राजकुमार राई निर्माताका रूपमा परिचित छन्। अब भने उनको परिचय फेरिएको छ। गएको शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट उनी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। भूकम्पले देश नै अप्ठेरोमा परेको परिस्थितिमा राईको कार्यकाल चुनौतीपूर्ण पनि छ। आदिवासी जनजाति चलचित्रकर्मी संघका प्रवक्ता, पूर्वाञ्चल युवा संघ तथा द ब्वाइज क्लब, इटहरीका अध्यक्ष राई चलचित्र निर्माता संघका अध्यक्ष पनि हुन्। निर्माता राईले मनै त हो, संगम, त्रिवेणी, पापीमान्छे, प्रोड्युसर, वन वे आदि नेपाली चलचित्र निर्माण गरिसकेका छन्। उनी सामाजिक रूपान्तरणको उद्देश्य बोकेर चलचित्र निर्माणमा प्रवेश गरेका हुन्। निर्माता राई राष्ट्रले नै गौरव गर्ने चलचित्र निर्माणमा प्रतिबद्धता व्यक्त गर्छन्। चलचित्र निर्माणमा क्रियाशील व्यक्तिले नयाँ सोच, अनुशासन र धैर्यताजस्ता पक्षलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्ने चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष राईसँग साप्ताहिकको कुराकानी :
चुनौतीपूर्ण अवस्थामा जिम्मेवारीमा पुग्नुभएको छ, कस्तो अनुभव गरिरहनुभएको छ?
हो, यस्तो बेला चुनौती बढी छन्। चलचित्रको व्यापार ठप्प छ। महाभूकम्पले सबै नेपाली समस्यामा छन्। यद्यपि चुनौतीलाई जहिले पनि स्वीकार गरेर आएको मान्छे भएर पनि होला, म यस्तो चुनौतीलाई सजिलै ग्रहण गर्नेछु, कत्ति पनि डराउनेछैन।
तपार्इंबाट आमचलचित्रकर्मीहरूले कस्तो अपेक्षा गरेका छन्?
अपेक्षा धेरै नै छन्। म चलचित्रबाटै आएको मान्छे हुँ। हिजो त्यही आवाज उठाएर आएको पनि हो। आज कार्यान्वयन गर्ने ठाउँमा आइपुगेको छु। यो चुनौतीलाई सफल बनाउन प्रयास पनि गर्नेछु। चलचित्रकर्मीहरूको अपेक्षामा खरो उत्रने विश्वास दिलाउन चाहन्छु।
तपार्इंका आगामी योजना के छन्?
धेरै योजना छैनन्। पहिलो महाभूकम्पमा परेका चलचित्रकर्मीहरूलाई सरकारी सहयोग दिलाउने प्रयास गर्नेछु। दोस्रो भनेको बक्स अफिस इ टिकेटी सिनेमा हलहरूमा लागू गराउने हो, जसमा सिनेमा तथा सिनेमा घरहरू पनि वर्गीकरण हुनेछन्। तेस्रो चलचित्र नीति लागू गराउने हो। जुन नेपाली चलचित्रमा नेपालको संविधान जस्तै हुनेछ।
बक्स अफिस लागू गर्न सम्भव छ, योजना कसरी अघि बढाउने योजनामा हुनुहुन्छ?
बक्स अफिस सम्भव छ। यसले विकृति रोक्छ। पहिले उपत्यकामा यो सिस्टम लागू हुनेछ। त्यसपछि देशका प्रमुख सहरहरूमा पनि जान्छ। यसले सवैलाई राम्रो गर्छ।
एकथरी चलचित्रकर्मीहरू डराइहेका छन्?
राम्रो कुराको विरोध पनि हुन्छ, तर म चिन्तित छैन। मैले चलचित्र उद्योगको विकासका लागि काम गर्ने हो। अब कम्तीमा दुईवटा चलचित्रमा सह–निर्माता भए मात्र चलचित्र निर्माण गर्न पाइनेछ। मेरो ध्यान स्तरीय चलचित्र बनाउनेतिर जानेछ। अब जो पायो त्यही चलचित्र निर्माण–निर्देशनमा आउन पाउँदैन। त्यस्ता मान्छेसँग म डराउँदिन पनि। प्रक्रिया पूरा गरेर आउनेहरूले डराउनुपर्ने आवश्यकता पनि छैन।
नेपाली चलचित्रको बजारलाई पनि भूकम्पको प्रभाव परेको हो?
परेको छ। चलचित्र रिलिज भएको छैन। दर्शकहरू सिनेमा हल गएका छैनन्। अहिले मनोरञ्जन प्राथमिकतामा छैन।
देश विपद्को अवस्थामा छ, यस्तो स्थितिमा बोर्डबाट के गर्ने योजना छ?
बोर्डले अन्तक्र्रिया कार्यक्रम आयोजित गर्दैछ। मिडिया र दर्शकहरूसँगको दूरी कम गर्न क्याम्पेन पनि चलाउनेछ। बोर्डको दायित्व त्यस्ता कार्यक्रम सञ्चालन गर्दै दर्शकलाई सिनेमा घरसम्म जाने बातावरण बनाइदिने हो। एकापट्टि चलचित्रकर्मीलाई मल्हमपट्टि लगाउने र अर्कोपट्टि विपद्को घटना बिर्सिएर नयाँ तरिकाले दर्शकलाई हलसम्म ल्याउने योजनामा हामी छौं।
राष्ट्रिय चलचित्र पुरस्कारले निरन्तरता पाउँछ?
चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारले निरन्तरता पाउँछ, तर अहिले मिति र समयका भैसकेको छैन।
नेपाली चलचित्र कस्तो हुनुपर्छ?
चलचित्र समकालीन हुनुपर्छ, मेकिङ पनि राम्रो हुनुपर्छ।
नयाँ निर्माता निर्देशकहरूलाई के भन्नुहुन्छ?
चलचित्र बुझेर–सिकेर आउनुहोस्। त्यसरी आए आफू स्वयंका साथै यो उद्योगलाई पनि फाइदा हुन्छ।