साप्ताहिक संवाददाता
अनिल बी. गजमेर, अध्यक्ष माई इन्भेस्टमेन्ट ग्रुप
नेपालमा दलित समुदायको अवस्था कति नाजुक छ भन्ने कुरा बताइरहनुपर्दैन । यस्तो अवस्थामा केही दलित यस्ता पनि छन्, जसले आफूलाई त माथि उठाएका छन् नै, समग्र देशको आर्थिक गतिविधि बढाउन सघाइरहेका छन् । खोटाङको सामान्य दलित परिवारमा जन्मिएका अनिल बी. गजमेर यस्तै व्यवसायी हुन् । उनी अध्यक्ष रहेको माई इन्भेस्टमेन्ट ग्रुप नेपालमा मात्र सीमित छैन, कतार, सिंगापुर तथा हङकङमा समेत विस्तार भैसकेको छ । अहिले उक्त कम्पनीको बुक भ्यालु नै १ अर्ब रुपैयाँभन्दा बढी छ । नेपाल आयल निगमको एकाधिकार तोडेर वैकल्पिक पेट्रोलियम पदार्थ आयातको अनुमति पाएपछि अनिल र उनको कम्पनीले ठूलो चर्चा पाएको थियो । छोटो समयमै माई इन्भेस्टमेन्ट ग्रुपलाई विश्वव्यापी बनाउन कम्मर कसेर लागेका अनिलको कथा कुनै चलचित्रको रोमाञ्चक कथाभन्दा कम छैन ।
आफ्नो बाल्यकाल कसरी सम्झनुहुन्छ ?
खोटाङको दुबेमा मेरो जन्म भएको थियो । दुर्गम गाउँमा एउटा दलित परिवारको जस्तो अवस्था हुन्छ, त्योभन्दा धेरै फरक अवस्था थिएन मेरो । पहाडका सबैजसो मानिस मधेसतिर बसाइँ सर्न थालेपछि हामी पनि सुनसरीको धरान हुँदै इनरुवा बसाइँ सर्यौं । मेरो बुवा सुनका गहना बनाउनुहुन्थ्यो । इनरुवामा खोटाङबाटै बसाइँ सरेका बुवाका गुरुङ, क्षेत्री र बाहुन साथीहरू भएकाले उहाँ इनरुवा आउनुभएको हुनसक्छ ।
दलित भएका कारण कुनै हिंसा सहनुपर्यो ?
यस अर्थमा म भाग्यमानी छु । हाम्रो घर इनरुवा बजारमा थियो । सहरमा बहुसांस्कृतिक समाज हुन्छ । मानिसहरू पढेलेखेका हुन्छन् । त्यसैले गाउँमा जस्तो हेपाहा व्यवहार हुँदैन । अहिले पनि तपाईंले दलितभनेर सम्बोधन गर्दा म एकछिन अचम्ममा परें । किनभने मैले सानैदेखि धेरै राम्रा मानिसको संगत पाएँ । असल मानिससँग हिमचिम भएकाले त्यस्तो अवस्था नै आएन । म पढाइमा त ठीकै थिएँ तर नृत्य, खेलकुद एवं अन्य क्रियाकलापमा धेरै अघि थिएँ । त्यसैले सबैले मलाई स्नेह गर्थे, मित्रवत् व्यवहार पाउँथे । म पहिलैदेखि सहज रूपमा घुलमिल हुने, अनुशासित र मेहनती थिएँ । मैले दलित भएको अनुभव कहिल्यै गरिनँ । मेरो अनुभवमा दलितले गरिबी र अशिक्षाका कारण् ा बढी हिंसा सहनुपरेको छ ।
तपाईंसँग आज करोडौं रुपैयाँ छ, पहिलेको अवस्था कस्तो थियो ?
