साप्ताहिक संवाददाता
भूकम्प जानुभन्दा एक दिनअघि वैशाख ११ गते साँझ लाजिम्पाटस्थित थिएटर भिलेजमा दिलीप रानाभाटको निर्देशनमा नाटक ‘सिंहदरबारको टेन्डर’को पहिलो शो गरिएको थियो। उक्त नाटकलाई १२ गतेबाट नियमित मञ्चन गर्ने तयारी भैरहेको थियो। अहिले निर्देशक रानाभाट भूकम्पका कारण रोकिएको उक्त नाटकलाई पुन: मञ्चन गर्ने तयारी छन्। बाँसको अधिक प्रयोग गरी बनाइएको तराईको गाउँले घरको झझल्को दिने थिएटर भिलेज सुरक्षित छ।
यतिबेला भूकम्पका कारण रोकिएका नाटयकर्ममा फेरि लाग्न रंगकर्मीहरू तम्तयार छन्। भारतीय नाटककार अजय शुक्लाको नाटक ‘ताजमहलका टेन्डर’मा आधारित भै मञ्चनका लागि तयार नाटक ‘सिंहदरबारको टेन्डर’ सुरु गर्दा सग्लो रहेको सिंहदरबार भने अहिले क्षतिग्रस्त अवस्थामा छ। नाटकका कलाकार भोलाराज सापकोटा भन्छन्– ‘भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीप्रतिको व्यंग्यले नाटक मनोरञ्जक भएको छ। सिंहदरबारको संरचनामा भूकम्पले क्षति पुर्याए पनि नाटकमा सिंहदरबारलाई सरकारको प्रतिविम्ब बनाइएकाले नाटकको सिंहदरबार उस्तै रहनेछ।’
काठमाडौं मलको सातौं तलामा रहेको थिएटर मलमा पनि नयाँ नाटक मञ्चन हुने तयारी भैरहेको थियो। वैशाख १४ गतेबाट उक्त थिएटरमा डा. अभि सुवेदीको लेखन र घनश्याम श्रेष्ठको निर्देशन रहने नाटक ‘विम्बका सपना’लाई वैशाख २९ गतेसम्म मञ्चन गर्ने योजना थियो र सम्पूर्ण तयारी पनि भैसकेको अवस्था थियो। अहिले उक्त थिएटरका कला निर्देशक केदार श्रेष्ठ र उनको समूहले विभिन्न स्कुल र बालबालिकाहरूका बीचमा गएर रमाइला नाटकहरू मञ्चन गरिरहेको छ। भूकम्पका कारण थिएटर मलमा खासै क्षति नपुगेकाले ‘विम्बका सपना’लाई केही समयपछि मञ्चन गरिने योजना छ।
कालिकास्थानस्थित सर्वनाम थिएटरमा वैशाख ४ गतेबाट नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भैरहेको थियो। अशेष मल्लको लेखन तथा निर्देशन रहेको नाटक २३ गतेसम्म मञ्चन गरिने भएको थियो, तर भूकम्पका कारण नाटकको मञ्चन हाललाई स्थगित गरिएको छ। थिएटर भौतिक हिसाबले सुरक्षित रहे पनि नाटक मञ्चन गरिहाल्ने मनस्थिति हाललाई नभएको सर्वनामका कलाकार एवं नाटक निर्देशक राज शाहले बताएका छन्।
शिल्पी नाट्य समूहले वैशाख ११ गते स्थापनाको दसौं वार्षिकोत्सव मनाएको थियो। नाटक मञ्चन नभए पनि नियमित साहित्य श्रृंखलाअन्तर्गत वैशाख १२ गते दिउँसो ३ बजे मुक्त अनुभूति शीर्षकमा कविद्वय भूपिन र रामगोपाल आशुतोषको कविता मञ्चनको कार्यक्रम थियो। ११ बजेर ५६ मिनेटमा गएको विनाशकारी भूकम्पका कारण उक्त कार्यक्रम हुन सकेन। भूकम्प प्रतिरोधक भएकै कारण शिल्पीको थिएटर सुरक्षित छ। शिल्पीले शनिबार नियमित साहित्य श्रृंखलाको कार्यक्रम गरेर त्योसँगै भूकम्पपीडितहरूको सहयोगार्थ ‘फिल द बकेट’ कार्यक्रम पनि आयोजना गर्यो, जसबाट झन्डै ३ लाख रुपैयाँ संकलन गरियो। नाटककार कुमार नगरकोटी, निर्देशक घिमिरे युवराज र वृत्तचित्र निर्माता मोहन राई त्यसपछि काभ्रेको बालुवापाटी गाउँमा पुगेर पीडित गाउँलाई राहत वितरण गरे।
शिल्पीका निर्देशक घिमिरे युवराज अब केही समयमा ‘गाउँमा रंगमञ्च’ अभियान चलाउने योजनामा छन्, जसअन्तर्गत गाउँका पीडितहरूको मनोरञ्जनका लागि भूकम्प प्रतिरोधक रंगमञ्च बनाइनेछ। युवराज भन्छन्– ‘त्यो रंगमञ्चमा नाटक मञ्चन त गरिन्छ नै, विपद्का बेला स्थानीयले सेल्टरका रूपमा प्रयोग पनि गर्न सक्छन्।’ मण्डलाका निर्देशक तथा कलाकार राजन खतिवडा भन्छन्– ‘हामी छिट्टै बौराउँछौ र हामीसँगै उठ्नेछ हाम्रो देश।’