कफी र चुरोटको पैसा जोगाएर सहयोग गरौं
एउटा सानो बीउबाट वृक्ष बन्छ । त्यस्तै एक जना व्यक्तिको सानो सहयोगले सारा नेपालको मुहार फेरिनेमा कुनै शंका छैन । मुलुक यतिबेला ठूलो विपत्तिबाट गुज्रिरहेको छ । संसारभरबाट सहयोग त जुटिरहेकै छ, तर यसलाई अझ सशक्त र व्यवस्थित ढंगबाट अघि बढाउनुपर्छ र स्थायी रूपमा सहयोगका लागि योजना बनाइनुपर्छ । जे हुनु भैसक्यो । अब हामीले यस कठोर समयको सामना गर्दै अघि बढ्नुपर्छ । यतिबेला नेपालको पुनर्निर्माणका लागि विदेशमा बस्ने नेपालीहरूको सहयोग अझ महत्वपूर्ण हुन्छ । नेपाललाई एउटा विकसित देश कसरी बनाउने ? त्यो हामी सबैको चासो र चिन्ताको विषय पनि हो । हाम्रो सानो सहयोगले भोलिको सुन्दर नेपाल हुनेमा हामी आशावादी छौं । हामी जहाँ रहे पनि नेपालका लागि वैशाखीजस्तै हौं । जनताको भलाइका लागि हामीसँग पर्याप्त जनशक्ति छ । साधनस्रोतको पनि कमी छैन ।
हामी विदेशमा बस्ने नेपालीहरूले हरेक दिन पिउने कफी, चुरोटमा खर्च गर्ने पैसा जोगाएर नेपाललाई सहयोग गर्न सक्छौं । यसरी पनि धेरै रकम संकलन गर्न सकिन्छ ।
दिनेश रताला, जापान
पर्यटन क्षेत्रमा लगानी गरौं
नयाँ नेपालको निर्माणका लागि विदेशमा बस्ने नेपालीहरूले विस्तृत र दीर्घकालीन योजना बनाउनु आवश्यक छ । नेपालबाहिर छरिएर रहेका नेपालीहरूको मजबुत संगठन हुने हो भने स्वदेशका लागि धेरै नै गर्न सकिन्छ । सबैभन्दा पहिला त नेपाल बाहिर बस्ने नेपालीहरूको नेटवर्क नै चाहिन्छ, जसमा संगठित नेपालीहरूले एक–अर्कालाई सञ्चारको आदानप्रदान गर्न सकून् । आवश्यकताअनुसार सबैतिर सहयोग गर्न सकियोस् । त्यसैगरी विज्ञ, सीप, क्षमतावान् र स्पष्ट योजना भएका नेपालीहरू संगठित हुनु आवश्यक छ, जसले गर्दा उनीहरूले आमनेपालीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्न सकून् । प्रभावित नेपालीलाई ज्ञान र सीप बाँड्न सकून् । उदाहरणका लागि व्यापारीहरूले छोटो समयका लागि अनुसन्धानकर्ता तथा प्राज्ञहरूलाई सल्लाहकारका रूपमा काम दिन सक्छन् । अनुसन्धानकर्ता तथा प्राज्ञहरूले प्रभावित क्षेत्रमा गएर अध्ययन गरेर विवरण ल्याउन सक्छन् । सरकारलाई तथ्यांक बुझाएर काममा सघाउन सक्छन् ।
जहाँ जस्तो जनशक्ति चाहिएको हो, त्यो हामी जुटाउन सक्छौं । नेपालबाहिर रहेका दक्ष जनशक्तिले केही समयका लागि स्वयंसेवा गर्न सक्छन् ।
बिना अर्याल, ग्रिस
बोली होइन, व्यवहारको खाँचो छ
नेपालको हरेक क्षेत्रमा यतिखेर सहयोगको खाँचो छ । एकै झट्कामा धेरैको घरबार माटोमा विलीन भएको छ । पीडितहरूलाई हामी विदेशमा रहनेहरूले खुसी छर्न सक्यौं भने त्यसले हाम्रो आफ्नै जीवन सार्थक हुनेछ । यसका लागि विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली एक हुन आवश्यक छ । हामी जो जहाँ, जस्तो अवस्थामा छौं, आफ्नो ठाउँबाट जे–जस्तो सहयोग जुटाउन सकिन्छ, गरौं । नेपालका लागि सहयोग हुने वातावरण सिर्जना गरौँ । आफू बस्ने सहर र समुदायमा सहयोगका लागि कार्य समिति बनाई तहगत रूपमा केन्द्रीय कार्यसमिति गठन गरौं । सहयोगी