गएको वैशाख १२ गते भूकम्प जानु केही मिनेटअघि मात्र म नेपालका व्यवसायिक साझेदारसँग कुराकानी गर्दै थिएँ । फोन गर्दागर्दै मेरी ती साथीले ‘माइ गड...माइ गड... भुइँचालो...भुइँचालो भन्न थालिन् । म केही सोध्दैथिएँ, उनको फोन अफ भयो । त्यसपछि त फोन जाम नै भयो, कतै लागेन । एकैछिनपछि संसारभरका मिडियाले काठमाडौं तहसनहस भएको समाचार प्रसारित गर्न थाले । भोलिपल्टदेखि अन्य जिल्ला ध्वस्त भएको समाचार आउन थाल्यो । मन थाम्न सकिन । के गर्न सकिन्छ भनेर भारतीय साथीहरूसँग सल्लाह गरें । भारतीयहरू नेपाललाई असाध्यै माया गर्छन् । उनीहरू नेपाल पशुपतिनाथको देश भनेर श्रद्धा गर्छन् । त्यसैले नेपाललाई परेको अप्ठ्यारोमा कसरी थोरै भए पनि सहयोग गर्न सकिन्छ भनेर साथी अभय र वीरेन्द्र जैनसँग छलफल भयो । उनीहरू मुम्बई निवासी हुन् । अभयले ‘म मुम्बई गएर सहयोग जुटाउँछु, तिमी काठमाडौं गएर के सहयोग गर्न सकिन्छ बुझ’ भनेर मलाई नेपाल पठाए ।
म काठमाडौं आइपुग्दा केही व्यवसायीहरूले पीडितहरूलाई चाउचाउ बाँडिरहेको देखें । खानेकुराको संकट रहेछ भनेर तुरुन्तै दुई–चार ट्रक खानेकुरा मगाए । एकछिन्पछि बस्ने पाल नभएको थाहा पाएँ, त्यसपछि टेन्ट मगाएँ । उनीहरूले धमाधम सामान पठाउन थाले । भाँडाकुँडासमेत घरले पुरिएको र निकाल्न नसकिने थाहा पाएँ । त्यसपछि एक ट्रक भाँडाकुँडा मगाए । मैले जे–जे भनें, उनीहरूले दुईदिन भित्रमा पठाइदिन थाले ।
यसबीच म सिन्धुलीको दुम्जा पुगें भने भक्तपुर पनि गएँ । सिन्धुपाल्चोक र गोर्खातिर पनि नियालें । त्यसपछि थाहा भयो, भूकम्पपीडित बालबालिका निकै जोखिममा रहेछन् । धेरै केटाकेटीले उनीहरूको पेन्सिल, पुस्तक, झोला घरमै पुरिएको कुरा सुनाए । मेरो मन चसक्क दुख्यो । मैले तुरुन्तै भारतीय साथीहरूलाई फोन गरी ४ हजार बालबालिकाका लागि झोला, पानी खाने तुम्लेट तथा कापी र पेन्सिल एकसाथ मगाए । अहिले हामी त्यहि बाँडिरहेका छौं ।
मलाई मुम्बईको ‘वर्धमान संस्कार धाम’ नामक संस्थाले सहयोग पठाइरहेको छ । मेरा ती साथीहरूले जे चाहिन्छ, निर्धक्क भन, हामी सहयोग गर्न तयार छौं भनिरहेका छन् । अहिले राहत सामग्रीमा भन्सार शुल्क लाग्न थालेपछि सामग्री आयात बन्द गरेका छौं । बरु कुनै एउटा गाउँलाई राम्रोसँग माथि उठाउन कम्मर कसेर लागेका छौं । यसका लागि हामीले दोलखाको मुडे गाउँलाई छानेका छौं । उक्त गाउँमा रहेको विद्यालय भवनलाई पक्की बनाउने अनि त्यसलाई पुस्तकालय, कम्प्युटर, खेलकुद सामग्रीले सुसज्जित तुल्याउने तथा प्राविधिक शिक्षा दिएर त्यहाँका बालबालिकालाई आत्मनिर्भर बनाउने योजना बनाएका छौं । यसका लागि हामीले ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेका छौं । सानो गाउँ भएकाले यति पैसा लगानी गर्दा त्यो गाउँ उठ्छ भन्ने हामीलाई लागेको छ ।
यो भूकम्पपछि युवा, सुरक्षा निकाय तथा विदेशमा बस्ने नेपालीहरूको योगदान स्मरणीय रह्यो । यस्तै भावना रहे हामी नेपाललाई बनाउन सक्छौं भन्ने विश्वास पलाएको छ । सबैभन्दा ठूलो कुरा विदेशमा बस्ने नेपालीहरूका बारेमा विकसित गलत सोच पूर्ण रूपमा पखालिएको छ । विदेश गएका नेपालीहरूले नेपाललाई माया गर्दैनन् भन्ने जुन दुर्भावना फैलाइएको थियो, अहिले आएर त्यो झूटो प्रमाणित भएको छ । त्यसैले अहिले विदेशमा बस्ने सबै नेपाली खुसी छन् ।