गाईजात्रा–२०७२ को अवसर पारेर लोकप्रिय हास्य कलाकारहरू देशका दुई भिन्न सहरका प्रेक्षालयमा प्रस्तुत हुने भएका छन् । कमलादी, काठमाडौंस्थित प्रज्ञाभवन तथा पोखराको सिर्जनाचौकस्थित साइमन पार्टी प्यालेसमा दुई भिन्न गाईजात्रे हास्यव्यंग्य महोत्सव सञ्चालन गरिँदैछ ।
प्रज्ञाभवनमा भोलि शनिबारदेखि सञ्चालन हुने ‘तीते–जीरे मेरीबास्सै गाईजात्रा महोत्सव’मा नेपाल टेलिभिजनका तीन लोकप्रिय हास्यश्रृंखला ‘तीतो सत्य’, ‘जीरे खुर्सानी’ तथा ‘मेरी बास्सै’ का कलाकारहरू प्रस्तुत हुँदैछन् भने आज शुक्रबारदेखि नै पोखरामा सञ्चालन हुने ‘हाक्का हाक्की हर्के हल्दार गाईजात्रा महोत्सव २०७२’ महोत्सवमा नेपाल टेलिभिजनको हास्यश्रृंखला ‘हाक्का हाक्की’ तथा कान्तिपुर टेलिभिजनको हास्यश्रृंखला ‘हर्के हल्दार’ का कलाकारहरूले दर्शक हँसाउने जिम्मा लिएका छन् ।
प्रज्ञा भवनको गाईजात्रा महोत्सव भदौ १२ गतेदेखि प्रारम्भ भएर २६ गतेसम्म सञ्चालन हुनेछ । यो महोत्सवमा विभिन्न चारवटा प्रहसन मञ्चन गरिँदैछ । तीतो सत्य समूहले प्रस्तुत गर्ने प्रहसन वैशाख १२ को भूकम्पमा आधारित हुने निर्देशक दीपकराज गिरीले बताएका छन् । उक्त प्रहसनमा दीपकराज गिरी, दीपाश्री निरौला, आरपी भट्टराई, रवि डंगोल तथा पूर्ण थापाले अभिनय गर्दैछन् । ‘जीरे खुर्सानी’ समूहले यो महोत्सवमा दुईवटा प्रहसन प्रस्तुत गर्दैछ । पहिलो प्रहसनमा शिवहरि पौडेल, किरण केसी, मनोज आचार्य, सविता गुरुङले अभिनय गर्नेछन् भने दोस्रो प्रहसनमा राजाराम पौडेल, देवीराम पराजुली, नीरज नेपाल, रमेश अधिकारी, शिवहरि बैरागी तथा हिमा कोइरालाले अभिनय गर्दैछन् । उनीहरूको प्रहसनले द्वन्द्व निम्त्याउने राजनीतिक दलहरूलाई व्यंग्य गर्दै सबैलाई मिलेर बस्ने सन्देश दिनेछ । ‘मेरी बास्सै’ समूहको प्रहसनमा केदार घिमिरे, विल्सनविक्रम राई, सुनिता गौतम, मरीचमान श्रेष्ठले अभिनय गर्दैछन् । व्यंग्यकार मनोज गजुरेल एकल प्रस्तुतिमार्फत दर्शकमाझ आउने यो कार्यक्रममा हास्यकलाकार राजा राजेन्द्र पोखरेलले उद्घोषणका साथै केही प्यारोडी तथा क्यारिकेचर प्रस्तुत गर्नेछन् । व्यंग्य कवि शैलेन्द्र सिम्खडाले व्यंग्य कविता सुन्ने यो महोत्सवमा गायक तथा संगीतकार टीका भण्डारीले प्यारोडी गीत प्रस्तुत गर्नेछन् । बिदाको दिन दिउँसो २ बजे तथा साँझ ६ बजे प्रारम्भ हुने यो महोत्सव अन्य दिन साँझ ५:३० बजेदेखि प्रारम्भ हुनेछ ।
पोखराका दर्शकहरूबीच हास्यव्यंग्य कार्यक्रम प्रस्तुत गर्ने क्रममा करिब दुई दर्जन हास्यकलाकारको समूह हिजो बेलुका नै पोखरा पुगिसकेको छ । यसअघि काठमाडौंको गाईजात्रे महोत्सवलाई पोखरा पुर्याउने परम्पराविपरीत हास्यकलाकार दमन रूपाखेतीको नेतृत्वमा कलाकारहरू पोखरा पुगेका हुन् । आज शुक्रबारदेखि तीन दिनसम्म हाक्का–हाक्की हर्के हल्दार गाईजात्रा महोत्सवमा आज शुक्रबार साँझ ५ बजे प्रारम्भ हुँदैछ । भोलि शनिबार तथा पर्सि आइतबार दुई–दुईवटा शो सञ्चालन हुने यो महोत्सवमा कलाकार राजु भुजू उद्घोषकका रूपमा प्रस्तुत हुनेछन् । करिब तीन घण्टा लामो यो कार्यक्रममा ‘हाक्का हाक्की’ समूहले ‘हाक्का–हाक्की त्रिपाल क्लिनिक’ शीर्षकको प्रहसन प्रस्तुत गर्दैछ । देश हाँक्ने नेताहरूकै स्वास्थ परीक्षण गर्नुपर्ने अवस्था सिर्जना भएको विषयमा केन्द्रित यो प्रहसनमा दमन रूपाखेती, शिव शर्मा, कविता शर्मा, कमला अर्याल तथा सुदीप थापाले अभिनय गर्नेछन् । ‘नेपाल एक्सप्रेस’ शीर्षकको प्रहसनमा खेम शर्मा तथा सुस्मिता मैनालीले अभिनय गर्दैछन् । यो प्रहसनमा नेपाललाई सही गन्तव्यमा पुर्याउनुपर्ने सन्देश समेटिएको छ । ‘हर्के हल्दार’ को उपनामले चिनिने विष्णु सापकोटा गीति प्रहसनमार्फत दर्शकमाझ प्रस्तुत हुनेछन् । ‘कोभन्दा को कम’ शीर्षकको समसामयिक विषयमा आधारित उक्त प्रहसनमा राम थापा, उमेशकुमार केसी तथा यश जोडी (अजय रेग्मी र सुदीप खतिवडा) ले अभिनय गर्दै छन् । महोत्सवमा कलाकार कविता शर्माले रिमिक्स गीतमा नृत्य गर्दैछिन् भने पोखराका स्थानीय कलाकारको नृत्यसमेत समावेश हुनेछ । कलाकार मणि काफ्लेको प्यारोडी गीत, राजन चौलागाईंको व्यंग्य कविता, जादुगर महादेव त्रिपाठीको जादुसमेत प्रस्तुत हुने उक्त कार्यक्रममा चर्चित तीज गीत ‘ढाडे बिरालो...’ का गायक प्रकाश कटुवाल तथा चन्दा अर्यालले दोहोरी गीत सुनाउनेछन् ।