साप्ताहिक संवाददाता
वैशाख १२ को भूकम्पमा मध्यान्न १२ बजेको समाचारवाचन गर्न स्टुडियोभित्र प्रवेश गरिसकेका रेडियो कान्तिपुरका सञ्चारकर्मी हुन्– श्रीकृष्ण न्यौपाने। श्रीकृष्णले उक्त दिन बिहान ११:५६ मा सहकर्मी इन्द्रलक्ष्मीसँग समाचारवाचनको सम्पूर्ण तयारी पूरा गर्नै लाग्दा स्टुडियोमा कम्पन महसुस गरे। त्यसक्रममा प्राविधिक दीपकले रेडियो कान्तिपुरको स्टेसन आईडी बजाउँदै ‘भूकम्प आयो, तल झरौं’ भने। त्यसअघि २०६६ सालको भूकम्पमा समेत स्टुडियोमै रहेका श्रीकृष्णले इन्द्रलक्ष्मीलाई सान्त्वना दिने क्रममा नआत्तिन आग्रह त गरे, तर त्यतिबेला सम्ममा इन्द्रलक्ष्मी रुन थालिसकेकी थिइन्। भूकम्पको ठूलो झट्कासँगै दुवै केही समय स्टुडियोकै टेबलमुनि बसे। कम्पन कम भएपछि दुवै जना चार तल्लाबाट रेडियोको परिसरमा आए। पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर गरेका दमक, झापाका श्रीकृष्ण रेडियो कान्तिपुरमा आबद्ध भएको ८ वर्ष भयो। यतिबेला उनी रेडियोका विभिन्न समाचार बुलेटिन वाचन गर्नुबाहेक आइतबार तथा मंगलबार बिहान ७ बजेको ‘हेडलाइन्स’ सञ्चालन गर्छन्। शुक्रबार राति ९ बजेको समाचारपछिको ‘इन्द्रेणी’ शीर्षकको रेडियो म्यागजिनमा श्रीकृष्ण नेपाली कला तथा मनोरञ्जन क्षेत्रका गतिविधिहरू समेट्छन्। त्यसो त श्रीकृष्ण कुशल सञ्चारकर्मीसहित प्रतिभाशाली कलाकार पनि हुन्। कलेज छँदै केही नाटकमा अभिनय गरेका श्रीकृष्णले दण्डरहित शिक्षामा आधारित चलचित्र ‘कखरा’ मा प्रभावशाली भूमिका निर्वाह गरेका छन्। चलचित्र ‘अखडा’ मा नकारात्मक भूमिका निर्वाह गरेका श्रीकृष्णले प्रमोद खरेल तथा रमेशकुमार भट्टराईका गीतका म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्। भूटानी शरणार्थीहरूको अमेरिका यात्राका विषयमा निर्माण हुन लागेका चलचित्रमा अभिनय गर्ने तयारी गरिरहेका श्रीकृष्णसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न :
तपाईं रेडियोकर्मी कि कलाकार?
पेसागत रूपमा म रेडियोकर्मी नै हुँ। मैले रेडियोमै करियर बनाएको छु। अभियनचाहिँ मेरो रहरको विषय हो। कलाक्षेत्रमा अनुभव गर्न पाइने आत्मसन्तुष्टि शब्दमा वर्णन गर्न सकिँदन।
दुई भिन्न विधाका लागि समय कसरी मिलाउनुहुन्छ?
रेडियो मेरो पहिलो प्राथमिकतामा पर्छ। रेडियोलाई दिएर बचेको समयमा मात्र म अभियनका लागि उपलब्ध हुन्छु। रहरको विषय भएकाले होला अहिलेसम्म समय व्यवस्थापन गरिरहेको छु।
भविष्यको योजना के छ?
पत्रकारितामै अझ अघि बढ्ने योजना त छँदैछ। त्यसबाहेक राम्रो भूमिका भएका दुई–चारवटा चलचित्रमा अभिनय गरेर आफूमा लुकेको प्रतिभा सार्वजनिक गर्ने योजना छ।