चैत महिनामै ग्ल्यामर तथा विज्ञापन फोटोग्राफर सञ्जय रौनियारसँग उनले ‘मुर शैली’मा प्रोफेसनल तस्बिर खिचाइन्, जतिबेला उनी सात महिनाकी गर्भवती थिइन् । हलिउड अभिनेत्री डेमी मुरले सन् १९९१ मा भेनिटी फेयर पत्रिकाको आवरणका लागि ‘प्रेग्नेन्सी फोटोसुट’ गराएकी थिइन् । मुर उक्त फोटोसुटका लागि आफू पूर्ण रूपमा नग्न भएकी थिइन् । सन् १९९१ पछि जति पनि ‘प्रेग्नेन्सी फोटोसुट’ भए सबै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अभिनेत्री मुरबाट प्रभावित छन् भनिन्छ, तर नेपाली चलचित्रकी नायिका, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्यले भने फोटोसुटमा आफ्नो उक्सिएको पेट (गर्भ रहेको पेट) मात्र देखाएकी छिन् । ‘नग्न फोटो खिचाउनु हाम्रो संस्कारभित्र पर्दैन । मेरो इच्छा मात्र प्रेग्नेन्सी फोटोसुट गर्ने थियो, मुरले जसरी नग्न भएर होइन,’ –क्षितिजाले भनिन् ।
क्षितिजालाई चैत महिनामै आफ्नो ‘प्रेग्नेन्सी फोटोसुट’को तस्बिर प्रकाशित गर्ने चाहना थियो, तर व्यस्तताका कारण फोटो खिचे पनि ती तस्बिर उनकै ल्यापटपमा रहे । ‘अहिले आएर लोकप्रिय पत्रिका साप्ताहिकमार्फत यी तस्बिर सार्वजनिक गर्ने रहर जाग्यो ।’ उनले भनिन् ।
किन रहर जाग्यो त अहिले ? रहरको कारण खुलाउँदै क्षितिजाले भनिन्– ‘भूकम्प जाँदा म घरको छैटांै तलामा थिएँ । भूकम्प गएपछि सामान्य अवस्थाका मानिसहरू दौडेर घरको तल सुरक्षित खुला स्थानमा जान सहज हुन्छ, तर गर्भवस्थामा रहेका महिलाहरू त्यस्तो परिस्थितिमा न त दौडन सक्छन् न त आफूलाई सुरक्षित तुल्याउन नै । भूकम्पपछिको अर्को समस्या मन अत्यधिक आत्तिनु हो । त्यसरी धेरै आत्तिदाँ गर्भको शिशुमा त्यसको असर पर्छ र गर्भ नै तुहिने डर हुन्छ । मैले १२ गतेको भूकम्पपछि धेरै महिलाको गर्भपतन भयो भन्ने पनि सुने । मलाई पनि त्यसको डर थियो । आठ महिनाको गर्भावस्थामा त्यस्तो हुँदा मेरो आफ्नै ज्यानको खतरा पनि हुन्थ्यो । सबै डराइरहेको र त्रासमा रहेका बेला म पनि नडराउने कुरै भएन । ममा पनि अब के होला ? भन्ने त्रास थियो । विशेषगरी मलाई मेरो गर्भमा हुर्किरहेको शिशुको बढी चिन्ता भयो । भूकम्पले उसमा कस्तो असर पऱ्यो होला भन्ने चिन्ता भयो । परिवार, साथीभाइ तथा श्रीमान्को सहयोग एवं सल्लाहका कारण मैले आफुलाई सम्हाल्न सके पनि गर्भमा रहेको मेरो शिशुका सम्बन्धमा बुझ्नु आवश्यक थियो । मैले डाक्टर ज्योति अग्रवालसँग सम्पर्क गरे । उहाँले शिशुको अवस्था बुझ्न अल्ट्रासाउन्ड गराउनुभयो । धन्य, भगवान्को कृपाले मेरो शिशु सुरक्षित रहेछ । त्यसको कारण पनि डाक्टरले भन्नुभयो– तपाईं धेरै अत्तालिनुभएन, त्यसैले शिशुको अवस्था राम्रो छ । त्रासका कारण हरेस खाइयो भने गर्भमा रहेको शिशुमा त्यसको असर पुग्छ र गर्भपतन हुने डर हुन्छ ।’
