परम्परागत सोचाइमा परिमार्जन
परम्परागत सोच राख्ने अभिभावकहरू अहिले पनि आफ्ना सन्तानलाई डाक्टर वा इन्जिनियर नै बनाउन चाहन्छन् । यो ट्रेन्डमा अहिले धेरै परिवर्तन आइसकेको छ । यो भन्दा नयाँ र सहज तथा वर्तमान विश्वमा लोकप्रिय विभिन्न विषयको अध्यापन अहिले नेपालमा समेत हुन्छ । त्यसैले आफूलाई कुन विषय राम्रो लाग्छ, त्यसको पहिचान गरेर त्यसैअनुरूप अभिभावकलाई समेत जानकारी प्रदान गर्नु राम्रो हुन्छ । यसका बारेमा साथीभाइ वा अग्रजहरूबाट आवश्यक सल्लाह लिन सकिन्छ ।
रुचिको पहिचान
चलचित्र ‘थ्री इडियट्स’ ले विद्यार्थीहरूलाई एउटा प्रेरणामूलक सन्देश प्रदान गरेको छ । फोटोग्राफीमा रुचि भएका फरहान आफ्ना बुवाको दबाबमा इन्जिनियरिङमा भर्ना भए, तर उनको रुचिलाई साथी आमिर खानले पत्ता लगाएर उनको बुवासँग यसका बारेमा कुरा गर्न प्रेरित गरे । त्यसपछि नै फरहानमा आत्मविश्वास पलायो । यो एउटा चलचित्र मात्र नभएर विद्यार्थीहरूको वास्तविकता पनि हो । आफ्नो रुचिको विषयमा अभिभावकहरूलाई सहमत गराउने प्रयास गर्नु राम्रो हुन्छ ।
आफ्नो पहिचान
कतिपय अभिभावक आफ्ना कुरामा अडिग हुन सक्छन् । आफ्ना सन्तानको भविष्यका लागि नै उनीहरूमा यस्तो धारणा विकसित हुनसक्छ । त्यसैले आफ्नो कुरामा ध्यान नदिए पनि चिन्ता लिनु हँुदैन । यसका लागि अभिभावकहरूलाई पनि केही समय लाग्न सक्छ । अभिभावकले पनि आफ्ना सन्तानका विभिन्न गतिविधि निगरानी गरिरहेका हुन्छन् । विभिन्न क्षेत्रका व्यक्तिहरूसँग यसका बारेमा सल्लाह लिइरहेका हुन सक्छन् । त्यसैले यी कुरालाई ध्यानमा राखेर बिस्तारै निर्णय गर्नुपर्छ ।
आफ्नो योग्यतामा ध्यान
कतिपय क्षेत्र अध्ययन गर्न विभिन्न योग्यताको आवश्यकता पर्न सक्छ । पाइलट, डाक्टर, सैन्य अधिकारी आदि बन्न पनि त्यहीअनुरूपको योग्यता वा परीक्षामा राम्रो अंक हुनु आवश्यक छ । आफूमा त्यस्तो योग्यता छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।
खुला आकाश
पहिले अध्ययनका लागि थोरै र निश्चित विषय मात्र उपलब्ध थिए, तर अहिले विषयगत विविधता छ । एक्टिङ, पेन्टिङ, डिजाइनिङ, फेसन टेक्नोलोजी, राइटिङ, स्पोर्ट्स आदि विविध क्षेत्रमा करियर निर्माण गर्न सकिन्छ । विविध क्षेत्रमा एन्टरप्रेनरसिप वा स्टार्ट अपका रूपमा पनि कार्य गर्न सकिन्छ । यी सबै क्षेत्रमा अपार सम्भावना छन् । राम्रो काम गरे देशमा मात्र नभै विदेशमा समेत काम पाउन सकिन्छ । त्यसैले निश्चित लक्ष्य लिएर त्यसै अनुसार कार्य गर्नुपर्छ ।
सर्वश्रेष्ठ बन्ने प्रयास
कुनै पनि क्षेत्रमा राम्रो काम पाइन्छ, तर त्यसका लागि आफूमा विशेष योग्यता छ भन्ने कुरामा विश्वस्त हुनु आवश्यक छ । यसका लागि वर्तमान विश्वमा भैरहेका विविध प्रविधिका बारेमा जानकार र अपडेट भैरहनु आवश्यक छ । आफूले जुन क्षेत्र रोजिन्छ, उक्त क्षेत्रमा आफूलाई अब्बल सावित गर्नु आवश्यक छ ।
