले अभिनय गरिरहेका छन्। राम थापाद्वारा निर्मित यो
शृंङ्खलामा समसामयिक विषयवस्तुमाथि व्यङ्ग्य गरिन्छ।
कान्तिपुरमा जस्ट टेक्स्ट
कान्तिपुर टेलिभिजन तथा कान्तिपुर गोल्ड च्यानलबाट प्रसारण भैरहेको नयाँ कार्यक्रम ‘जस्ट टेक्स्ट’ कार्यक्रमले कम समयमै दर्शकको मन जितेको छ। निर्माता अर्जुन अधिकारीका अनुसार कान्तिपुर गोल्डबाट प्रत्येक दिन राति ९ बजेदेखि १० बजेसम्म प्रसारण हुने यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा भने दिउँसो १ देखि २ बजेसम्म प्रसारण हुन्छ। कार्यक्रममा दर्शकहरूले ३६६३ मा एसएमएस पठाएर आफ्नो रोजाइका म्युजिक भिडियो प्रसारण गर्न अनुरोध गर्छन्। विराज सिंह खड्का, अकेशा विष्ट तथा रिजु श्रेष्ठले पालै–पालो यो कार्यक्रम सञ्चालन गर्छन्।
धतुरेको स्वास्थ्य श्रृंखला
‘धतुरे’ को उपनामले चिनिएका हास्य अभिनेता सीपी पुडासैनीले पहिलो पटक स्वास्थ्यसम्बन्धी टेलिश्रृंखला निर्देशन गरिरहेका छन्। ‘नयाँ बाटो’ शीर्षकको उक्त श्रृंखलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र एनबी नेपालको संयुक्त पहलमा निर्माण गरिएको हो। श्रृंखलामा १० देखि १९ वर्षसम्मका बालबालिका तथा किशोर–किशोरीमा देखा पर्ने शारीरिक तथा मानसिक परिवर्तनसम्बन्धी विषय समावेश छ। नेपाल टेलिभिजनबाट प्रसारण हुने यो श्रृंखलाका लेखक शशिविक्रम थापा हुन्। जेठको अन्तिम सातादेखि प्रत्येक बुधबार राति प्रसारण हुने यो श्रृंखलामा शिरोमणि दवाडी, एनबी नेपाल, सीपी पुडासैनी, प्रतिमा चिमोरिया, केदार न्यौपाने, रञ्जु कार्की, क्रान्ति पराजुली, बाल कलाकार मुस्कान वाग्ले, मनीषा सापकोटा, सविना गैरे, सागर जीटी, निर्जल पौडेल, अजिश कार्की आदिले अभिनय गर्दै छन्।