समकालीन नेपाली साहित्यमा कुमार नगरकोटी सर्वाधिक रहस्यका पात्र हुन् । अहिलेसम्म उनका पाँच कृति बजारमा आइसकेका छन् र ती सबैमा उनी आफैं पात्र छन् । मोक्षान्त भिबर काठमाडौं, फोसिल उनका कथा संग्रह हुन् भने अक्षरगन्ज उनको स्मरण र फुटकर लेखहरूको संग्रह हो । त्यसबाहेक उनको नाट्य कृति ‘कोमा अ पोलिटिकल सेक्स’ मञ्चनसँगै पुस्तकका रूपमा पनि आएको छ । यी सबै कृतिले नगरकोटीलाई उपल्लो कोटोको साहित्यकारका रूपमा स्थापित गरेका छन् ।
यो साता उनको पहिलो उपन्यास बजारमा आएको छ– मिस्टिका । ‘मिस्टिका’ मा नगरकोटीले एकसाथ अनेक प्रयोग गरेका छन् । केही भित्री पृष्ठ रंगीन हुनु, अनौठा संसार जन्माउनु र ती सबै संसारमा उनी आफैं एक पात्र हुनुले यो उपन्यासले परम्पराका सबै आयाम नाघेको छ । साहित्य बजारमा सर्वाधिक चासोका साथ हेरिएको यो उपन्यासकै सेरोफेरोमा नगरकोटीसँग गरिएको कुराकानी :
मिस्टिका कस्तो उपन्यास हो ?
यो प्रयोगात्मक उपन्यास त हो नै, सरियल र स्वप्निल वर्गको उपन्यास हो । यस्तो प्रयोग नेपाली साहित्यमा यसअघि गरिएको छैन । यसको केही प्रयोग मोहनराज शर्माले गर्नुभएको थियो तर त्यस्तो प्रयोग ‘मिस्टिका’ मा थप सशक्त भएर आएको छ । विदेशमा जापानी लेखक मुराकामी, अर्जेन्टिनी लेखक पोर्जेस र मार्खेजहरूले यस्तो प्रयोग गरेको पाइन्छ ।
उपन्यासका पृष्ठहरू रंगीन बनाउनुभएको छ, यसको पनि कारण छ ?
नीलो, खैरो, कालोजस्ता पृष्ठहरूमार्फत मैले उपन्यासका च्याप्टर फरक पार्ने प्रयास गरेको हुँ । त्यो उपन्याससँग सम्बन्धित पनि छ । म आफूलाई फिक्सन डिजाइनर भन्न रुचाउँछु । यसरी डिजाइन गर्दा इन्टेरियर डिजाइन पनि दिउँm भनेर प्रयास गरेको हुँ । यो उपन्यास परम्परागत उपन्यासमा जस्तै एउटा संसारमा एउटै कथा उस्तैगरी बग्दैन । यो पढ्ने उपन्यासभन्दा महसुस गर्ने उपन्यास हो । पानी पर्दैछ भन्नुभन्दा पानीमा भिज्नु नै मज्जा हुन्छ नि, होइन ? मैले भिज्वलाइजेसन गर्ने प्रयास गरेको हुँ ।
उपन्यासभित्र नेपालका विभिन्न नेताका बारेमा पनि शब्द चित्र देखियो, यसको पनि कुनै खास कारण छ कि ?
उपन्यासभित्र कृष्णमोसन मास्के चित्रकार हुन्छ । उसको कल्पनामा नेपाली नेताहरूको तस्बिर दिने प्रयास गरिएको छ । यो पनि इन्टेरियर डिजाइनको एउटा रूप हो ।
तपाईंको उपन्यासमा नेपाली भाषाका अतिरिक्त हिन्दी र अंग्रेजी भाषा पनि प्रयोग भएको छ, किन ?
मेरो विचारमा भाषाले संसारको कुनै कलालाई छेक्दैन । कला जुनसुकै भाषामा पनि व्यक्त हुन्छ । त्यसैले संसारका जुन सुकै भाषाका कृति पनि हामीलाई प्रिय लागिरहेका छन् । यो पनि प्रयोग कै एउटा शैली हो । यी भाषाका कारण पाठकले थप रमाइलो महसुस गर्नुहुनेछ ।
उपन्यासको मोटाइ र यसमा गरिएको प्रयोग हेर्दा यो निकै समय लगाएर लेखिए जस्तो लाग्छ, कति वर्षको तयारी हो ?
तयारी त जम्माजम्मी ६ महिनाको हो । जुन बेला प्रकाशकसँग उपन्यास लेख्ने सम्झौता भयो, त्यसपछि मात्र नेपाली साहित्यलाई नयाँ चिज दिउँm भनेर सोचेको हो । लेख्न धेरै समय लागेन । लेख्दै जाँदा मेरो मनमा यति धेरै कुरा रहेछन् भन्ने कुरा थाहा पाउँदै गएँ । यसलाई म जर्नी अफ माइन्ड भन्छु । यो उपन्यास लेख्दा मैले मेरो मस्तिष्क र सिर्जनशीलताको लामो यात्रा गरेको छु ।
यति गम्भीर कुरा नेपाली साहित्यका पाठकले पचाउँछन् ?
मैले त्यसको चिन्ता गरेको छैन । लेखक भएका नाताले मैले लेख्नुपर्छ । विज्ञ पाठकहरूले स्वीकार गरे म खुसी नै हुन्छु अस्वीकार गरे पनि दु:खी हुन्न । तैपनि नेपाली साहित्यमा यो खालको पुस्तक पढ्ने हजारौं पाठक हुनुहुन्छ भन्ने महसुस गरेको छु र सन्तुष्ट छु ।