साप्ताहिक संवाददाता
हो, म त्यो समयमा नक्सालको तीन तलामाथिको भर्जिन स्टुडियोभित्र आफ्नी ६ वर्षीया छोरी ग्रीष्मा शिवाकोटीको बालगीतको सम्पादन गरिरहेको थिएँ । दौडेर तल जान लागेको थिएँ, रेकर्डिस्ट एजिन राईले रोकेर मात्र जोगिएँ ।
तपाईंको दोलखाको घर ध्वस्त भएको खबर पनि आयो ?
दोलखाको सुनखानी नजिकैको गाउँ सुप्पा क्षमावतीमा हाम्रा चारवटै घर ध्वस्त भए । अहिले पनि मेरो परिवार त्यहाँ त्रिपाल तथा अस्थायी टहरामा आश्रित छ ।
तपाईंले संगीत दिएको दीप बनोस्... गीत यही बेला लोकप्रिय भएको छ । यो गीत भूकम्पकै लागि तयार पार्नुभएको हो ?
यो गीत करिब १० महिनाअघि नै रेकर्डिङ भएको हो । गत वर्ष बाढीपहिरोले निम्त्याएको विपत्तिपछि विनोद बञ्जाराको शब्दमा यो गीत तयार पारिएको थियो । हरेक विपत्तिका लागि सुहाउँदो यो गीतले अहिले भूकम्पपछि बढी चर्चा पाएको छ ।
भूकम्पपछि विपत्तिसम्बन्धी गीत तयार पार्ने लहर नै चलेको छ, तपाईंले कतिवटा गीत बनाउनुभयो ?
मैले ‘शुभ शुभ बोलौं’ तथा ‘खबरदार’ शीर्षकका दुईवटा गीत तयार पारेको छु । भूकम्प भन्ने शब्द त प्रयोग गरेको छैन तर विपत्तिपछि कसरी एक जुट हुने र संयमित रहने भन्ने सन्देश दिन खोजिएको छ ।
बजारमा अहिले ५० भन्दा बढी यस्ता गीत आएका छन्, यति धेरै गीतको आवश्यकता थियो र ?
मैले यसलाई सांगीतिक राहतका रूपमा लिएको छु । ती गीत रेकर्ड गर्दा हुने लगानीले प्राविधिकहरूलाई व्यस्त बनायो, उनीहरूलाई रोजगारी दियो । तीमध्ये कतिपय गीत रेकर्ड भैरहँदा आइरहेका पराकम्पहरूलाई बेवास्ता गर्दै आफ्नो कर्मलाई निरन्तरता दिने संगीतकर्मीहरूलाई म सलाम गर्छु ।
भूकम्पका कारण तपाईंको सांगीतिक कर्म कत्तिको प्रभावित भयो ?
मेरो मात्र होइन, अधिकांश संगीतकर्मीको काम प्रभावित परेको छ । मैले संगीतबद्ध गरेका मात्र करिब एक दर्जन गीत रेकर्डिङका लागि तयार थिए । करिब एक महिनासम्म ती गीत रेकर्ड हुन सकेनन् । बिस्तारै स्टुडियोहरू सक्रिय भैरहेका छन् । क्रमश: ती कामहरू पूरा गर्दैछु ।