गर्भावस्थामा हुँदा आमाको शिशुप्रति गहन जिम्मेवारी हुन्छ । आमाका हरेक क्रियाकलाप तथा खानपिनको असर शिशुमा परिरहेको हुन्छ । यो कुरा हाम्रा धर्मशास्त्रहरूमा पनि उल्लेख छ । त्यसैले त शिशु गर्भमा आएदेखि आमालाई असल कुरा मात्र सुनाउनु–देखाउनु भनिन्छ । त्यो बेला आत्तिए, डराए शिशुमा त्यसको नकारात्मक असर पर्छ र जन्मिसकेपछि पनि वर्षांैसम्म त्यसको असर उसमा कायम रहन सक्छ । भूकम्प, बाढी, पहिरो, चट्याङ आदि प्राकृतिक प्रकोप हुन् । पृथ्वी एक जीवित ग्रह भएकाले यहाँ प्राकृतिक प्रकोपका कारण बेला बखत उथलपुथल भैरहन्छ । त्यसैले प्राकृतिक प्रकोपबाट जोगिन त्यही प्रकारले सुरक्षित भएर बस्नुपर्छ । विशेषगरी गर्भवती महिलाले शिशुप्रतिको जिम्मेवारी बहन गर्दै आफूलाई जहाँ सुरक्षित र सहज महसुस हुन्छ तथा जे गर्दा सजिलो लाग्छ त्यही गर्नुपर्छ । त्यसका लागि परिवार, साथीभाइ तथा श्रीमान्को सहयोग पनि चाहिन्छ । यस्तै सन्देश प्रवाह गर्न मैले मेरो ‘प्रेग्नेन्सी फोटोसुट’का तस्बिर सार्वजनिक गर्न चाहेकी हुँ —क्षितिजाले स्पष्ट पारिन् ।
क्षितिजाका बारेमा
सयौं ग्ल्यामरस तस्बिर खिचाइसकेकी क्षितिजा शाक्य पेसाले फेसन डिजाइनर पनि हुन् । उनी चलचित्रमा अभिनय र मोडलिङमा पनि सक्रिय छिन् । १६ वर्ष जतिअघि उनको युवा व्यवसायी विनोद शाक्यसँग प्रेम विवाह भएको थियो, जति बेला क्षितिजा मोडलिङमा जम्न संघर्ष गर्दै थिइन् । विवाहपछि उनले श्रीमान्को साथ पाएर दर्जनौं मोडलिङ शो गरिन् । सन् १९९६ मा आयोजित दसैं उत्सवमा क्षितिजाले बेस्ट मोडलको एवार्ड जितिन् । त्यसपछि उनका लागि मोडलिङको ढोका खुल्यो । ५० भन्दा बढी फेसन शोमा र्याम्प सो गरिसकेकी क्षितिजाको पहिलो म्युजिक भिडियो गायक नवीन के. भट्टराईको थियो । दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी क्षितिजाले १८ वर्षअघि चलचित्र ‘घामछायाँ’बाट चलचित्र उद्योगमा पदार्पण गरेकी हुन् । त्यसपछि उनले एक दर्जनजति चलचित्रमा अभिनय गरिसकेकी छिन् । फेसन डिजाइनिङमा स्नातक गरेपछि भने उनी फेसन डिजाइनिङमै रमाउन थालिन् । न्युरोडमा क्षितिजा क्रिएसन डिजाइनिङ बुटिक सञ्चालन गरिरहेकी क्षितिजाको अबको लक्ष्य सफल फेसन डिजाइनर बन्नु हो ।
म आफ्नो मर्जीको मालिक आफैं हुँ ।
प्रेग्नेन्सी फोटोसुट गर्ने आइडिया कहाँबाट आयो ?
१३ वर्षअघि नै म पहिलो पटक गर्भवती हुँदा विदेशतिर प्रेग्नेन्सी फोटोसुट गर्छन् भन्ने सुनेकी थिएँ । त्यतिबेला नै मलाई त्यसरी तस्बिर खिच्ने धोको थियो । समाजले केही भन्ला कि भन्ने डरले मैले रहर मारेर बसें ।
अहिलेचाहिँ समाजको डर छैन ?
