साप्ताहिक संवाददाता
समस्यामा जेनिफर
अभिनेत्री एवं गायिका जेनिफर लोपेजलाई २ वर्षसम्मको सजाय हुन सक्ने देखिएको छ । हालै मोरक्कोमा एक म्युजिक पर्फमेन्सका क्रममा भड्किलो प्रस्तुति दिएको भन्दै उनीमाथि आरोप दर्ता भएको छ । गत मेको अन्तिममा मोरोक्कोको राजधानी राबातमा मवाजिन वल्र्ड रिदम्स इन्टरनेसनल म्युजिक फेस्टिबलका क्रममा जेनिफरले जोडदार डान्स प्रस्तुति दिएकी थिइन्, जसको टेलिभिजनमा लाइभ प्रसारण भएको थियो, तर मोरक्कोका प्रधानमन्त्री अब्देला बेंकिरानेलाई उनको त्यो प्रस्तुति मन परेन् । उनले जेनिफरको नृत्यलाई अश्लील भन्दै त्यो आफूहरूका लागि अपमानजनक भएको बताए । समाचारअनुसार अब्देलाले अथोरिटी अफ अडियो भिज्युअल कम्युनिकेसनलाई जेनिफरविरुद्ध कानुनी कारबाही गर्न भनेका छन् ।
डेटमा पेरिस हिल्टन
चर्चाकी महारानी पेरिस हिल्टन फेरि अर्को नयाँ टपिक्सका कारण समाचार बनेकी छिन् । वरिष्ठ सामाजिक हस्तीसमेतको उपाधि पाएकी पेरिस हालका दिनमा एक करोडपति व्यवसायीसँग डेटमा मस्त छिन् । स्पेनिस आइल्यान्ड फरमेन्टराको नजिक एक यात्री जहाजमा थोमस ग्रास नामका व्यवसायीका साथमा रोमान्समा मस्त भैरहेको अवस्थामा पेरिसलाई देखिएको समाचारमा उल्लेख छ । थोमस २० करोड डलर सम्पत्तिका मालिक हुन् । वेबसाइट डेलिमेल डट युकेका अनुसार यो नयाँ जोडी १ महिनादेखि एकअर्कालाई डेट गरिरहेका छन् र दुवै यो सम्बन्धबाट अत्यधिक सन्तुष्ट देखिन्छन् । सूत्रका अनुसार यी दुईको भेट कान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भएको थियो र त्यहींबाट उनीहरूको प्रेम सुरु भएको थियो । थोमसको विनम्र स्वभावले उनको मन जितेको छ ।