साप्ताहिक संवाददाता
उपत्यकामा सञ्चालित सबै बुटिकमा अहिले गर्मी मौसमका पहिरनको अर्डर आउने क्रम बढेको कुपन्डोलस्थित सी बुटिकका सञ्चालक संगीत श्रेष्ठ बताउँछन् । श्रेष्ठ भन्छन्, ‘डिजाइनर पहिरनप्रति महिलाहरूको आकर्षण बढ्दो छ । गर्मीका लागि शीतलता प्रदान गर्ने र पसिना सोस्ने पहिरन नै सबैको छनोटमा पर्ने न्युरोडस्थित इगल आइजकी राधा ढकाल बताउँछिन् । गर्मीमा युवतीहरू वानपिस, वेस्टर्न गाउन, इन्डियन गाउन, स्कर्ट, टप्स, कुर्ती, कुर्ता–सुरुवाल, लेहङ्गा लगाउन रुचाउँछन् । गर्मीमा युवतीहरूले असाध्यै रुचाउने पहिरन वानपिस हो । गर्मीमा पातलो लुगा लगाउन उपयुक्त हुने भएकाले पनि यो पहिरनप्रति युवतीहरूको रुचि बढेको हो । यो पहिरन डिजाइन गर्न पनि खासै समय लाग्दैन । वानपिसलाई आधुनिक पहिरनका रूपमा लिइन्छ । नयाँ तथा स्टाइलिस्ट पहिरनको माग जति नै बढे पनि वानपिसलाई सदावहार मानिन्छ ।
यट्खा टोलस्थित टिपाज् क्रिएसनका डिजाइनर प्रेम देवले आफ्नो बुटिकमा गर्मी मौसमका लागि कटनका कुर्ता, कुर्ती, टप्स, पेन्ट, स्कर्ट, समर कोट आदि भित्र्याएका छन् । अघिल्ला वर्षको तुलनामा यो वर्ष बुटिकका पहिरनप्रति मानिसको आकर्षण थप बढेको देव बताउँछन् ।
बागबजारस्थित सिटी स्क्वायर वान्टु वेयरका डिजाइनर पुरु तण्डुकारलाई अहिले गर्मीका पहिरन तयार गर्न भ्याइ–नभ्याइ छ । तण्डुकार भन्छन्, ‘पछिल्लो समय बुटिकका पहिरनप्रति आममानिसहरू निकै सचेत देखिन्छन् । अहिले मध्यमवर्गको रुचि पनि बुटिकतर्फ छ । केही वर्ष अघिसम्म उच्च वर्गका मानिसले मात्र बुटिकका पहिरन लगाउने चलन थियो । समय परिवर्तनसँगै मानिसहरू कपडा र डिजाइन दुवैको गुणस्तर र उपयोगिता हेर्न थालेका छन् । त्यसैले पनि बुटिकप्रतिको आकर्षण बढ्दै गएको हो ।’