साप्ताहिक संवाददाता
विल्सनविक्रम राई (तक्मेबूढा)
बाजे, कता हो अचेल ? निकै पो हराउनुभो त ?
हौ नानी, हराएको होइन । लन्डनतिर घुमेर पो आ’को त ।
बाजे आजभोलि लन्डन निकै जानुहुन्छ । लाहुरेनी बजैसँग भेट्न हो ?
कहाँ हुनु नानी, बजै त यतै छिन् । गाउँ छाड्नै मान्दिनन् । लन्डन जाम भनेको त हो नि, प्लेन चढ्न डर लाग्छ रे ।
उसो भए लन्डनतिर बाजेका मनग्गे गर्लफ्रेन्ड छन् होलान हैन ?
के भन्छ यो नानी ? यो उमेरमा कहाँ हुनु गर्लफ्रेन्ड ? सबैले तक्मेबूढा भन्छन्, मेरो बूढा भन्दैनन् कोही । उमेर ढल्किए नि रहर त कहाँ मरेको छ र ?
यसो भन्दा बजैले मार्लिन् नि ?
पढ्न जाने त हुन्थ्यो नि । पढ्नै आउन्न त्यसलाई ।
बाजेलाई ज्योति मगरले आई लभ यू भनिन् भने के गर्नु हुन्छ ?
हौ, मैले के गर्नु नि ? जे गर्नु उनैले गर्लिन् ।
अनि बाजेलाई मेरी बास्सैबाट खेदेका हुन् ?
झुसे र बकम्फुसेको सल्लाहले हिँडेका हामी ।
अब फर्केर नआउने त ?
आउँछु होला नि हौ । झुसे (माग्नेबूढा) ले के गर्छ कुन्नि ? हाम्रो सल्लाह हँुदैछ ।
अनि युट्युबमा तक्मेबूढा डटकम आइएको छ, के हो नि यो ?
ए हो, लु के हो यो युट्युब ? कुन गाडीको पाङ्ग्रामा हालिन्छ नानी ?
गाडीको ट्युब होइन बाजे, इन्टरनेटको च्यानल बनाएर त्यसमा हालेका छन् । तपाईंलाई थाहा छैन ?
लु बिताएछ मेरो नाति केटो विल्सनले । म यसै बसिरहेका बेला मोबाइलले के–के खिच्छ अनि इन्टरनेटमा पो हाल्दो र’छ । अहिले नै फुन गरेर ठीक पार्छु त्यसलाई ।
हिट हुने काम त गरिरहेकै छ उसले । बाजे किन बेकारमा रिसाउनुपर्यो ? बरु विल्सनको बिहे गर्ने बेला भएन भन्या ?
ए हिटै पो पार्दैछ ? उसो भए त ठिकै गरेछ केटोले । यो साल बिहे गर्ने भनेर सोचेको मात्र, भुइँचालो आइगो त के गर्नु ? अब अर्को साल गरिदिनुपर्ला । साह्रै लफंगा भै’राछ त्यो ।
विल्सनको त एउटी गर्लफ्रेन्ड नि छ भन्ने सुन्छु, बाजेलाई थाहा छ ?
गर्लफ्रेन्ड नै छ ? केही भनेन त मलाई । सुनेको कुरामा के भर पर्नु ? भरे सोध्नुपर्ला । रै’छ भने लु भगाएर ल्या भन्छु । मैले पनि उहिले नाइन्टिन फोन्टिनमा बजैलाई भगाएरै ल्या’को थिएँ । बाजेको सिको गर्नुपरेन त त्यसले ।
झुसेसँग गाईजात्रे कार्यक्रम गर्दै हुनुहुन्छ हो ?
झुसेले भन्यो । यसै बस्नुभन्दा यसो स्टेजमा देखिनुपर्यो भन्ने लागेर हुन्छ भन्दिएको छु । अब केटी फ्यानहरू बढाउनुपरेन ? बजै गाउँमै बस्छिन्, म यता एक्लै छु । बुरा बुझ न नानी ।
प्रस्तुति : सुव्रत आचार्य