साप्ताहिक संवाददाता
नेपाली जनजीवनको पर्याय बनिसकेको अमर गीत ‘सिमसिमे पानीमा ज्यानले बेमान गर्छ कि जिन्दगानीमा...’ आफ्नै शब्द तथा संगीतमा गाएर २०४९ सालमा रेडियो नेपालद्वारा आयोजित देशव्यापी लोकगीत गायन प्रतियोगितामा गायनतर्फ प्रथम स्थान प्राप्त गर्न सफल गायिका हुन्— रेखा शाह। धादिङको धुवाँकोट गाविसको रातमाटेमा जन्मिएकी शाह शास्त्रीय संगीतकी विद्यार्थी पनि हुन्। लोकगीतबाट आफ्नो सांगीतिक करियर प्रारम्भ गरे पनि गायिका शाह ‘भर्सटायल गायिका’ हुन्। संगीतमै आफ्नो जीवन समर्पण गरेकी यी गायिकालाई सबैले नारी सुन्दरताकी पर्याय पनि मान्छन्। ‘सुन्दरता क्षणिक र नाशवान् हुन्छ। मन जति सफा हुन्छ, विचार र व्यवहार पनि त्यति नै सुन्दर हुन्छ’, भन्ने धारणा व्यक्त गर्ने गायिका शाहले अहिलेसम्म लोक, आधुनिक, पप, राष्ट्रि्रय, भजन गरी सयौं गीतमा स्वर भरिसकेकी छिन्। नेपालका प्रतिष्ठित सांगीतिक सम्मान र एवार्डहरू प्राप्त गरिसकेकी गायिका शाह व्यवहारिक जीवनमा पनि सरल, भावुक र जीवनलाई सार्थक बनाउनुपर्छ भन्ने आदर्श बोकेर अघि बढिरहेकी छिन्।
सबैभन्दा सानो उमेरमा पुरस्कार
२०४९ सालमा ‘सिमसिमे पानीमा’ गीत आफ्नै शब्द अनि संगीतमा गाएको एक वर्षपछि मैले ‘युवा छिन्नलता गीत पुरस्कार’ प्राप्त गरेँ। त्यो पुरस्कार पाउँदा मैले भर्खर एसएलसी उत्तिर्ण गरेकी थिएँ अर्थात म १६ वर्षकी मात्र थिएँ।
अध्ययन
मलाई बेला–बेलामा प्रतिकूल स्वास्थ्यले धोका दिइरहन्छ। पारिवारिक जीवनका कारण मैले आफ्नो अध्ययनलाई सोचेजस्तो अघि बढाउन सकिरहेकी थिइनँ। अहिले आएर म संगीत सँगसँगै औपचारिक अध्ययनलाई पनि अघि बढाइरहेकी छु। म यतिबेला त्रिभुवन विश्वविद्यालयमा ‘जेन्डर स्टडी’ मा एमए गर्दैछु।
समाजसेवा
हामी सामाजिक प्राणी हौँ। एक–अर्काको सहयोगबिना हामी अघि बढ्न सक्दैनौं। समाजका दु:खी–गरिब, अपाङ््ग–असहाय बालबालिका, युवा–युवती, वृद्ध–वृद्धाको सहयोगका लागि मैले मेरै नामबाट ‘रेखा शाह फाउन्डेसन’ स्थापना गरेकी छु। फाउन्डेसनमार्फत अहिले विभिन्न सामुदायिक विद्यालयमा करिब ५० जना छात्रालाई नि:शुल्क अध्ययन गराइरहेकी छु।
सांगीतिक टुर
निकट भविष्यमै सांगीतिक टुरमार्फत विभिन्न देशको भ्रमण गर्दैछु। असहाय बाल–बालिका, वृद्ध–वृद्धा तथा अपाङ्गको सहयोगका लागि रेखा शाह फाउन्डेसनमार्फत संसारभरि नै सांगीतिक कार्यक्रम गर्दैछु।
राजनीति
हाम्रो देशमा राजनीतिको गलत प्रयोग भैरहेको छ। सार्थक राजनीतिज्ञ बनी समाजसेवा गर्न म निकट भविष्यमै राजनीतिमा प्रवेश गर्दैछु। राजनीतिमा प्रवेश गरी नारी हक–अधिकार एवं वृद्ध–वृद्धा तथा बालबालिकाका लागि केही गर्ने सोच छ।
जीवनी लेखन
हरेकका संघर्ष फरक–फरक हुन्छन्। मेरा पनि त्यस्तै केही संघर्ष र उकाली–ओरालीका कथा छन्। मैले गरेको संघर्ष र भोगाइलाई जीवनीका रूपमा उतार्ने कार्यको थालनी गरिसकेकी छु। मेरो जीवनीले मैले बाँचेको जीवनको मुस्कान र दु:खको सागर अध्ययन गर्ने अवसर प्रदान गर्नेछ।
अभिनय
सुन्दरता हरेक व्यक्तिमा हुन्छ। त्यसलाई परिभाषित गर्ने लवज तथा शब्द मात्र फरक–फरक हुन्छन्। मैले जानेको अभिनयलाई सुन्दर ढंगबाट आफ्ना गीतमा प्रस्तुत गरिरहनेछु। हालै मात्र मेरो लोकप्रिय गीत ‘सिमसिमे पानीमा’ को रिमेकको म्युजिक भिडियोमा मैले गरेको अभिनयलाई दर्शकले मन पराउनु भयो।
प्रस्तुति : कृष्०ा भट्टराई