साप्ताहिक संवाददाता
कोलकाताको इडेन गार्डेनमा भएको फाइनलमा मुम्बइले चेन्नई सुपर किङ्सलाई ४१ रनले हरायो। कसरी सम्भव भयो त यो यात्रा? रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईले लिग चरणका सुरुवाती छ खेलमध्ये पाँचमा हार बेहोरेको थियो। यस्तोमा मुम्बइ अधिकांश समय अंक तालिकाको पुछारमा मात्र रहेन, धेरैले माने, मुम्बइ अब प्ले अफ स्टेजसम्म पुग्नेछैन।
तर त्यसपछि मुम्बईले वास्तवमै गजब खेल्यो। सुरुवाती ६ खेलपछिका १० खेलमध्ये मुम्बईले सबै खेल जित्यो। त्यसपछि मुम्बई आईपीएलको छोटो इतिहासमा सर्वाधिक सफल टिममा परेको छ। मुम्बइले आईपीएल जितेको यो दोस्रो पल्ट हो। मुम्बइसँगै चेन्नई र कोलकाता नाइटराइडर्सले पनि दुई–दुईपल्ट आईपीएल जितेका छन्। मुम्बईले यसपल्ट पहिलो क्वालिफायरमा पनि चेन्नईलाई नै हराएको थियो।
मुम्बईको यो असाधारण जित यात्राका कारण के–के रहे त? पहिलो कारण थियो, दुई विदेशी खेलाडी चम्कनु। मुम्बईको जित यात्रामा लेन्डल सिमोन्स र मिचेल म्याकक्लेघनले ठूलो भूमिका खेले। सिमोन्स यसपल्ट सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान बने। म्याकक्लेघनले भने अर्का विदेशी बलर लसिथ मलिङ्गलाई बलियो साथ दिए, आक्रमणमा।
मुम्बईको प्रमुख खेलाडीमा रहे, भेट्रान कहलिएका हरभजन सिंह। उनले १८ विकेट लिए र ती सबै विकेट प्रत्येक खेलका महत्त्वपूर्ण स्थितिमा लिएका थिए। मुम्बईका अर्का विदेशी खेलाडी किरोन पोलार्डले पनि चाहिएको बेला टिमलाई खराब स्थितिबाट बाहिर ल्याए। उनी ब्याटबाट मात्र चम्केनन्, बलबाट पनि सफल रहे।
यो सफलतामा कप्तान रोहितको भूमिका मात्र कसरी बिर्सन सकिन्छ र? उनले प्रत्येकपल्ट चाहिएको बेला कप्तानी इनिङ्स खेले। सुरुमा लगातार हारे पनि उनी निराश देखिएनन्। टिमले उनमै विश्वास कायम राख्यो र अन्तत: नतिजा पनि आयो। उपाधि उचालेपछि रोहितको पनि प्रतिक्रिया थियो, ‘यसपल्ट मुम्बईको जित यात्रा वास्तवमै अविश्वसनीय रह्यो।’