समाजले कतिसम्म पचाउन सक्छ भन्ने सोच नराखी समाजलाई यतिसम्म मात्र दिनुपर्छ भन्ने विचार राख्ने मेरो पुरानो बानी हो । प्रेग्नेन्सी फोटोसुट गरेर मैले नारीले मात्र आफ्नो जीवनमा पाउने यो सुखलाई गर्वका साथ सेयर गरेकी हुँ ।
तैपनि तस्बिर खिचाइसकेपछि केही समय त थन्क्याउनुभएछ ?
वैशाखमै कुनै विशेष कारणका लागि ती तस्बिर सार्वजनिक गर्थें होला । अवसर खोजिरहेकी थिएँ । भूकम्पका कारण त्यतिबेला ती तस्बिर कतै सार्वजनिक गर्न सकिन । अहिले भूकम्पपछि धेरै गर्भवती महिलाहरू आत्तिएर उनीहरूको पेटमा रहेको शिशुलाई असर पर्दैछ भन्ने सुने । कतिपयको त त्रासका कारण गर्भ नै तुहिएछ । त्यसपछि साप्ताहिकको साथ पाएर मेरा प्रेग्नेन्सी फोटोसुटका तस्बिरहरू सार्वजनिक गर्दै गर्भमा शिशु आएपछि आमाको ऊप्रतिको जिम्मेवारी आरम्भ हुन्छ, त्यसैले उसलाई हानी पुग्ने कार्य नगर्न र नगराउन सचेत गराउँदै यसलाई सार्वजनिक गरेकी हुँ ।
आफैं गर्भवती हुनुहुन्छ, अनि कसरी सन्देश प्रवाह गर्न सक्नुहुन्छ ?
सुरक्षित मातृत्व आजको आवश्यकता हो । गर्भस्थ शिशु र आमाको सुरक्षाका लागि लोकप्रिय पत्रिकामार्फत प्रेग्नेन्सी फोटोसुटका तस्बिरसहित समाजलाई अनुरोध त गर्न सकिन्छ नि । म यो लोकप्रिय पत्रिकामार्फत समस्त गर्भवती तथा गर्भाधारण गर्न चाहने महिलाहरूसँग अनुरोध गर्छु कि आमा बन्नु संसारकै सबैभन्दा महान् कार्य हो, जुन सौभाग्य महिलाहरूले मात्र प्राप्त गर्छन् । त्यस्तो बेला आमाले आफ्नो मनलाई संयमित राख्नुपर्छ । सकेसम्म मनलाई खुसी राख्नुपर्छ । म दोस्रो पटक गर्भवती भएकी हुँ । पहिलो पटक गर्भवती हुँदा ममा सम्भवत: यति परिपक्वता आइसकेको थिएन, तर घर र माइतीको सहयोगकै कारण मैले कुशलपूर्वक छोरीलाई जन्म दिएँ । अहिले छोरी १३ वर्षकी भैसकेकी छिन् । १३ वर्षपछि अर्को एक सन्तानको आवश्यकता महसुस भयो । प्लान गरेरै अहिले म गर्भवती भएकी हुँ । यसबीच भूकम्पजस्तो डरलाग्दो अवस्थाबाट गुज्रनुपर्यो । त्यतिबेला म केही समयका लागि अत्तालिए, तर पछि गर्भमा रहेको अबोध शिशुका लागि सम्हालिएँ । मनलाई कन्ट्रोल गर्न सकिने रहेछ । म यही सन्देश सबैमा प्रवाह गर्न चाहन्छु ।
फोटोसुटका लागि श्रीमान् तथा परिवारका अन्य सदस्यहरूको अनुमति थियो ?