मेरो बुवाको मृत्यु हुँदा म सानै थिएँ । बुवाको देहान्तसँगै सुनारे पेसा पनि बन्द भयो । हाम्रो आर्थिक अवस्था धेरै नै नाजुक भयो । तैपनि आमाले हिम्मत हार्नुभएन । आमाको संघर्षले नै बनेको हो मेरो जीवन । जस्तोसुकै दु:ख गरेर पनि उहाँ मलाई पढाउन चाहनुहुन्थ्यो । उहाँले धेरै दु:ख गरेर मलाई क्याम्पससम्म पढाउनुभयो । मलाई भने पढाइमा भन्दा गायन, नृत्य, वादविवाद, सरस्वती पूजाजस्ता कुरामा रुचि थियो ।
ठूला मानिसको संगत कसरी सुरु भयो ?
मैले सुनसरीको भगवती माध्यमिक विद्यालयमा पढेको हुँ । सडकवारि मेरो स्कुल थियो, सडकपारि सरकारी कार्यालय र आवास । सरकारी आवास गृहमा कर्मचारीहरू बेलुका–बेलुका ब्याडमिन्टन खेल्थे । त्यतिबेला म साथीभाइसँग खेल्न छाडेर ठूला–बडाले खेलेको हेर्न पुग्थें । यसरी खेल हेर्दै जाँदा मैले खेल मात्र सिकिनँ, रेफ्री पनि हुन थालें । कहिलेकाहीँ कोरम नपुग्दा साथी बनें । केही समयभित्रै म डीएसपी, सिडियोका साथै अन्य हाकिमहरूको सानो साथी बनिसकेको थिएँ । सानो बजार भएकाले उनीहरूसँग जुनसुकै बेला भेट हुन्थ्यो । त्यसले गर्दा म फोहोरी भएर बस्ने, अरूसँग गुच्चा वा यस्तै बालसुलभ खेल खेल्न नसक्ने भएँ । त्यतिमात्र होइन, समाज भर्सेस कर्मचारीहरूको खेलकुद प्रतियोगिता हुँदा उनीहरूबीच तालमेल मिलाइदिने व्यक्ति पनि मै हुन्थेँ । ठूला मानिसहरूसँगको संगतले मलाई अनुशासन, शिष्टता र बिनम्रता जस्ता गुण विकास गर्न मद्दत गर्यो । यसलाई मैले जीवनकै मन्त्र बनाएँ, सफल हुनु छ भने असल मानिसको संगत गर्नुपर्ने रहेछ ।
कर्मचारीहरूको संगत गरेर कर्मचारी हुनुपर्ने, व्यापारी पो बन्नुभयो, कसरी ?
म व्यापारीभन्दा पनि इन्टरप्रेनर हुँ । व्यापारीको उद्देश्य पैसा कमाउने मात्र हुन्छ । इन्टरप्रेनरले भने आफूलाई पनि माथि उठाउँछ, सँगसँगै साथीभाइ, समाज र देशलाई पनि माथि उठाउने तरिकाले काम गर्छ ।
सरकारी कर्मचारी नबनेर इन्टरप्रेनर बन्ने सोच कसरी आयो ?
मेरा आवश्यकता धेरै थिए । एक जना दिदी र भाइको जिम्मेवारी मेरै काँधमा थियो । मैले बुवाको देहान्तपछि आमाको दु:ख देखिरहेको थिएँ । म आफ्नो परिवारको मात्र पेट पाल्न चाहन्नथें, समाजमै केही बन्नुपर्छ भन्ने उद्देश्य राख्थें । जुन सरकारी जागिरबाट पूरा गर्न सकिँदैन भन्ने कुरा उनीहरूको संगतबाटै थाहा पाएँ । सम्पन्नताले हरेक कुरा अनुकूल बनाउँछ । कुनै पनि मानिस पैसा भएको मानिससँग संगत गर्न रुचाउँछ । राम्रो खाने, लगाउने, विदेश घुम्ने सबै काम सम्पन्नताबाटै सम्भव छ । जीवनमा के गर्ने भन्ने कुरा गम्भीर रूपले मनन गर्दै जाँदा म उद्योग–व्यवसाय नै गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको थिएँ ।
व्यापारको सुरुवात कसरी गर्नुभयो ?
