साप्ताहिक संवाददाता
यद्यपि नेपाली पौडीको परम्परा ठीक उल्टो छ । धेरैले राम्रा खेलाडीले अध्ययनका लागि पौडीलाई त्यागेर विदेश रोजेका छन् । त्यसैले गौरिकाप्रति पनि विश्वास गरिएको थिएन, तर लन्डनमा व्यवसायिक प्रशिक्षकसँग प्रशिक्षण लिइरहेकी गौरिका फेरि सातदोबाटोमा डुबुल्की मार्न आइपुगिन् । राष्ट्रिय पौडीमा उनको सुरुवात जति दमदार थियो, निरन्तरता पनि उत्तिकै प्रभावशाली रह्यो । गएको साता सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा ६ वटा कीर्तिमान बनाएर उनी फेरि चर्चाको शिखरमा रहिन् ।
गौरिकाले पहिलो दिन १ सय मिटर फ्रिस्टाइल १ मिनेट ३ दशमलव ९१ सेकेन्ड, १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट २६ दशमलव ७२ सेकेन्ड तथा २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट ३७ दशमलव ८७ सेकेन्डसहित कीर्तिमान बनाएकी थिइन् । फ्री स्टाइलमा सोफिया शाहले गत वर्ष बनाएको कीर्तिमानलाई उछिनेकी गौरिकाले ब्रेस्टस्ट्रोकमा विविधा रिमालको आठ वर्ष पुरानो रेकर्ड तोडेकी हुन् । ब्याकस्ट्रोकमा भने उनले आफ्नै गत वर्षको रेकर्ड सुधारेकी हुन् ।
सुधारिएको खेल प्रस्तुत गर्ने क्रममा उनले दोस्रो दिन २ सय मिटर फ्रिस्टाइल २ मिनेट १९ दशमलव ७२ सेकेन्ड तथा १ सय मिटर ब्याकस्ट्रोक १ मिनेट १३ दशमलव १३ सेकेन्डमा पूरा गर्दै गत वर्ष बनाएको आफ्नै कीर्तिमान तोडेकी हुन् । गौरिकाले ५० मिटर फ्रिस्टाइलमा सोफिया शाह (२९ दशमलव ५३ सकेन्ड) को कीर्तिमानलाई पनि ९ सेकेन्डले पछाडि पारेकी थिइन् । यसपल्टसहित उनको नाममा नेपाली पौडीको नौ स्पर्धामा कीर्तिमान बनेको छ ।
निहारिका तुलाधरले ५० मिटर ब्रेस्टस्ट्रोकमा ११ वर्ष पुरानो विविधा रिमालको ४० दशमलव ०७ सेकेन्ड (साग–२००४) को कीर्तिमान भंग गरिन् । उनले ३९ दशमलव ८१ सेकेन्डमा उक्त दूरी पार गरेकी थिइन्, तर सर्वाधिक सफलताका हिसाबले पनि चर्चा गौरिकाकै भैरहेको छ ।
गत वर्ष सर्वाधिक कीर्तिमान र सर्वाधिक स्वर्ण जितेर पनि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कारबाट वञ्चित गौरिका यसपल्ट भने सर्वोत्कृष्ट खेलाडी चुनिइन् र १६ औं फिना विश्व पौडी च्याम्पियनसिपका लागि छनोट भइन् । रियो ओलम्पिक २०१६ छनोटका रूपमा पनि रहेको विश्व पौडी च्याम्पियनसिप जुलाई २८ देखि अगस्त ८ सम्म रूसको कजानमा हुनेछ । त्यसमा गौरिकासँगै किरण कार्की, शिरीष गुरुङ तथा सोफिया शाहले नेपालको प्रतिनिधित्व गर्नेछन् । शिरीष र सोफिया हाल बैंककमा प्रशिक्षणरत छन् ।
अब विश्व च्याम्पियनसिपका लागि राम्रो तयारी गर्ने अभियानमा लाग्ने गौरिकाले बताइन् । यसपल्टको सफलतासँगै उनलाई शान्ति शिक्षा अभियान नेपालले सद्भावना दूत पनि बनाएको छ । सहयोगी भावनाकी गौरिकाले कीर्तिमान बनाएर हात पारेको ३० हजार रुपैयाँमा त्यति नै रकम थपेर भूकम्पपीडितका लागि उपलब्ध गराएकी छिन् ।