एउटा तथ्य के निश्चित छ भने दक्षिण एसियाली खेलकुद (साग) का आगामी संस्करणहरू नेपालका लागि थप चुनौतीपूर्ण हुनेछन् । नेपाल बलियो मानिएका खेलमा अरू देशबाट पनि उत्तिकै राम्रा प्रतिस्पर्धी सहभागी हुन थालेका छन् । पदक तालिकामा नेपालको लक्ष्य प्राय: चौथो स्थान रहने गरेको छ । यो भारत, पाकिस्तान र श्रीलंकापछिको स्थान हो ।
विशेषत: अफगानिस्तानको आगमनपछि नेपालले सागमा यही स्थानका लागि अब त्रिकोणात्मक भिडन्त गर्नुपर्नेछ । नेपालले यसका लागि बंगलादेश र अफगानिस्तानसँग संघर्ष गर्नुपर्ने भएको हो । सागको पछिल्लो संस्करण सन् २०१० मा बंगलादेशमा भएको थियो ।
प्रत्येक दुई वर्षमा प्रतियोगिता हुनुपर्ने हो, तर ढाका सागयता पाँच वर्ष बितिसकेको छ । भर्खरै दक्षिण एसियाली खेलकुदको १२ औं संस्करण सञ्चालन हुने संकेत देखिएको छ । केही समयअघि मात्र भारतको नयाँ दिल्लीमा दक्षिण एसियाली देशका ओलम्पिक कमिटीहरूको बैठक बसेको थियो । उक्त बैठकले साग डिसेम्बरमा सम्पन्न गर्ने निर्णय गरेको थियो । पछि उक्त मिति सारेर फेब्रुअरीमा पुर्याइएको छ ।
यसपल्ट प्रतियोगिता भारतको गुवाहटी र सिलोङमा हुनेछ । प्रतियोगिता दुई महिना पछाडि सर्नुको कारण त्यसको तयारी नै हो । सहभागी हुने दक्षिण एसियाका सबै आठ देशले डिसेम्बर भित्रमा पर्याप्त तयारीको अवसर नपाउने जिकिर गरेपछि फेब्रुअरीको नयाँ समय जुराइएको हो । यसका लागि नेपालको तयारी कस्तो हुनेछ ? प्रश्न उठ्न थालेको छ ।
राष्ट्रिय खेलकुद परिषद्मा नयाँ नेतृत्व आएको छ र सदस्य सचिवमा केशवकुमार विष्ट नियुक्त भएका छन् । सदस्य–सचिव विष्टले सागको तयारीमा कुनै कमजोरी नहुने बताएका छन्, तर नेपालको तयारी सुरुवाती चरणमै छ । अहिले तत्काल १२ खेल नियमित प्रशिक्षणमा छन् र अरू खेल पनि यसमा थपिनेछन् । यसको कारण हो— आउने सागमा नेपाल सहभागी हुने खेलहरूको अन्तिम टुंगो नलाग्नु ।
अनुमान के छ भने आउने सागमा लगभग २० खेलमा प्रतिस्पर्धा हुनेछ । एकपल्ट खेलको टुंगो लागेपछि तयारीले अर्को चरणमा प्रवेश पाउनेछ । सदस्य–सचिव विष्टले भनेका छन्, ‘सागका लागि हुने तयारीमा कुनै कमजोरी हुन दिइनेछैन । केही खेलका लागि वैदेशिक प्रशिक्षणको व्यवस्था गरिनेछ भने केही खेलमा नेपालमै प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।’
अहिलेसम्मको तयारीबाट सदस्य–सचिव विष्ट आफैं खुसी देखिएका छैनन् । तयारी व्यवस्थित नभएको उनको ठहर छ । उनको भनाइ छ, ‘प्रत्येक खेलका फरक–फरक विशेषता हुन्छन्, तयारी त्यसैअनुसार हुनुपर्छ र वैज्ञानिक हुनुपर्छ । चेस र भारोत्तोलनको तयारी एकै प्रकारले हुन सक्दैन । त्यसैले यसका लागि चाँडै योजनाको खाका तयार गर्नु पर्छ ।’
राष्ट्रिय खेलकुद परिषद्सामु सागअघि नै राष्ट्रिय खेलकुद सम्पन्न गर्ने चुनौती छ । परिषद्ले सागको तयारीकै रूपमा सातौं राष्ट्रिय खेलकुदलाई पनि लिएको छ । यो छनोटका लागि पनि राम्रो अवसर बन्ने तय छ । लामो समयदेखि नियमित हुन नसकेको राष्ट्रिय खेलकुद यसपल्ट पूर्वाञ्चलमा हुनेछ र त्यसका लागि मंसिर ११ को मिति पनि तय भैसकेको छ । यसपल्ट राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा मोरङ, सुनसरी तथा झापामा हुनेछन् ।
अहिले परिषद्ले आफ्नो पूरा ध्यान राष्ट्रिय खेलकुदमा लगाउनुपर्नेछ । सदस्य–सचिव विष्ट भन्छन्, ‘सागको तयारीका लागि हामी नेपाल ओलम्पिक कमिटीसँग पनि छलफल गर्नेछौं ।’ सागमा नेपालको चुनौती बढेको स्थितिमा तयारी पनि उत्तिकै चुनौतीपूर्ण हुने कुरामा शंका नगरे हुन्छ ।