जननेता बीपी कोइरालाको कृती ‘तीन घुम्ती’ मा आधारित नेपाली चलचित्र ‘तीन घुम्ती’ को प्रिमियर शोमा प्रधानमन्त्री सुशिल कोइराला दर्शकको रुपमा सहभागि भएका छन् ।
चलचित्र हेरेपछि प्रधानमन्त्री कोइरालाले चलचित्रमा ईन्द्रमायाको भूमिका निर्वाह गर्ने अभिनेत्री गरिमा पन्तको अभिनयको प्रसंसा गरेका छन् । जय नेपाल सिनेमा हलमा सम्पन्न प्रिमियर शोमा पुरै चलचित्र हेरेका प्रधानमन्त्री कोइरालाले ईन्द्रमायाको भूमिका तथा अभिनय मन परेको प्रतिक्रिया दिएका छन् ।
‘चलचित्रको प्रदर्शन प्रारम्भ हुनुअघि नै प्रधानमन्त्रीले ईन्द्रमाया तिमी हौ ? भनेर सोध्नु भएको थियो, गरिमा भन्छिन्—‘मैले हो भनेपछि चलचित्र हेरेपछि तिमीसंग भेट्छु भन्ने भएको थियो, चलचित्र हेरेपछि मेरो कामको प्रसंसा गर्दै अंगालो मार्नु भयो ।’
बाबुराम ढकालद्वारा निर्देशित ‘तीन घुम्ती’ हेर्न विभिन्न राजनीतिक दलका नेताहरु सिनेमा हल पुगेका थिए । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल आदिले रुचीपूर्ण शैलीमा चलचित्र हेरेका थिए ।
चलचित्रका निर्माता राकेश अडुकियाका अनुसार ‘तीन घुम्ती’ को नियमित प्रदर्शनको मिति तय भैसकेको छैन । चलचित्रका मूल लेखक बीपी कोइरालासंग सम्बन्धित कुनै एउटा मितिमा चलचित्र प्रदर्शन हुन सक्ने अडुकियाको अनुमान छ । नेपाल तथा बेलायतमा एकै दिन प्रिमियर गरिएको यो चलचित्रको लन्डन प्रिमियरमा निर्देशक ढकाल तथा अभिनेता ध्रुव दत्त सहभागि भए । चलचित्रमा गरिमा र ध्रवु दत्तसंगै सुशान्त कार्की, मदनदान श्रेष्ठ, भुवन चन्द आदि कलाकारले अभिनय गरेका छन् ।