टेलिभिजन रियालिटी शो स्टार किम कार्दशिन शिशुहरूका लागि ह्यान्ड ब्यागदेखि सुजसम्मको डिजाइनमा सक्रिय भएकी छिन् । किमकी दुई वर्षीया छोरी नर्थलाई यस प्रकारका एसेसरिजमा रुचि भएकाले पनि यो काममा आफूलाई संलग्न गराउन उपयुक्त मानेको किमको तर्क छ । किमले यो साता बालबालिकाहरूसँग सम्बन्धित किड्स एसेसरिजको अनलाईन रेन्ज लन्च गर्ने बताएकी छिन् । यसमा डिजाइनर सुज, ह्यान्ड ब्याग, किड्स टोय, ग्याजेस्ट आदि सामेल गरिनेछन् । किमका अनुसार उनकी छोरी फेन्सी सुजकी क्रेजी हुन् । हरेक बिहान उठ्नेबित्तिकै उनी फेन्सी सुज नै खोज्छिन्, किमका अनुसार उनले छोरीका लागि महँगा–महँगा टोय खरिद गरिदिएकी छिन् । केही दिनअघि उनले छोरीलाई ६० हजार रुपैयाँ पर्ने क्यामेरा गिफ्ट दिएकी थिइन् । छोरीको स्पेसल केयरका क्रममा बजारमा बालबच्चाका लागि राम्रा एसेसरिजको अभाव महसुस गरेर यो क्षेत्रमा हात हालेको किमको दाबी छ ।टेलरको दबाब
गायिका टेलर स्विफ्टले हालै लेखेको एउटा खुलापत्रले एप्पल कम्पनीलाई आफ्नो निर्णय फिर्ता लिन बाध्य बनाएको छ । एप्पलले जून ३० मा लन्च गर्ने तयारी गरिरहेको म्युजिक एप्लिकेसनले तीन महिनाको परीक्षणकालमा कलाकारलाई कुनै रोयल्टी नदिने बताएको थियो । अमेरिकालगायत विश्वका अन्य विकसित मुलुकमा अनलाइन संगीत सुन्ने श्रोता बढ्न थालेपछि एप्पलले पनि आईट्युनपछि एप्पल म्युजिक लन्च गर्ने तयारी गरिरहेको थियो । एप्पलले एप्लिकेसन लन्चको अन्तिम तयारी गरिरहेका बेला गायिका स्विफ्टले त्यसको विरोध गर्दै आफ्नो नयाँ एल्बम ‘१९८९’ एप्पल म्युजिकमा राख्न नदिने बताएकी थिइन् । त्यसलगत्तै एप्पलका एक उच्च अधिकारी एडी क्यूले कम्पनीको परीक्षणकालको नीतिमै परिवर्तन गरिने जानकारी दिएका छन् ।