साप्ताहिक संवाददाता
नक्कलीलाई सक्कली
भूकम्पपीडित कलाकार घनश्याम गौतमलाई एमाओवादी नेता पुष्पकमल दाहाल प्रचण्डले भेटेरै सहयोग गरेका छन् । टेलिश्रृंखला तथा स्टेज कार्यक्रममा प्रचण्डकै नक्कल गरेर चर्चामा आएका कलाकार गौतमलाई नेता दाहालले गत सोमबार कटुञ्जे, भक्तपुर पुगेर भेटेका हुन् । प्रचण्डले घनश्यामसँग उनको समस्याका बारेमा जानकारी लिँदै भूकम्पपीडितहरूका लागि घर बनाउन सरकारले दिने भनेको सस्तो ऋण निकासाका लागि पहल गर्ने बताए । कटुञ्जे क्षेत्रमा भूकम्पबाट प्रभावित भएका स्थानीय बासिन्दाहरूका लागि दाहालले २ वटा ठूला टेन्ट पनि दिए । दाहालले आफूसंग लगेको टेन्ट, चामल, चिउरा घनश्याममार्फत नै स्थानिय पीडितहरूलाई वितरण गर्न आग्रह गरेका थिए ।
विद्यालयमा बल्छी
‘मेरी बास्सै’ का बल्छी धुर्वे अर्थात् मरिचमान श्रेष्ठ यतिबेला टेलिश्रृंखलाको छायांकनस्थलभन्दा टाढा गोरखाका विद्यार्थीमाझ रमाउन थालेका छन् । भूकम्पले गोरखाको ताकुकोटस्थित आफ्नै घर भत्किए पनि मरिचमानले ४० भन्दा बढी विद्यालयका विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरिसकेका छन् । बल्छी धुर्वेकै गेटअपमा प्रस्तुत हुँदै मरिचमानले हास्य प्रस्तुतिमार्फत बालबालिकाहरूको अनुहारमा हाँसो ल्याइरहेका छन् । मरिचमानले व्यक्तिगत खर्चमा ५० भन्दा बढी विद्यालय पुगेर हास्य कार्यक्रम प्रस्तुत गर्ने योजना बनाएका छन् ।