मेरो बुवा गुरुङ, आमा ठकुरी। अन्तरजातीय जोडीको सन्तान हुँ म। मेरो बुवाको घर पोखरा हो भने आमाको भैरहवा। मेरी आमा हक्की तर दयालु स्वभावकी हुनुहुन्छ। समाजसेवामा पनि उहाँको नाम सम्मानका साथ लिइन्छ। माइतीमा आमाको ठूलो ख्याति थियो। त्यसैले बुवाले आफ्नो घर छाड्नुभयो र भैरहवामै घर बनाउनुभयो। भैरहवा सरेपछि म दुईतिरको भएँ— एक हिसाबले पोखरेली, अर्को हिसाबले भैरहवेली।
अहिले म भैरहवामा पनि छैन। बाल्यकाल भैरहवामा बिताए पनि एसएलसी उत्तीर्ण गरेपछि काठमाडौंमै बस्न थालें। न्युरोडमा मेरो मोबाइल पसल थियो। धेरै वर्षअघि बुवा पैसा कमाउन हङकङ जानुभएको थियो। पछि मलाई पनि उतै बोलाउनुभयो। त्यहाँ हाम्रो म्यानपावर कम्पनी र एउटा किरानाजस्तै सबै थोक पाइने पसल छ। हङकङको चुङकिङ मेन्सन नेपाली मात्र होइन, भारतीय, पाकिस्तान र अन्य एसियाली तथा अफ्रिकीहरूको बसोबास भएको क्षेत्र हो। यो हङकङको सबैभन्दा सस्तो ठाउँ भएकाले पनि संघर्ष गर्नेहरूको मुख्य केन्द्र हो। यहीँ हाम्रो व्यापार भएकाले पसल राम्रै चल्छ।
मेरी आमा फरवार्ड महिला भएकाले पनि हुन सक्छ, समाजमा पहिलेदेखि नै राम्रो छाप छाड्नुभएको थियो। उहाँ नेपालमा द रेयुकाईको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो। पारु गुरुङ भनेपछि भैरहवामा उहाँलाई नचिन्ने मान्छे कमै छन्। आमाको यही समाजसेवाको प्रभाव ममा परेको हुन सक्छ। पोखराका क्लबहरूमा मैले गर्ने सहयोगको कारण पनि त्यही नै हो।
भूकम्प जानुअघि मैले ठूलो खालको सामाजिक काम गरेको थिइन। भूकम्पले सबै तहसनहस बनाएपछि मेरो मन आत्तिन थाल्यो। यही बेला मेरा मित्र निर्मल श्रेष्ठलाई आमाले नेपालका लागि केही गर्न सुझाउनुभयो। निर्मल र म के गर्न सक्छौं भनेर सल्लाह गर्न थाल्यौं। हङकङमा झन्डै सयवटा जति नेपाली संघसंस्था छन्। ती सबैले कुनै न कुनै रूपमा भूकम्पलाई केन्द्रबिन्दुमा राखेर काम गर्न थालेका थिए। हामीसँग कुनै संस्था थिएन तर मन थियो। मेरो म्यानपावर कम्पनीले केही भारतीय परिवारलाई कामदार सप्लाई गरेको छ। उनीहरूसँग सहयोग लिन सुरु गरियो। त्यसपछि हङकङका उद्योगपति लिका सिंका सुरक्षा सल्लाहकार तुलसी गुरुङले हामीले केही गर्न चाहेको कुरा थाहा पाउनुभएछ। उहाँले एकमुस्ट १० लाख रुपैयाँ दिने निर्णय गर्नुभयो। उक्त कुरा थाहा पाएपछि हङकङमा चेन कफी सपका रूपमा ख्याति कमाएको अंकल रसका वाईबी राईले प्रत्येक कप कफीको आम्दानीमध्येबाट १० प्रतिशत रकम भूकम्पपीडितलाई दिने घोषणा गर्नुभयो। त्यो रकम पनि हामीले पाउने भयौं। त्यसैगरी हङकङ नेप्लिज टेनिस सोसाइटी, लुम्बिनी मञ्च, टिएसटी गाइजजस्ता संस्था पनि जोडिँदै गए। यसरी केही दिनमै ४० लाख रुपैंया जम्मा भयो।
