साप्ताहिक संवाददाता
जब टुँडिखेलमा मध्यान्हको चर्को घामलाई बिर्साउने गरी पञ्चैबाजाको धून गुञ्जियो । घर छाडेर पालमुनि बसिरहेकाहरूले एकैछिन भए पनि पीडा भुुुल्ने वहाना पाए । दौरा–सुुरुवालमा चिटिक्क सजिएर एउटा टोली पञ्चेबाजा बजाउन उपस्थित भयो, अरू धूनसँगै नाच्न । त्यसो त कार्यक्रमलाई थप मनोरञ्जक बनाउन गायिका कोमल वली र गायक जीवन शर्मा पनि देखा परे । वलीले ‘नेपाली धर्ती आकाश’ गीत सुनाइन् भने गायक शर्माले ‘मधेसी पहाडी हिमालका हिमाली’ गीत सुनाएका थिए । यद्यपि शर्माले त्यतिकै उम्किन पाएनन्, उनलाई अर्को चर्चित गीत ‘सिमली छायामा बसी’ गीत सुनाउन आग्रह गरे । हास्य कलाकार मनोज गजुरेलले पनि कार्यक्रममा मनोरञ्जक खुराक पस्किए ।
नेपाल नौमती पञ्चेबाजा प्रतिष्ठानले सांस्कृतिक जागरणका रूपमा यो कार्यक्रमलाई भूकम्प प्रभावित १४ जिल्लामा सञ्चालन गर्ने प्रतिष्ठानका अध्यक्ष विनोद पहाडीले बताए । ‘भूकम्पबाट प्रभावित बासिन्दालाई पञ्चेबाजाको धून सुनाएर पीडा भुलाउने काम गरिनेछ’ पहाडीले भने– ‘साथसाथै हामी पुनर्निर्माणमा जुटौं भन्ने सन्देश पनि प्रवाह गर्नेछौं ।’
नेपाली मौलिक वाद्ययन्त्र हो— पञ्चैबाजा । यसलाई पूर्वतिर नौमती बाजासमेत भनिन्छ । ‘अहिले यसको धून विरलै सुनिन्छ’ अध्यक्ष पहाडीले भने– ‘त्यसैले यो बाजा संरक्षण एवं संवद्र्धन गर्ने अभियान पनि हो यो ।’