यतिबेला अधिकांश महिलाको हत्केला मेहन्दीले सजिएको छ । धार्मिक मान्यताअनुसार साउन महिना भनेकै मेहन्दीलगायतका सोह्रश्रृंगारले ठाँटिने महिना हो । त्यसैले के युवती के वृद्धा सबैको हातमा मेहन्दी देखिन्छ । बाटोघाटो, मन्दिर, कार्यालय आदिमा मात्र होइन, सामाजिक सञ्जालहरूमा पनि यतिबेला मेहन्दीको रौनक छाएको छ । खासमा मेहन्दी लगाउने चलन नेपाली होइन । ग्लोबलाइजसेनको अहिलेको जमानामा भारतीय संस्कृति मानिने मेहन्दीको प्रभावबाट नेपाली महिलाहरू मात्र अछुतो रहने कुरै भएन । देखासिकी मै भए पनि नेपालमा मेहन्दीको फेसनले जरा गाडिसकेको छ ।
नेपालमा मेहन्दी लगाउने चलन नयाँ भने होइन । पहिले–पहिले नेपाली महिलाहरू तिउरीको पात पिसेर मेहन्दी लगाउँथे । त्यसरी तिउरीको पात प्रयोग गर्दा अहिलेको जस्तो विभिन्न डिजाइन दिने चलन भने कमै थियो । यतिबेला अधिकांश महिलाले हरियो पहिरन तथा हरियै चुरा, रातो पोतेसहित हत्केलाभरि मेहन्दी सजाएका छन् । किशोरी र वयस्क महिलाका हातमा मात्र होइन, स–साना बालिकाहरूसमेत मेहन्दीमा भेटिन्छन् । व्यस्त तथा व्यवसायिक केन्द्र न्युरोड, रत्नपार्क, असनलगायत उपत्यकाका विभिन्न सडक तथा गल्लीमा मेहन्दी लगाइदिने डिजाइनरहरू पनि असरल्ल फेला पर्छन् । त्यहाँ माहुरीको गोलो झंै हातमा मेहन्दी लगाउने महिलाहरूको भीड देखिन्छ । यो वातावरण साउन महिनभरि जारी रहन्छ ।
साउनमा सोमबार व्रत बस्ने र भगवान् शिवको आराधना गर्ने, हरियो, पहेंलो तथा रातो पहिरनमा सजिने कुराले जति महत्व पाउँछ मेहन्दी लगाउने कुराले पनि उत्तिकै महत्व राख्छ । यद्यपि, धेरैलाई मेहन्दी किन लगाइन्छ भन्ने कुराको खास अर्थ थाहा छैन, तैपनि हरेक युवती तथा महिलाका लागि मेहन्दी आफ्नो सिंगारलाई पूर्णता दिने माध्यम भएको छ । मेहन्दीका बारेमा शास्त्रीय मान्यता खासै केही नभए पनि यसले अहिले व्यापक सामाजिक मान्यता पाएको छ । यसै कारणले पनि मेहन्दी डिजाइनर तथा आर्टिष्टले रोजगारीको नयाँ अवसर पाएका छन् भने अस्ट्ेरलियादेखि अमेरिकासम्म पुगेका नेपाली महिलाहरू समेत मेहन्दीको मोहमा देखिन्छन् ।