एसएलसी उत्तीर्ण गरेपछि म इनरुवाबाट विराटनगर गएँ । उद्योग–व्यापार गर्ने उद्देश्य भएकाले मानविकी होइन व्यवस्थापन पढ्नुपर्छ भन्ने लाग्यो । घरबाट पैसा पठाउन सम्भव थिएन । त्यसैले भारतीय सीमा जोगबनीबाट भन्सारमा विद्यार्थी कार्ड देखाएर कुकर, भाँडाकुँडा वा यस्तै सामग्री विराटनगर ल्याउँथे र स्थानीय व्यापारीलाई बेच्थें । यसो गर्दा सय पचास रुपैयाँ आम्दानी हुन्थ्यो । सुरुवात यसैगरी भयो ।
आजको दिनसम्म व्यवसायमा कतिपटक असफल हुनुभयो ?
पटक–पटक । मेरो विचारमा जो असफल हुँदैन, उ असल इन्टरप्रेनर पनि हुन सक्दैन । असफलताले धेरै कुरा सिकाउँछ । २१ वर्षको उमेरमा आइकम उत्तीर्ण गर्नेबित्तिकै मैले कृषि विकास बैंकबाट ३ लाख रुपैयाँ ऋण लिएर इटहरीमा आधुनिक प्रविधिको मेसिन र प्याकेजिङ आलु चिप्स उद्योग खोलेको थिएँ । उद्योग त राम्रो थियो तर सानो उमेर तथा कम अनुभका कारण म नराम्रोसँग डुबे । यो कति ठूलो धक्का थियो भने मैले उद्योग व्यापार छाडेर जागिर खानुपर्ने अवस्था आयो तर जे हुन्छ, राम्रैका लागि हुन्छ भनेझै मैले कूटनीतिक नियोगमा जागिर पाएर भुटान जाने अवसर प्राप्त गरें । त्यसले मेरो अंग्रेजी भाषा मात्र राम्रो बनाएन, संसारको राजनीति र कूटनीति पनि थाहा भयो । एउटा व्यक्ति तबमात्र राम्रो इन्टरप्रेनर हुनसक्छ, जब उसलाई आफ्नो देशको सामाजिक, राजनैतिक र संसारका मुख्य कुराको जानकारी हुन्छ । कसरी व्यवसाय सुरु गर्ने, कसलाई विश्वासमा लिने भन्ने जानकारी हुन्छ ।
आजको व्यवसायको सुरुवात कसरी गर्नुभयो ?
मेरो कमजोरी नै के भने मलाई सानो उद्देश्य राखेर काम गर्न मन लाग्दैन । म नेपालमा होइन, विदेशमा गएर व्यापार गर्न चाहन्थें । सन् २००६ मा कतारमा एसियाली खेलकुद हुनेवाला थियो । मेरो विचार कतारमा गएर व्यवसाय गर्ने हो भने त्यहाँ हुने आर्थिक उछालको फाइदा लिन सकिन्छ भन्ने थियो । कतारमा धेरै नेपालीहरू व्यवसाय गरिरहेका थिए, तर ती व्यवसाय नेपालीलाई नै लक्ष गरिएका हुन्थे । ऋण–धन गरेर काम गर्न गएका नेपालीलाई लक्ष राख्ने हो भने अरूभन्दा म कसरी फरक हुन सक्छु र ? मैले त्यहाँको विकासमा हात हालें । यसका लागि युरोपेली कम्पनीको सहायक भएर काम सुरु गरें । त्यसैले मलाई प्रारम्भिक सफलता प्रदान गर्यो ।
आज तपाईंसँग दर्जनौं व्यवसाय छन्, नेपालदेखि विदेशसम्मका व्यवसायलाई कसरी समय दिनुहुन्छ ?