हातहरूबाट प्राप्त रकमलाई एक ठाउँमा जम्मा गरी कुन क्षेत्रलाई कस्तो सहयोग आवश्यक छ, त्यो बुझेर मद्दत गरौं । त्यसका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावास, अन्य नेपाली संघ–संस्था आदिबीच समन्वय र सहकार्य हुनु आवश्यक छ । थोरै सहयोगबाट कसरी धेरैभन्दा धेरै जनतालाई लाभान्वित गराउन सकिन्छ, त्यसतर्फ पनि सोच्नु आवश्यक छ । यसरी कुनै एउटा क्षेत्रलाई दिगो र स्थायित्व किसिमको पुनर्निर्माण र विकास गर्न सकियो भने मुलुकको मुहार फेरिनेमा विश्वास गर्न सकिन्छ ।
पासाङ नुरु शेर्पा, अमेरिका
जति सकिन्छ, निरन्तर सहयोग गरौं
म अमेरिकामा रहे पनि मन त सधैं नेपालमै हुन्छ । जसरी हुन्छ, नेपाललाई सहयोग गर्न तत्पर हुन्छु । मलाई मात्र होइन, यहाँ रहने मेरा साथीभाइ, आफन्त सबैलाई नेपालका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । नेपालबाहिर ठूलो संख्यामा संघसंस्थाहरू क्रियाशील छन् । हरेक महिना कुनै न कुनै कार्यक्रमहरू आयोजना भैरहेकै हुन्छन् । त्यस्ता भेटघाटका अवसरहरूमा हामी नेपाललाई कसरी सहयोग गर्ने भन्नेबारे छलफल गर्न सक्छौं । नियमित रूपमा आफ्नो खर्चको केही रकम जोगाएर मातृभूमिका लागि छुट्याउन सक्छौं । हरेक महिना हामीले थोरैथोरै मात्र रकम उठाउँदा धेरै हुन जान्छ । पहिले पहिले हामी ५–१० वर्षमा एकपटक नेपाल घुम्थ्यौं । अब कम्तीमा ६ महिना वा वर्षको एकपटक घुम्ने बानी बसाल्दा उत्तम हुन्छ । आफ्नै आँखाले कहाँ, कस्तो प्रकारको समस्या छ, कसलाई कस्तो प्रकारको सहयोग आवश्यक छ, त्यो प्रत्यक्ष रूपमा हेर्न सकिन्छ । त्यसैअनुरूप हामीलाई भावी दिनहरूमा तयारी गर्न सजिलो पनि हुन्छ । हामी विदेशमा बस्नेहरूले नेपालका भूकम्पपीडितहरूलाई एकचोटी मात्र होईन नियमित सहयोग गर्नुपर्छ ।
राजु दाहाल, दुबई
सबै नेपाली एकजुट हुनुपर्छ
सबैभन्दा पहिले त विदेशमा रहने हामी सबै नेपाली आफ्नो देशको पुनर्निर्माणका लागि एकजुट हुनुपर्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग त सबैले गरिरहेकै छौं । हामी सबै विदेशमा बस्नेहरूले यसलाई निरन्तरता दिनुपर्छ । विश्वका धेरै मुलुकहरूमा नेपालमा जस्तो प्राकृतिक विपत्ति आइपरेकै हो । हामीसँग त्यसको अनुभव पनि छ, तर विपत्तिबाट नआत्तिएर थुप्रै देशले प्रगति पनि गरेर देखाए । थुप्रै मुलुकमा हामी त्यसको उदाहरण पाउँछौ । त्यो अनुभव नेपालीहरूसँग बाँड्दा उपयुक्त हुन्छ । त्यसैगरी मासिक रूपमा हामी आफ्नो कमाइको केही अंश देशका लागि छुट्याउन सक्छौं । बिदामा नेपाल गएर सेवा गर्न सक्छौं । नेपालबाहिर रहनेहरूले कोष खडा गरेर नियमित रूपमा सहयोग गर्न सक्छौं ।
मिडियाले पनि यसबेला बाटो देखाउने काम गर्न सक्छ । कहाँ, कुन कुराको आवश्यकता छ, त्यो स्पष्ट रूपमा भनिदिने हो भने विदेशमा बस्नेहरूलाई ठूलो सहयोग हुन्छ । किनभने मुलुकभन्दा टाढा भएकाले एकैचोटी स्वदेश पुग्नु अलि गार्हो हुन्छ । त्यसैगरी गैरआवासीय नेपालीहरूले पनि आफ्ना प्रतिनिधिहरू नेपाल भ्रमणमा खटाएर सत्य, तथ्य बुझ्न सक्छन् ।