रारामा मौसम सुहाउँदो खेलको प्रतियोगिता सम्पन्न गर्न सके आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने जुम्लाका धावक हरि रोकायाले बताएका छन् । पर्यटकीय रारामा वाटर पोलो, म्थाराथन, सेलिङ, स्केप बोटिङ, वाटर स्की, साइकिलिङ, ट्रायल बाइकजस्ता खेल मौसमअनुसार सञ्चालन गर्न सके धान्नै नसकिने पर्यटक आउने रोकायाको धारणा छ ।
नेपालका चर्चित धावक रोकायाले भने, ‘रारालाई विश्व जगत्मा चिनाउन तथा पर्यटक ल्याएर आयस्रोत बढाउन साहसिक खेललाई अघि सार्नुपर्छ ।’ रारामा म्याराथन दौडका लागि असोज–कात्तिक महिना उपयुक्त रहेको उनको दाबी छ । राराका विषयमा जो जसले चिन्ता र चासो लिए पनि यहाँ पर्यटक रमाउने वातावरण नभएको रोकायाको कथन छ ।
पाइलट परीक्षणका रूपमा प्रयोग गरिएको प्रथम जुम्ला रारा अल्ट्रामा उल्लेखनीय सहभागिता देखेर रोकाया सार्है खुसी भए । अर्को वर्ष यसमा विदेशीहरू पनि सहभागी हुने उनले बताए । पोखरामा प्याराग्लाइडिङ खेलले गर्दा हजारौं पर्यटक त्यहाँ पुग्छन्, रोकायाले भने– ‘त्यो खेल यहाँ पनि सञ्चालन गर्न सकिन्छ ।’ मुर्माटप–मिलिचौर तथा चुचुमारे–मिलिचौर प्याराग्लाइडङका लागि उपयुक्त स्थान हो, –रोकायाको दाबी छ ।
सुन्दर रारा तालको वरिपरि साइक्लिङ गराउने हो भने पर्यटकलाई पर्याप्त आनन्द उठाउन सक्न्छन्, उनले भने– ‘ताल्चादेखि रारासम्म तथा मुर्माटपदेखि रारासम्म छोटो दूरीको म्याराथन दौड पर्यटकका निम्ति उपयुक्त हुनसक्छ ।’ रारामा बिजुलीका साथै इन्टरनेटका लागि एउटा साइबर अत्यन्तै खाँचो भएको रोकायाको भनाइ छ । घुम्न आएका स्वदेशी–विदेशीले तालको छेउमै बसेर इन्टरनेट चलाउन पाऊन्, उनी भन्छन् । जैविक विविधता जोगाउन र वातावरण प्रदूषण हुन नदिन ताल्चा एयरपोर्टभन्दा माथि कुनै पनि इन्धनका सवारी साधन चलाउन पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्ने धावक रोकायाले बताए ।
राजबहादुर शाही