जंगलमा पाइने लोक्तालाई प्रशोधन गरेर बनाइएको हाते कागजबाट तयार भएका डायरी उपहारका लागि लोकप्रिय मानिन्छन् । आकर्षक ढाँचामा तयार पारिने यस्ता डायरी विदेशबाट नेपाल घुम्न आएका पर्यटकहरूले कोशेलीका रुपमा खरिद गर्ने गरेका छन् । भक्तपुरमा उद्योग संचालन गरेर डायरी उत्पादन गरिरहेका मातृका खतिवडाका अनुसार नेपाली डायरी सस्तो र आकर्षक ढाँचामा तयार भएकाले अधिकांश पर्यटकको रोजाइमा पर्ने गरेको छ । ‘हामीसँग विभिन्न आकारका ५० देखि ३ सय रुपैंयासम्मका डायरी छन्, ती सबै विदेशीहरूले नै खरिद गर्छन्,’ खतिवडाले बताए । लेखिएको नमेटिने हुँदा चित्र कोर्न हाते कागज लोकप्रिय मानिन्छ । नेपालीहरूबीच पनि विभिन्न महत्वपूर्ण अवसरमा यस्तै डायरी उपहारस्वरूप प्रदान गर्ने चलन बढ्दो छ ।