साप्ताहिक संवाददाता
यो रोगको पुरा नाम मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम हो। यसलाई छोटकारीमा मर्स भनिएको हो। मर्स एउटा भाइरस हो। यो रोग लागे पछि रोगीको फोक्सो र श्वास नलीमा समस्या उत्पन्न हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार उक्त भाइरसको संक्रमण भएका मानिसहरूमध्ये २७ प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ।
मर्सलाई सन् २००४ भन्दा अघि फैलिएको सार्स अर्थात सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम भाइरसको समूह पनि भनिन्छ। सन् २००४ मा नियन्त्रणमा आउनुभन्दा अघि यो रोगका कारण संसारभर ८ हजार मानिस प्रभावित भएका थिए भने ७ सय ७४ जनाको ज्यान गएको थियो।
पहिलो पटक साउदी अरेबियामा सन् २०१२ मा यो रोगका कारण एक ब्यक्तिको मृत्यु भएको थियो। यो रोग एसियामा सबैभन्दा पहिले मलेसियामा देखिएको थियो। हाल यो रोगबाट पीडित बिरामीलाई अलग–अलग स्थानमा राख्ने गरिएको छ।
लक्षण
खोकी लाग्नु, तीव्र रूपमा ज्वरो आउनु, वान्ता हुनु वा श्वास लिन समस्या हुनु यो रोगका लक्षण हुन्। यो रोग लागेका कतिपय बिरामीको मृगौलाले समेत काम गर्दैन। यद्यपि अनुसन्धानबाट पहिले नै बिरामी भएका व्यक्तिहरूमा त्यो विरामीकै कारण यो रोगले थप संक्रमण गरेको पनि देखिएको छ।
यसरी फैलन्छ
मर्स भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा निकै छिटो सर्छ। यसका लागि निकट रूपमा सम्पर्क हुनुपर्छ। यद्यपि अहिलेसम्म यो रोग हावाबाट फैलिएको प्रमाण भने फेला परेको छैन। त्यसैले यो रोग लागेका विरामीलाई अलग्गै राखेर अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढै राख्नुपर्छ।
जोगिने उपाय
इबोला जस्तै मर्स भाइरसबाट जोगिने कुनै औषधि निर्माण भएको छैन। यसको भ्याक्सिन निर्माणका लागि युएस नेसनल इन्स्टिच्युट अफ हेल्थ लागिरहेको छ। यद्यपि विशेष रूपमा ध्यान दिएर कुनै सुरक्षात्मक उपाय अपनाए यो रोगबाट जोगिन सकिन्छ।
- हातलाई ह्यान्ड स्यानिटाइजर वा साबुनले २० सेकेन्डसम्म धुने।
- हाँच्छ्यु आउँदा मुखलाई रुमाल वा कुनै टिस्यु पेपरले छोप्ने र त्यसलाई तुरुन्तै फ्याक्ने।
- सफा हातले मात्र आफ्नो आँखा, नाक वा मुख छुने।
- संक्रमित रोगीको धेरै नजिक नजाने।