गत वैशाखमा गएको विनाशकारी महाभूकम्पपछि महानायक राजेश हमालले विभिन्न स्थानमा विद्यालयका कोठा निर्माण अभियानलाई सहयोग गर्न घासी नेपाल नामक संस्थाको मानार्थ सदस्यता लिएका छन् । नेपाल सरकार पुनर्निर्माण अभियान र ‘बिल्ट ब्याक राइट’ अभियानका सद्भावना राजदूत नायक हमालले नेपाली जनजीवनलाई पुरानै अवस्थामा फर्काउन अन्य संस्थाका कार्यक्रममा सरिक भैरहेको बताए ।
घाँसी नेपालले गत साता आयोजना गरेको कार्यक्रममा शैक्षिक क्षेत्रमा पुगेको असरका सम्बन्धमा हमाललगायत विभिन्न वक्ताले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा भूकम्पले पुर्याएको असर दर्साउने हमाल अभिनीत म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो । यस्तै माथिल्लो मुस्ताङ क्षेत्रमा भूकम्पले गरेको क्षतिमा मल्हम लगाउने कार्यमा समेत नायक हमाल सक्रिय रहे । अमेरिकामा बस्दै आएका अपर मुस्ताङका नेपालीहरूको संस्थाले उठाएको ९० लाख रुपैयाँ भूकम्पपिडितहरूका निम्ति खर्च गरिएको उनले बताए ।
भूकम्पपीडितको उपचारका लागि काठमाडौंका ३ अस्पताललाई मात्र १३ लाख रुपैयाँको औषधि उपलब्ध गराइएको थियो भने डाक्टर गोविन्द केसीको समूहलाई १ लाख बराबरको औषधि तथा उपचार सामग्री प्रदान गरिएको थियो । महानायक हमालका अनुसार उनी अक्टोबर १ मा हङकङमा आयोजना हुने हामी उठ्नेछौं अभियानलाई पनि नि:शुल्क सहयोग गर्दैछन् । यस्तै केही अघि दुबईमा आयोजित एक कार्यक्रममा हमालसहितको कलाकारको टिमको सहभागितामा भएको कार्यक्रमबाट उठेको ४३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको थियो ।