साप्ताहिक संवाददाता
नाफासहित सिद्धार्थ आर्ट ग्यालरी, विकल्प आर्ट ग्यालरी, पार्क ग्यालरी, काठमाडौं विश्वविद्यालयको कला विभाग, त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पस आदिलाई भूकम्पले क्षति पुर्याएको छ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिल भने सुरक्षित रहेको बताइन्छ। झम्सीखेलमा रहेको आर्टिस्ट प्रुफ ग्यालरीमा कलाकार आशा डंगोलको चित्रकला प्रदर्शनी भैरहको थियो। बबरमहल रिभिजिटेडमा रहेको सिद्धार्थ आर्ट ग्यालरी पनि क्षतिमा परेको ग्यालरीकी प्रमुख संगीता थापाले बताएकी छिन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत भोटाहिटीमा रहेको ललितकला क्याम्पस ध्वस्त छ। कीर्तिपुरमा रहेको ललितकलाको स्नातकोत्तर फाँट रहेको भवनमा पनि क्षति पुगेकोले अनिश्चित कालका लागि पढाइ बन्द छ।
भूकम्प जाँदा राजधानीका अधिकांश ग्यालरीहरूमा कला प्रदर्शनी भैरहेको थियो। सिद्धार्थ आर्ट ग्यालरीमा कलाकारद्वय सौरगंगा दर्शनधारी र सुरेन्द्र महर्जनका इचिङ कला प्रदर्शन भैरहेको थियो भने नेपाल आर्ट काउन्सिलमा पाका कलाकार वीरेन्द्रप्रताप सिंहका चित्रकलाहरूको प्रदर्शनी चलिरहेको थियो। आर्टिस्ट प्रुफ ग्यालरीमा प्रिन्ट मेकिङ कलाको सामूहिक प्रदर्शनी पनि चलिरहेको थियो।
कलाको सहयोग भूकम्प लगत्तै कलाकारहरू पृथ्वी श्रेष्ठ, शिशिर दर्शनधारी, अनिल प्रजापति, अनिल महर्जन, विवेक मुकारुङ, सौरगंगा दर्शनधारीलगायतका कलाकारहरूको समूह बिन्दु ‘अ स्पेस फोर आर्टिस्ट’ संस्थाको संयोजनमा राहत वितरणका लागि खटिए। उनीहरूले गोरखाको विकट गाउँ घ्याल्चोकमा पुगेर भूकम्पका कारण मानसिक तनावमा रहेका त्यहाँका बालबालिकाहरूलाई ‘आर्ट थेरापी’ गराएर खुसी बनाए। त्यसपछि पनि कलाकारहरूको त्यो समूह पनि आर्ट थेरापीका लागि विभिन्न स्थानमा निरन्तर खटिरहेको छ। विकल्प आर्ट सेन्टरले पनि पुल्चोकस्थित ग्यालरीमा ६ देखि १५ वर्षका बालबालिकाहरूका लागि आर्ट थेरापी गराउँदैछ। कलाकार सरोज महतोको पहलमा कलाकारहरूको समूहले बालबालिकाहरूका लागि आर्ट थेरापी गराइ रहेको छ।
ललितकलाकर्मीहरूको हातेमालो अभियानको पहलमा मृतक कलाकार तथा घाइतेलाई जस्तापाता, टेन्ट एवं केही रकम उपलब्ध गराइएको छ। संस्कृतिविद् सत्यमोहन जोशीबाट गत शनिबार भूकम्पमा परी निधन भएका तीन कलाकारको परिवारलाई जस्तापाता र जनही १०–१० हजार रुपैयाँ तथा घाइते कलाकारहरूलाई ५–५ हजार रुपैयाँ र खाद्य सामग्री उपलब्ध गराइएको थियो। अभियानका संयोजक कलाकार शान्तकुमार राईका अनुसार भूकम्पले ६५ जना कलाकार भौतिक क्षतिको मारमा परेका छन्। यसैगरी भूकम्पपीडित कलाकारहरूको सहयोगार्थ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले ५ लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ। प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायका अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रतिष्ठानका कर्मचारीहरूका तर्फबाट ३ लाख १ हजार रुपैयाँ जम्मा भएको छ। प्रतिष्ठानका सदस्य सचिव नवराज भट्टले कोषमा थप रकम जम्मा गर्न विविध चित्रकला प्रदर्शनीमा भएका कला बिक्रीबाट उठेका रकममध्येको ५० प्रतिशत कोषमा जम्मा गर्ने व्यवस्था गरिएको बताएका छन्।
भूकम्पपीडितलाई सहयोग पुर्याउन अनलाइन प्रदर्शनी पनि भैरहेको छ। नेपाली आर्टिस्ट एडअन्तर्गत ई–आर्टिस्ट नेपालले गरिरहेको प्रदर्शनीमा विभिन्न कलाकारहरूका चित्रहरू राखिएका छन्। अनलाइन बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम ध्वस्त संरचनाहरूको पुनर्निर्माणमा सघाउन खर्च गरिने संयोजक आशा डंगोलले बताएका छन्।
भूकम्पका कारण ध्वस्त ऐतिहासिक धरोहरहरूको पुनर्निर्माणमा कलाकारहरूको साथ लिनुपर्ने राय अधिकांश कलाकारहरूको छ। कलाकार सुदर्शन राणा भन्छन्– ‘कलाकारहरूले धरोहरको पुरातात्विक महत्व मात्र नभै त्यहाँ भएका डिजाइन र कलात्मकताको विस्तृत अध्ययन गरेका हुन्छन्। त्यसैले उनीहरूलाई साथमा लिएर भत्केका धरोहरहरूको पुनर्निर्माण गर्दा पुरानो कलात्मकता ब्यँुतिन्छ र त्यसो गर्नु बुद्धिमानी हुनेछ।’