म आफ्नो मर्जीको मालिक आफैं हुँ । जीवनमा चाहेको काम गर्न पाउनुपर्छ । नचाहिने र अवैधानिक कार्य गर्नु हुँदैन, तर समाजमा राम्रो सन्देश जाने किसिमको कार्यका लागि मलाई सबैले साथ दिनुभएको छ । फेरि मैले खिचाएका तस्बिर कुनै पनि दृष्टिकोणबाट भल्गर वा अनुचित छैनन् ।
फोटोग्राफर सञ्जय रौनियारको अनुभव
मैले सयौं नेपाली तथा महिला मोडल तथा सेलिब्रेटीहरूको ग्ल्यामरस स्टाइललाई क्यामेरामा उतारेको छु । क्षितिजा शाक्यको सुन्दरता पनि कैयन् पटक मेरो क्यामेरामा कैद भैसकेको छ । माघ महिनातिरकै कुरा हो । क्षितिजाको एउटा सामान्य फोटो सुट हुँदै थियो । त्यतिबेला उनी प्रेग्नेन्ट थिइन् । क्षितिजाले मलाई प्रेग्नेन्सी फोटोसुट गर्ने चाहना रहेको बताइन् । मैले डेमी मुरको प्रेग्नेन्सी फोटोसुटका तस्बिर हेरें । म मुरजसरी नग्न बनाएर त तस्बिर खिच्न सक्दिनथें । मुरलगायत हलिउडका अन्य सेलिब्रेटीहरूका प्रेग्नेन्सी फोटोसुट हेरेपछि मैले त्यस्तो तस्बिर नखिच्ने क्षितिजालाई बताए । क्षितिजाले मुरका प्रेग्नेन्सी फोटोसुटका तस्बिरबाट आइडिया मात्र लिने र पहिरन लगाएरै फोटो खिच्ने भनेपछि म कन्भिन्स भएँ । प्रेग्नेन्सी फोटोसुटका तस्बिर खिच्न उनको पेट त्यतिबेला सानो थियो । सात महिना लागेपछि खिच्ने कुरा भयो । क्षितिजा मानिन् र गत चैत महिनामा ती तस्बिर खिचिए । तस्बिर खिचिए पनि केही साता ती तस्बिर कतै प्रकाशित गरेनौ र कसैलाई थाहा पनि दिएनौं ।
प्रेग्नेन्सी फोटोसुट
प्रेग्नेन्सी फोटोसुट अथवा मेटरनिटी फोटोसुटको अर्थ एउटै हुन्छ, गर्भावस्थामा उक्सिएको पेट देखाएर फोटो खिचाउनु । क्यामेराको पहुँच सहज भएपछि गर्भावस्थालाई जीवनको एउटा महत्त्वपूर्ण पाटो सम्झेर त्यसलाई सम्झनामा राख्न व्यवसायिक फोटोग्राफरहरूबाट गर्भवती महिलाहरूले तस्बिर खिचाउन थालेपछि यसको प्रारम्भ भएको मान्न सकिन्छ ।
पहिलो ‘प्रेग्नेन्सी फोटोसुट’ कसले गर्यो वा गरायो भन्ने पक्का जानकारी नभए पनि सन् १९९१ मा फोटोग्राफर एनी लाइभोटिजले खिचेको हलिउड अभिनेत्री डेमी मुरले ‘प्रेग्नेन्सी फोटोसुट’ चर्चित पत्रिका भेनिटी फेयरको आवरणमा प्रकाशित भएपछि त्यसले चर्चाका साथै विवाद पनि सिर्जना गर्यो, जतिबेला मुरको गर्भमा उनकी छोरी स्काउट सात महिनाकी थिइन् । नग्न शरीरलाई कोल्टे बनाएर खिचिएको उक्त तस्बिरका कारण उदार अमेरिकी समाजमा समेत मुरको निन्दा भयो । डेमी मुरले नारी सशक्तीकरणको पक्षमा रहेर उक्त तस्बिर खिचाएको बताए पनि उनले त्यसअघि नग्न शरीरमा पेन्टिङ गरेर खिचाएको अर्को तस्बिरका कारण पनि प्रेग्नेन्सी फोटोसुटलाई विवादमा तानिएको थियो ।
