काठमाडौं- विगतमा 'गोर्खा पल्टन' चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक तथा संगीतकर्मी नारायण रायमाझी दोस्रो चलचित्र 'परदेशी' मार्फत दर्शकमाझ आउन तयार भएका छन् ।
बुधवार काठमाडौंमा आयोजित चलचित्रको फस्टलूक पोष्टर, टे्रलर तथा गीत सार्वजनिक गर्न आयोजित समारोहमा निर्देशक रायमाझीले दसैंको फूलपातीदेखि यो चलचित्र प्रदर्शन गर्ने औपचारिक घोषणा गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा आयोजित समारोहमा चलचित्रका निर्माता राजेश वंशल तथा निर्देशक नारायण रायमाझीले मौलिक नेपाली कथावस्तु समावेश गरिएकाले चलचित्रले सफलता पाउने कुरा ढुक्क भएको बताए । वैदेशिक रोजगारीमा जाने नेपाली चेलीहरुको कथाव्यथा समेटिएको 'परदेशी' मा प्रशान्त तामाङ, रजनी केसी तथा नरेन खड्का मुख्य भूमिकामा छन् । निर्देशक रायमाझीका अनुसार 'परदेशी' मार्फत विदेश खासगरी खाडी मुलुक पुगेका नेपाली चेलीहरुले भोग्नु परेको कारुणीक कथालाई यथार्थपरक शैलीमा चित्रण गरिएको बताए ।
चलचित्रको पोष्ट, टे्रलर तथा गीत हेरेपछि चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रीय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, कानूनविद डा.भीमार्जुन आचार्यसहितका वक्ताले चलचित्रले व्यवसायिक सफलता पाउने कुरामा दुईमत नरहेको तर्क प्रस्तुत गरे ।
समारोहमा चलचित्रकी नायिका रजनी केसीले चलचित्रमा अभिनय गर्दाको अनुभव बाँडेकी थिइन् ।