साप्ताहिक संवाददाता
दशैंको तिथी नजिकिएसँगै राजधानीका सपिङ सेन्टरहरुमा विविध कार्यक्रम गर्ने लहर चलेको छ । यसै मेसोमा भोलि शुक्रवारदेखि चावहिल, चुच्चेपाटीस्थित केएल टावरमा सांगीतिक मेला लाग्दैछ । टावरको पाँचौ तलामा मध्यान्हदेखि प्रारम्भ हुने सांगीतिक मेलाको ढोका खोल्नेछन् गायक आनन्द कार्कीले । 'आनन्द कार्की गजल साँझ' नामक कार्यक्रम मार्फत गायक कार्कीले आफ्नो सांगीतिक खुराक पस्कनेछन् र यससँगै १६ दिने कार्यक्रमको औपचारिक थालनी हुनेछ ।
हरेक दिन २ बजेदेखि साँझ ६ वजेसम्म आगन्तुकले विभिन्न कार्यक्रमको आनन्द उठाउन सक्ने इभेन्ट नेपालका अध्यक्ष हीरामणी तिमल्सिनाले साप्ताहिकलाई वताए । प्रत्येक दिन प्रत्यक्ष सांगीतिक समूहले आफ्नो प्रस्तुती दिनेछन् । यसवाहेक गेम शो, फेसन शो, म्याजिक शो, फिल्म प्रमोशन जस्ता कार्यक्रम पनि राखिएको छ । कार्यक्रमकै सिलसिलामा सेल मेला पनि लाग्नेछ । सेल मेलामा कुनैपनि सामग्रीको खरिदमा ५० प्रतिशतसम्मको छुट पाइनेछ । निशुल्क नेल आर्ट, फेस पेन्टिङ जस्ता अतिरिक्त आकर्षण पनि रहेको छ ।