म १४ वर्षीया छात्रा हुँ । मेरो महिनावारी सुरु भएको २ वर्ष भयो । पहिले ठिकै रहे पनि विगत केही महिनादेखि महिनावारीमा अति नै पेट दुख्छ । यस्तो पीडा कम गर्न औषधि सेवन गर्नु आवश्यक छ ?
महिनावारीमा अलिअलि पेट दुख्नु स्वभाविक हो । महिनावारीमा पाठेघर संकुचन हुन्छ । यसरी संकुचन भएका कारणले रगत बाहिर निस्कन्छ तर अत्यधिक रक्तश्राव हुन पाउँदैन । त्यही पाठेघरको संकुचन नै पीडाको कारक हो । महिनावारी हुनु भनेको पाठेघरको भित्री तह इन्डोमेट्रियम टुक्रिनु हो । यस क्रममा विभिन्न किसिमका न्युरोट्रास्मिटरहरू (रसायनहरू) निस्कन्छन् । यीमध्ये विशेषगरी प्रोस्टाग्लान्डिन नामक न्युरोट्रास्मिटर पीडाको मुख्य कारक रहेको पाइन्छ । यो अवस्थामा झोल पदार्थ बढी सेवन गर्ने, तातोले सेक्ने तथा आराम गर्ने । सामान्य पीडाका लागि औषधि सेवन नगरे पनि हुन्छ । पीडा धेरै नै भए वा सहन नसक्ने अवस्थामा मात्र औषधि सेवन गर्नु उपयुक्त हुन्छ ।