निर्देशक : प्रणव जोशी
कलाकार : विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरसिया, कर्म, आशुतोष श्रेष्ठ, अरुण रेग्मी तथा शिशिर वाङ्देल आदि ।
संगीतकार : कालीप्रसाद बासकोटा
‘पिरतीको छाता ओढाउन...’ गीतका कारण चर्चामा रहेको चलचित्र ‘रेशम फिलिली’ गत वैशाख ११ गते नै सार्वजनिक भैसकेको थियो, तर भोलिपल्टको भूकम्पले उक्त चलचित्र मारमा पर्यो । बहुप्रतीक्षित चलचित्रका रूपमा रहेको ‘रेशम फिलिली’ आज भदौ ११ देखि देशभर प्रदर्शनमा आउँदैछ । सामाजिक सञ्जालमा भाइरल भएको ‘जालमा’ गीतकै कारण चलचित्र ‘रेशम फिलिली’ लाई बहुप्रतीक्षित मानिएको हो । प्रदर्शनअघि नै लगानी सुरक्षित गरिसकेको भनिएको ‘रेशम फिलिली’ले अब दर्शकहरूको कति माया पाउँछ, प्रतीक्षाकै विषय बनेको छ ।
चलचित्रले सामाजिक कथालाई हास्य शैलीमा प्रस्तुत गरेको छ । यो चलचित्रमा अभिनेता विनय श्रेष्ठ रेशमको भूमिकामा छन् भने कामेश्वर चौरसिया हरियाको भूमिकामा छन् । रेशम र हरियाले युवापुस्ताको प्रतिनिधित्व गरेका छन् । चलचित्रको कथा यी दुई युवाको जीवनका आरोह–अवरोहहरूमा केन्द्रित छ । रेशम फिलिली अभिनेता विनय श्रेष्ठले माधव वाग्लेसँग मिलेर निर्माण गरेका हुन् ।