साप्ताहिक संवाददाता
नेपाल देश प्यारो छ
गायक प्रमोद निर्माणले गाएको ‘नेपाल देश प्यारो छ’ गीतको म्युजिक भिडियो शनिबार ललितपुरमा प्रिमियर गरिएको छ । गायक निर्माणकै शब्द तथा संगीतको यो गीतले भूकम्पको पीडा बोलेको छ । गीतमा नायो गुरुङको पनि स्वर सुन्न सकिन्छ । अनुप गिरीद्वारा निर्देशित यो भिडियोमा राजेश महर्जनले अभिनय गरेका छन् ।
गर्व
गायक राजन ठकुरीले राष्ट्रिय गीतहरूको एल्बम ‘गर्व’ तयार पारेका छन् । लोकदोहोरी गीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक ठकुरीले यसअघि आधुनिक गीति संग्रह ‘परीक्षा’ बजारमा ल्याइसकेका छन् । गायक ठकुरीले ‘गर्व’ एल्बममार्फत माटो र जन्मभूमिप्रतिको माया, ममता तथा आफ्नो कर्तव्य उजागर गर्ने प्रयास गरेका छन् । एल्बमका आठवटा गीतमा गायक ठकुरीकै शब्द तथा संगीत सुन्न सकिन्छ ।
म हुँ नेपाली...
गायक विजय लामाले गाएको राष्ट्रिय गीत ‘म हुँ नेपाली...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बबीराज घतानीको शब्द तथा संगीतको यो गीतको भिडियोको निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन् । भिडियोमा गायक लामा नेपाली सेनाको भूमिकामा प्रस्तुत भएका छन् ।