साप्ताहिक संवाददाता
निर्देशक : पीट डोक्टर
आज शुक्रबार सार्वजनिक हुने हलिउड चलचित्र ‘इनसाइड आउट’ एनिमेटेट चलचित्र हो । यो कार्टुन चलचित्रले बालबालिकाहरूलाई आकर्षित गर्ने पक्का छ । ६८ औं कान्स अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दर्शकको सकारात्मक प्रतिक्रिया पाइसकेको यो चलचित्र नेपालमा समेत प्रदर्शन हुँदैछ । चलचित्रलाई ओस्कार विजेता पिट डक्टरले निर्देशन गरेका हुन् । उनले चलचित्रमार्फत दर्शकहरूको दिमाग भित्र खेलिरहने कुरालाई अभिव्यक्त गरेका छन् । डिज्नी–पिक्सरको यो चलचित्र रिली नाम गरेकी युवतीको पालनपोषणमा आधारित छ, जसका बुवाले सन फ्रान्सिस्कोमा राम्रो जागिर पाउँछन् । उनी पनि बुवासँगै नयाँ ठाउँमा बसाइँ सर्छिन् । नयाँ ठाउँमा रिलीले केही नयाँ साथी फेला पर्छिन् । जोय (एमी पोलर), फियर (बिल हडर), एंगर (लेविस ब्ल्याक), डिस्गस्ड (मिंडी केलिङ) तथा स्याडनेस (फिलिस स्मिथ) सँगको मित्रतापछि रिलीले नयाँ जीवन पाएको अनुभव गर्छिन् । चलचित्रकी मुख्य पात्र रिलीलाई अभिनेत्री केट्लिन डिजायले आवाज दिएकी छिन् ।
एबीसीडी–२
निर्देशक : रेमो डि’सुजा
कलाकार : वरुण धवन, श्रद्धा कपुर तथा प्रभु देवा ।
संगीतकार : सचिन–जिगर
बलिउडको चलचित्र ‘एबीसीडी–२’ को सार्वजनिक प्रदर्शन आज शुक्रबार हुँदैछ । चलचित्रको पूर्ण शीर्षक ‘एनी बडी क्यान डान्स–टु’ अर्थात् जो पनि नाच्न सक्छ हो । अभिनेता सिद्धार्थ रोय कपुरले निर्माण गरेको यो चलचित्र नृत्यमा आधारित छ । चलचित्रमा वरुण धवन, श्रद्धा कपुर तथा प्रभु देवा केन्द्रीय भूमिकामा छन् । सन् २०१३ मा निर्माण भएको ‘एबीसीडी’ को यो सिक्वेल चलचित्रमा विष्णु (प्रभु देवा), विनी (श्रद्धा कपूर) तथा सुरेश (वरुण धवन) को नृत्य संघर्षलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।
भारतमा संघर्ष गर्दागर्दै उनीहरू अन्तर्राष्ट्रिय स्तरको हिपहप नृत्य प्रतियोगितामा भाग लिन्छन् । सुरेश र बिनी आफ्ना नृत्यका शिक्षक विष्णुलाई सम्मान दिन उक्त प्रतियोगिता जित्न चाहन्छन् । त्यसका लागि उनीहरू तीनै जना अमेरिकाको लस भेगास प्रस्थान गर्छन् । चलचित्रको अधिकांश कथा उनीहरूले प्रतियोगितामा भाग लिएको तथा जित्नका लागि गरेको संघर्षमा केन्द्रित छ । यो चलचित्रका १० गीतमा डेढ दर्जन गायक–गायिकाको पाश्र्व गायन छ ।