एक दर्जन लोकप्रिय कलाकारले मलेसियामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर स्थानीय नेपालीहरूलाई मनोरञ्जन प्रदान गरेका छन् । भूकम्पपीडित नेपालीहरूको सहयोगका लागि आयोजित ‘फ्रेन्डसिप धमाका–२०१५’ मलेसियाका विभिन्न सहरमा सम्पन्न भएको थियो । खोटाङ सेवा समाज मलेसियाको आयोजनामा गत सोमबार सम्पन्न उक्त कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर आकर्षणको केन्द्र थिइन् । कार्यक्रममा करिश्माले विभिन्न नेपाली चलचित्रका गीतमा आकर्षक नृत्य प्रदर्शन गरिन् । हास्य कलाकारद्वय शिवहरि पौडेल तथा किरण केसीले व्यंग्यात्मक प्रहसनमार्फत दर्शकलाई हाँस्न बाध्य बनाए । गायक कमल खत्रीका लोकप्रिय गीत–संगीतमा रमाएका दर्शकहरू गायिका ज्योति मगरको नृत्यसहितको गायनबाट थप हौसिए । कार्यक्रममा गायक सचिन राई, अभिशेक तामाङ, मोडल रश्मि तामाङ, बिक्की पुलामी पनि सहभागी थिए । सांस्कृतिक कार्यक्रमबाट संकलित रकम खोटाङ जिल्लाका भूकम्पपीडितका लागि प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।