कामले सिकाउँदै जान्छ । समयसँगै आफूलाई पनि योग्य बनाउँदै लानुपर्छ । यसका लागि म निरन्तर मेहनत गर्छु । अरू मानिसहरू समाचार हेर्छन् । म त्यो समाचार पछाडिका कुरा पनि हेरिरहेको हुन्छु । मानौं कुनै दुई विश्वप्रसिद्ध व्यक्तित्वको वार्ता भैरहेको छ भने म टेलिभिजनमा उनीहरूको समाचार मात्र हेरिरहेको हुन्न, लबाइ, कुरा गर्ने शैली, कोठाको डिजाइन सबै हेरिरहेको हुन्छु । विश्वका सफल–असफल मानिसको जीवन कथा पढ्छु । के कारणले त्यो मानिस सफल वा असफल भयो भन्ने कुराको खोजी गर्छु र राम्रो कुराको अनुसरण गर्छु । आफूमा केही कमजोरी भए त्यसलाई तत्काल त्याग्छु । आज मेरो अफिसको डेकोरेसन, मेरो लवाइ–खवाइ, कुरा गर्ने शैली, बिजनेस अघि बढाउने तरिका जे–जस्तो छ, त्यो अरूबाटै सिकेको हो । हामी सरकारी स्कुल–कलेज पढेको, सामान्य परिवारबाट आएको मानिसले सिक्न लजाउनु हुँदैन । हाम्रो प्रतिस्पर्धा हवार्ड, क्याम्ब्रिज पढेकाहरूसँग मात्र छैन, घरानियाँ व्यवसायीहरूसँग पनि छ । त्यसका लागि पनि सधैं अपडेट हुनुपर्छ ।
यसरी सिक्दा–सिक्दा थाक्नुहुन्न ?
जब मानिसले आफ्नो रुचिको क्षेत्रमा काम गर्छ, थाक्दैन, बरु थप सिक्दै जान्छ । आजभोलि त मलाई कुनै नयाँ मानिस भेटिन, नयाँ कुरा सिकिन भने दिन त्यसै खेर गए जस्तो लाग्छ । म हरेक सफल मानिसलाई भेट्छु । नयाँ आएका हरेक कुरा सिक्छु । जीवन सधैं ताजा, नयाँ र भविष्यप्रति लक्षित गरेर बिताउँछु । अब पैसाको कुरा त्यति महत्त्वपूर्ण रहेन, जीवन सार्थक रूपमा बितोस् भन्ने लाग्छ ।
हिजो तपाईं सामान्य मानिस हुँदाको चिन्ता र आज सफल मानिस हुँदाको चिन्तामा के फरक छ ?
सामान्य मानिसलाई सधैं भोलिको दिन कसरी पैसा कमाउने, परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता हुन्छ । त्यो बेला धेरै गुमाउने डर पनि हुँदैन, धेरै कमाउने आशा पनि हुँदैन । मानिस जति सफल हुँदै जान्छ, ऊ समाजसँग, देशसँग यति मज्जाले जोडिन्छ कि सानो कुरामा चुक्यो भने पनि पछि पर्ने डर हुन्छ । आज म समाज र देशसँग बढी बाँधिएको अनुभव गर्छु । मेरो सानो निर्णयले मेरो कम्पनीलाई मात्र असर गर्दैन, हामीसँग जोडिएका स्टक होल्डरहरूलाई समेत असर गर्छ । यो बेला पैसा कमाउने वा गुमाउनेभन्दा पनि प्रतिष्ठा गुमाउने कुरामा बढी सचेत भइँदो रहेछ । साँच्चै भन्ने हो भने यस्तो बेला प्रतिष्ठा नै ठूलो कमजोरी हुँदो रहेछ ।
अबको उद्देश्य ?
हुन त व्यवसाय यस्तो कुरा हो, जहाँ अब मलाई पुग्यो भन्ने लाग्दैन । सधैंभरि सुरुवात मात्र हुन्छ । अहिलेको अवस्थामा हेर्दा हाम्रो कम्पनी धेरै ठूलो होइन, तर म जहाँबाट आएँ त्यहाँबाट ठूलो देखिन सक्छ । माई इन्भेस्टमेन्ट ग्रुप अब नेपालको मात्र होइन, संसारकै राम्रा कम्पनीहरूमध्ये पर्दैछ । नेपालीहरू रोजगारीका लागि मात्र विदेश जाँदैनन्, विदेशमा राम्रा व्यवसायी पनि हुन सक्छन् भन्ने सोचलाई स्थापित गर्नुपर्नेछ । हाम्रो समूह रातदिन त्यसकै लागि लागिपरेको छ ।