साप्ताहिक संवाददाता
यतिबेला एसएलसी परिक्षार्थीहरूमा केन्द्रित आधा दर्जनभन्दा बढी प्रतियोगिता प्रशिक्षणको चरणमा छन् । सिजन मिडियाको आयोजनामा एसएलसी प्रिन्सेस प्रतियोगिताका ४८ जना सहभागी आगामी असार १९ गते कमलादीस्थित प्रज्ञाभवनमा सम्पन्न हुने ग्रान्ड फिनालेका लागि तयारी गरिरहेका छन् । यो वर्ष पहिलो पटक आयोजना भैरहेको मिस एसएलसी नेसनल–२०१५ तथा मिस्टर एसएलसी नेपाल–२०१५ पनि हो । युहान इन्टरनेसनल इभेन्टले आयोजना गरिरहेको यी प्रतियोगिताहरूमा मिसतर्फ २५ र मिस्टरतर्फ १७ जना परीक्षार्थी सहभागी छन् । दुवै प्रतिस्पर्धा असार १८ गते जमलस्थित राष्ट्रिय नाचघरमा सञ्चालन हुनेछ ।
असार १७ गते पनि एसएलसीकेन्द्रित दुई प्रतियोगिताले राष्ट्रिय नाचघरमा विजेता चयन गर्नेछन् । रिबन इन्टरटेनमेन्टले आयोजना गर्ने नेपाल्स मिस एसएलसी अफ द इयर–२०१५ मा २६ जना किशोरी तथा मिष्टर एसएलसी–२०१५ मा १४ जना किशोरबीच मुख्य उपाधिका लागि भिडन्त हुनेछ । यी प्रतियोगिताको एक दिनअघि असार १६ गते राष्ट्रिय नाचघरमै मिस टिन एसएलसी–२०१५ ले आफ्नो विजेताको निक्र्यौल गर्नेछ । यो प्रतिस्पर्धामा २६ जना किशारीको सहभागिता छ । यही क्रममा बन्दना कला केन्द्रको मिस एसएलसी–२०१५ प्रतियोगितामा १७ जना किशोरीहरू, ट्रिनिट्री मार्केटिङ एन्ड इभेन्ट म्यानेजमेन्टको मिस एसएलसी आइडल–२०१५ का १० जना किशोरी तथा एएनपी मिडियाको मिस एसएलसी आइकन नेपाल–२०१५ का सहभागीहरू पनि यतिबेला ग्रान्ड फिनालेको तयारीमा जुटेका छन् ।
प्लस टुकेन्द्रित प्रतियोगिताहरू
एसएलसी प्रतियोगितालगत्तै प्लस टु केन्द्रित प्रतियोगिताहरू पनि घोषणा भएका छन् । युहान इन्टरनेसनल इभेन्ट्सले मिस प्लस टु नेपालको आयोजना गर्नेछ भने एएनपी मिडियाले मिस प्लस टु आइकन–२०१५ तथा स्टार वन इन्टरटेनमेन्टले मिस टिन प्लस टु–२०१५ प्रतियोगिताको घोषणा गरिसकेको छ ।
टिनकेन्द्रित प्रतियोगिता
यसबीच टिनएजकेन्द्रित प्रतियोगिताहरूको तयारी पनि भैरहेको छ, जसमध्ये द फेसन प्लसले मिस टिन–२०१५, एक्सन इन्टरटेनमेन्टले मिस टिन आइडल–२०१५, सिजन मिडियाले मिस टिन कलेज तथा इरोज मिडियाले मिस टिन क्विन–२०१५ प्रतियोगिताका लागि आवेदन फारम खुला गरेका छन् ।
मोडल बन्न चाहनेहरूका लागि
मोडलिङमा आफ्नो करियर बनाउन चाहनेहरूमा केन्द्रित प्रतियोगिताहरू पनि आयोजना हुने भएको छ । मोडल बन्न चाहने युवा–युवतीमा केन्द्रित मोडल हन्ट नेपाल–२०१५ को पहिलो चरणको अडिसन यसै साता सम्पन्न भएको छ । यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गर्नेछ । यसैगरी रिबन इन्टरटेनमेन्टले नेपाल्स सुपर मोडल नामक प्रतियोगिताको तयारी गरेको छ भने रियालिटी शोको अवधारणामा सञ्चालन हुने इमेज मेगा मोडल सीजन थ्री पनि पुन: सञ्चालन हुने भएको छ ।
यसैगरी मिस मंगोल नेपाल–२०१५, मिस कलेज नेपाल–२०१५, मिसेज आइकन नेपाल–२०१५, द कलेज एम्बेसडर–२०१५, लिटिल मिस वल्र्ड–२०१५, लिटिल मिस आइडल–२०१५ आदि प्रतियोगिता पनि सञ्चालनको तयारीमा रहेको बताइन्छ ।