पैसा त जम्मा भयो तर त्यो रकम हामी साह्रै प्रभावित ठाउँका गरिब परिवारमा पुर्याउन चाहन्थ्यौं। त्यसका लागि हामीले भरपर्दो संस्था फेला पार्न सकेनौं। केही संस्था आफ्ना जाति सम्बद्ध क्षेत्रमा सहयोग गर्ने अभियानमा सरिक भैरहेका थिए। कतिपय गुरुङ साथीहरूले गोरखाको बारपाक क्षेत्रका गुरुङ समुदायमा सहयोग गर्न सुझाए। साथी निर्मल श्रेष्ठलाई कतिपय श्रेष्ठ साथीहरूले दोलखा बजारमा रहेका नेवार परिवारलाई सहयोग गर्नुपर्ने सल्लाह दिए। मलाई यी दुवै कुरा ठीक लागेन। यो बेला हामी कुनै जातका होइनौं, केवल नेपाली हौं भन्ने लागेर दुर्गम क्षेत्रमा रहेका दलित परिवारलाई सहयोग गर्नुपर्छ भन्ने निर्णय गर्यौं। यही कुरा सिन्धुपाल्चोकका सभासद् मोहन बस्नेतलाई भनेपछि उहाँले करथलीको पोखरे भन्ने ठाउँमा रहेको दलित बस्तीलाई सिफारिस गर्नुभयो। त्यहीअनुसार हामी हङकङबाट काठमाडौं हुँदै सिन्धुपाल्चोक पुग्यौं। सिन्धुपाल्चोकसँग एउटा नेपाली हुनु बाहेक हाम्रो कुनै साइनो थिएन। त्यहाँ हामीले मृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत दियौं। स्थानीय ईश्वरीमाला प्राथमिक विद्यालयको भवन बनाउन २१ लाख ५ हजार रुपैयाँ प्रदान गर्यौं। त्यहाँका विद्यार्थीलाई छात्रवृत्तिका लागि ३ लाख रुपैयाँ दियौं। बालबालिकाका लागि ६ लाख रुपैयाँको खेलकुद तथा मनोरञ्जनका सामग्री उपलब्ध गरायौं। त्यसबाहेक त्यहाँ घर भत्किएर बिचल्ली परेका ४० परिवारलाई अस्थायी बसोवासका लागि घर पनि बनाइदिऔं। अब हामीले उनीहरूका लागि भूकम्प प्रतिरोधी स्थायी घर, गरिखाने क्षमता विकास गर्न कृषि र अन्य तालिमलगायतका आवश्यक सहयोग गर्ने दीर्घकालीन सोच बनाएका छौं। त्यसका लागि योजना पनि बनिरहेको छ।
हाम्रो उद्देश्य त्यति मात्र छैन, त्यो गाउँलाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने पनि छ। यसका लागि हङ्कङ, मकाउ र चीनबाट सहयोग जुटिरहेको छ। हाम्रो अभियान बुझेपछि उहाँहरूले थप सहयोग गर्ने चासो देखाउनुभएको छ। विदेशमा बस्ने नेपालीहरू नेपालमा कुनै पनि समस्या पर्दा साह्रै चित्त दुखाउँछन्। मेरो अनुभव के छ भने विदेशमा बस्न थालेपछि नेपालको माया अझ बढ्दो रहेछ। त्यसैले पनि हङकङेहरूले धरानमा घन्टाघर बनाए, खोटाङमा अस्पताल बनाइदिए। कुनै कलाकार वा समाजको व्यक्ति बिरामी छ भन्ने थाहा पाए भने सबैभन्दा पहिले हङकङबाटै सहयोग उठ्ने गरेको छ।
खासमा निर्मल र मेरो घर पनि यो भूकम्पले भत्कन सक्थ्यो, भाग्यले केही भएन। त्यो पनि बचत नै हो भन्ने मानेर हामीले यो अभियानमा पैसा लगायौं। काम छाडेर नेपाल आयौं। सबैभन्दा ठूलो कुरा हामीले सहयोग गर्दा जात, धर्म र पार्टी हेरेनौं। मलाई के लाग्छ भने, यो देश बनाउने सही अवसर हो। हामीले एउटा गाउँलाई पूर्ण रूपमा सक्षम बनाउने उद्देश्य राखेका छौं। हाम्रो काम देखेर अरूले पनि एक–एकवटा गाउँ बनाएर गाउँलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाए देश बन्न बेर लाग्दैन। यो विदेशमा बसेका नेपालीहरूका लागि पनि आफ्नो देशभक्ति सावित गर्ने एउटा राम्रो अवसर हो।