भूकम्पपछि क्षतिग्रस्त मठमन्दिर एवं स्मारकहरूबाट बहुमूल्य सामान चोरिन थालेका छन् । तीन महिना बितिसक्दा पनि त्यसको लेखाजोखा नहुनु दु:खद कुरा हो । सरकारले यतातिर पनि ध्यान दिनुपर्यो ।
ईश्वर काफ्ले
सिन्धुपाल्चोकको जुरेका पहिरो पीडितहरूले अझै पनि आफ्नो नाममा जम्मा भएको रकम पाएका छैनन् । अझै पनि पालमा बस्नुपर्ने अवस्था छ । यस्तो कष्टकर जीवनबाट मुक्ति प्रदान गर्न सरकारी निकायले तत्काल ध्यान दिनु आवश्यक पर्छ ।
सरोज थापा, सिन्धुपाल्चोक
सरकारले हालै मात्र ग्याँस, मटीतेल र पेट्रोलको मूल्य घटाएर स्वागतयोग्य काम गरेको छ । अब बजारभाउ र गाडी भाडा घटाउन पनि यसरी नै पहल गर्नुपर्यो ।
मनोज पौडेल
भूकम्पपछि पुनर्निर्माणका लागि नेपालमै कामदारहरूको ठूलो खाँचो छ । कामको खोजीमा विदेश जानुभन्दा नेपालमै अवसर खोज्नु राम्रो हुन्छ । ऋण, सापट लिएर विदेश जानुभन्दा नेपालमै पसिना बगाउँदा राम्रो कमाइ हुन्छ भने बाहिर जानु आवश्यक पर्छ ।
प्रेम केसी
कालिकोटको मुम्रास्थित लातागाड खोलामा पुल नबन्दा तीर्थस्थल तथा पर्यटकीय स्थल बडिमालिका पुग्न समस्या छ । काठेपुल भत्किएपछि आवागमनमा बाधा पुगिरहेको छ । वर्षाको समयमा खोलामा पानीको सतह बढेपछि थप समस्या हुने गरेको छ । पुल बनाउन स्थानीय नेता तथा प्रशासनले ध्यान दिनु जरुरी छ ।
लंक केसी
परदेशमा नेपालीहरूले आत्महत्या गर्ने क्रम तीव्र रूपमा बढिरहेको छ । यो गम्भीर समस्यालाई सम्बन्धित देशका राजदूतावासले गम्भीर रूपमा अध्ययन–अनुसन्धान गर्नुपर्छ । यो डरलाग्दो समस्याबाट कुनै पनि नेपालीले पीडित हुनु नपरोस् ।
श्याम खड्का