मुरको प्रेग्नेन्सी फोटोसुटको नक्कल गर्दै गर्भवती महिलाहरूले तस्बिर खिचाउन थालेपछि उनको चर्चा अझ चुलियो । हाल ५२ वर्षीया मुर प्रेग्नेन्सी फोटोसुट गर्दा २८ वर्षकी थिइन् । चर्चित गायिका ब्रिट्नी स्पेयर्सले समेत आफू गर्भवती भएका बेला मुर शैलीमै नग्न भएर प्रेग्नेन्सी फोटोसुट गराएकी थिइन्, जसलाई अमेरिकाको पत्रिका बजारले आफ्नो आवरणमा प्रकाशित गरेको थियो । त्यसपछिको पुस्ताकी गायिका सकिराले पनि आफू पहिलो पटक गर्भवती हुँदा प्रेग्नेन्सी फोटोसुट गराइन् र त्यसले पनि अखबारका पानाहरू रंगिए ।
जतिसुकै कामुक शैलीका गीत गाए पनि सकिरा प्रेग्नेन्सी फोटोसुटमा मुर र स्पेयर्सजति उदार देखिइनन् । अमेरिकी गायिका तथा मोडल कायराले पनि गर्भवस्थामा प्रेग्नेन्सी फोटोसुट गराएकी थिइन् । अमेरिकी महिला सेलिब्रेटीहरूमा मुरले ल्याएको ट्रेन्ड अर्थात् प्रेग्नेन्सी फोटोसुटको छाप निकै गाढा छ । उनीहरू गर्भवती भएका बेला प्रेग्नेन्सी फोटोसुट गराएर ती तस्बिर सामाजिक सञ्जाल तथा अनलाइनहरूमा सार्वजनिक गरिरहन्छन् ।
क्रिएटिभ फोटोसुटको एउटा पाटो मानिइसकेको प्रेग्नेन्सी फोटोसुटलाई भद्दा नबनाई वर्तमान जीवनमा महिलाले मात्र भोग्ने गर्भावस्थालाई डरले होइन, रमाइलोसँग सेलिब्रेसन गर्नुपर्छ भन्ने अवधारणा पश्चिमा मुलुकहरूमा विकसित भैसकेको छ ।
नेपालमा प्रेग्नेन्सी फोटोसुट
नेपालमा पनि प्रेग्नेन्सी फोटोसुटको ट्रेन्ड छैन । यहाँका आम महिला तथा सेलिब्रेटीहरूमा यसप्रति खासै चाहना वा चासो पाइँदैन । यद्यपि हाल अमेरिका पलायन भएकी नायिका ऋचा घिमिरेले आफ्नो पहिलो छोरा जन्मदा प्रेग्नेन्सी फोटोसुट गराएकी थिइन् । प्रोफेसनल रुपमै फोटोग्राफर कविन्द्रमान शाक्यसँग उनले प्रेग्नेन्सी फोटो खिचाएकी थिइन् । तस्बिर खिचाएपछि उनले काठमाडौं क्रेज डटकममा ती तस्बिर अपलोड पनि गराइन् र चर्चा पाइन् । त्यसअघि नायिकाद्वय अरुणिमा लम्साल र सञ्चिता लुइँटेलले गर्भावस्थाका केही तस्बिर सार्वजनिक गरे पनि ऋचाले भने फोटोसेसन नै गराएकी थिइन् । यी सबै नायिकाका गर्भावस्थाका तस्बिरमा उनीहरूले आफूलाई पहिरनले राम्रैसँग ढाकेका छन् । पछिल्लो पटक नायिका क्षितिजा शाक्यले भने पेटको भाग देखिने गरी प्रेग्नेन्सी फोटोसुट गराएकी हुन् ।
बलिउडमा
आफूलाई हलिउडजत्तिकै उदार मान्ने बलिउडमा भने अझै पनि खुलस्त रूपमा प्रेग्नेन्सी फोटोसुटको ट्रेन्ड भित्रिएको छैन । विवाहित अभिनेत्रीहरू गर्भवती हुनुलाई ठुलो इस्यु मान्दै भारतीय सञ्चारमाध्यमहरूले बढाइचढाई प्रकाशन–प्रसारण गर्ने भएकाले पनि त्यस्ता खबर लुकाउने चलन छ । ऐश्वर्या राय, शिल्पा सेट्टी, ट्विङ्कल खन्ना, करिश्मा कपुरदेखि जिनेलिया डिसुजासम्मका अभिनेत्रीहरू गर्भवती भए । तर ती सबै खबर लुकाइयो र लुकाएको वस्तुको महत्व अझ बढी हुन्छ भनेझैं केही मिडियाले उनीहरूको पापराजी तस्बिर खिचेर भए पनि त्यो जानकारी बाहिर ल्याए । अभिनेत्री तारा शर्मा तथा कोणकोणा सेनले भने प्रेग्नेन्सी फोटोसुट नै गराएर पत्रिकामा आफूलाई प्रस्तुत गरी चर्चा बटुले ।