साप्ताहिक संवाददाता
मन्जुको ट्याटु
गायिका एवं कार्यक्रम उद्घोषिका मन्जु पौडेलले आफ्नो दायाँ हातमा ट्याटु खोपाएकी छिन्। उनको ट्याटुमा माइक्रोफोन र संगीतलाई दर्साइएको छ। दायाँ हातमा माथिपट्टि फर्किएको माइक्रोफोन र घुमेको आकारमा सारेगमप कर्डलाई ट्याटु डेभलपरले लोभलाग्दो ढंगले कुदेका छन्। ‘यो ट्याटु मेरो जीवन हो, जसले मलाई बुझाउँछ,’ हाल अस्ट्ेरलियामा भूकम्पपीडितहरूका लागि राहत संकलनमा सक्रिय मन्जुले साप्ताहिकसँग भनिन्– ‘भूकम्प जाँदा म काठमाडौंमै थिए, अस्ट्ेरलिया आउने निश्चित भैसकेको थियो, भूकम्पले निम्त्याएको छटपटाहटसँगै ट्याटु कुद्ने निर्णय लिए।’ मन्जुका अनुसार कार्यक्रम सञ्चालन तथा गायन पेसामा संलग्न भएकाले नै यो ट्याटुमा उनले संगीत र माइक्रोफोन राख्ने निर्णय गरेकी हुन्।
संगीतकारद्वयको प्रतिस्पर्धा
अहिलेको सांगीतिक बजारमा दुई संगीतकार वसन्त सापकोटा र अर्जुन पोखरेलबीच तीव्र प्रतिस्पर्धा छ। यसलाई उत्तराधिकार नै मान्नुपर्छ, विगतदेखि नै समकालीन दुई संगीतकारबीच प्रतिस्पर्धा हुने गरेको थियो। दर्शक–श्रोताले रुचाउने किसिमका गीत तयार गर्न चलचित्र निर्मातादेखि एल्बम निर्मातासम्मले वसन्त र अर्जुनलाई सम्झन्छन्। पोखरेल र सापकोटा बजारमा चल्ने गीत तयार गर्न खप्पिस छन् भन्ने मान्यता छ। सागरसरि चोखो माया, गाला रातै, स्लोली स्लोली, नाइँ नभन्नु ल जस्ता हिट गीत वसन्तका सिर्जना हुन् भने बाटो मोडेर गयौ, सुन्छु तिमीले मलाई, सरर बेनीको जस्ता हिट गीतमा अर्जुनले नै संगीत दिएका हुन्। सुगम संगीतको सिआरबिटी बजारमा त अर्जुनको आधिपत्य नै छभन्दा फरक पर्दैन। यी दुईको कामको महत्त्व बुझेरै चलचित्र निर्माताहरू अहिले एउटै चलचित्रमा यी दुवैको संगीत लिन थालेका छन्। सुरेश अधिकारी र महेश खड्कापछि अहिले यी दुईबीच चलिरहेको पेसागत प्रतिस्पर्धा गजबको भएको संगीतकर्मीहरू बताउँछन्।
बलिउडमा शंकर
१ हजार ७ सय म्युजिक भिडियो निर्देशन, ९ सयभन्दा बढी म्युजिक भिडियोमा नायकका रुपमा अभिनय तथा करिब ७० चलचित्रका गीतको कोरियोग्राफी गरेका शंकर बिसीले बलिउडको एउटा प्रोजेक्टमा ब्रेक पाएका छन्। भूकम्पको मारमा परेपछि पालमा रात गुजार्ने क्रममा शंकरले बलिउडको एक हिन्दी चलचित्रमा कोरियोग्राफी गर्ने अवसर पाएका हुन्। उक्त अवसरलाई सदुपयोग गर्न हाल उनी भारतमा छन्। चलचित्रका मुख्य कलाकार अरहान खान मिस्टर पर्फेक्सनिष्ट आमिर खानका भान्जा भएको शंकरले बताएका छन्। डर्बी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भैरहेको ‘लभ लाइफ लस्ट’ लाई केकेले निर्देशन गरिरहेका छन्। १० करोडको लागतमा निर्माण हुने यो चलचित्रका लागि सुरुवातमा शंकरको अडिसन लिइएको थियो। ५ वटा गीत समाविष्ट उक्त चलचित्रका २ वटा गीतको कोरियोग्राफी सम्पन्न गरिसकेको शंकरले बताए।