पैसा आर्जन
आजको संसारमा धन मूल्यवान् छ । यद्यपि यो पैसा कमाउन आवश्यक समय होइन, तर पनि आफुमा कुनै कामप्रति रुचि र सीप छ भने त्यसलाई धन आर्जनका लागि प्रयोग गर्न सकिन्छ । दैनिक प्रयोजनका लागि आवश्यक विभिन्न कार्यदेखि लिएर विभिन्न क्षेत्रमा आफ्नो क्षमता हुनसक्छ । त्यसैले यस्ता कार्यमा लाग्नु राम्रो हो । त्यसबाहेक साहित्य लेखनमा लाग्न वा विभिन्न क्षेत्रका गतिविधिका बारेमा विभिन्न पत्रपत्रिकामा लेख पठाउन सकिन्छ ।
सफाइ अभियान
लामो समयको परीक्षाका कारण घरमा सफाइ गर्न पनि बाँकी हुनसक्छ । कोठामा पुस्तकहरू यत्रतत्र छरिएका हुन सक्छन् । आफ्ना कपडा वा बेडरुमका सामानहरू सफा गर्नुपर्ने हुनसक्छ । फुर्सदको यो समयमा ती सबै कार्य गर्दा पनि फाइदै हुन्छ ।
रुचिका सामग्री संकलन
स्कुले जीवनमा आफ्ना रुचिका सामग्री धेरै हुन सक्छन् । आफूलाई मन लागेका लेख वा पत्रिकाहरू हुन सक्छन् । ती सबैलाई एकै स्थानमा जम्मा गरेर राख्दा भविष्यमा निकै सहयोग मिल्न सक्छ । हेर्दा सामान्य लागे पनि ती सामग्रीले भविष्यमा धेरै नै फाइदा पुर्याउन सक्छन् । त्यसैले फुर्सदमा यस्ता सामग्री संकलन गर्नु उपयुक्त हुन्छ ।
इनबक्स सफा
आफ्नो इमेल एकाउन्टलाई धेरैले अपडेट गरेका हँुदैनन् । उक्त एकाउन्टमा विभिन्न नचाहिँदा इमेल पनि बसिरहेका हुन्छन् । समय–समयमा ती इमेल डिलिट गर्नु आवश्यक हुन्छ । व्यस्तताका कारण त्यो कार्य गर्न पनि भ्याइएको हँुदैन । त्यसैले फुर्सदको यो समयमा इमेलको इनबक्स सफा गर्न सकिन्छ ।
नेटवर्क कनेक्सन
परीक्षा र अन्य कारणले इमेल वा विभिन्न सोसल नेटवर्कमा साथीभाइसँग सम्पर्क नभएको हुनसक्छ । त्यसैले फुर्सदको यो समयमा उनीहरूसँग रिकनेक्ट हुन सकिन्छ । उनीहरू सबैलाई आफ्नो नेटवर्क सर्कलमा वेलकम गरेको म्यासेज पठाउन सकिन्छ ।
पुराना साथीहरूसँग सम्पर्क
फुर्सदको यो समयमा पुराना साथीलाई सम्झन सकिन्छ । विविध कारणले ती साथीहरूसँग सम्पर्क नभएको लामो समय भएको हुन सक्छ । यो समयमा कुन–कुन साथीसँग सम्पर्क विच्छेद भएको छ सोच्न सकिन्छ । एउटा लिष्ट बनाएर उनीहरूको खोजी गर्न सकिन्छ । फेसबुक वा अन्य सामाजिक सञ्जालमा ती साथी भेटिने सम्भावना प्रशस्त हुन्छ ।
बाँकी कार्य
फुर्सदको समयमा कुनै पनि कार्य गर्न बाँकी राख्नु हुँदैन । आफ्नो व्यक्तिगत कार्यका साथै घरको काममा पनि सहयोग गर्न सकिन्छ । विद्युत् वा टेलिफोनको बिल तिर्नेदेखि लिएर यस्ता अनेक कार्य गर्न सकिन्छ ।
स्वस्थता
स्वास्थ्य नै धन हो । अध्ययनको समयमा स्वास्थ्यका लागि कम मात्र समय छुट्याइएको हुनसक्छ । त्यसैले स्वास्थ्यका लागि विभिन्न अभ्यास गर्न सकिन्छ । मर्निङ वाक, जगिङ आदि गर्नुका साथै विभिन्न मेडिटेसन, योग आदि सिक्नु पनि लाभदायक हुन्छ ।