साप्ताहिक संवाददाता
३६ बर्षअघि रेकर्ड गरिएको राष्ट्रिय गीत ‘यो कर्मभूमीको आँगनमा कर्मको उदाहरण...’ लाई हरेक साता टेलिभिजनको पर्दामा बजिरहेको सुन्न पाइने भएको छ ।
दसैंबाट प्रसारणमा आउन लागेको टेलिश्रृंखला ‘सिंहदरबार’मा यो चर्चित राष्ट्रिय गीतलाई प्रमुख गीत अर्थात साउण्ड ट्रयाकका रुपमा प्रयोगमा ल्याइने निर्माता युवाकरराज राजकर्णीकारले बताएका छन् । ‘मुकुण्डो’, ‘कर्मा’, ‘उमा’ जस्ता फरकधारका चलचित्रहरुका निर्देशक छिरिङ रितार शेर्पाको निर्देशनमा निर्माण भैरहेको १३ भागको टेलिश्रृंखला ‘सिंहदरबार’मा गौरी मल्लले संविधान जारी भैसकेपछिको पहिलो प्रधानमन्त्रीको भुमिका निर्वाह गरेकी छिन् ।
चर्चित राष्ट्रिय गीत ‘यो कर्मभूमीको आँगनमा कर्मको उदाहरण...’लाई गीतकार राजेन्द्र रिजालले रचेका हुन् । शम्भुजित बाँसकोटाको संगीत रहेको गीतलाई गायक दिपक खरेलले गाएका थिए । अहिले गीतको पुन:रेकर्डिङ गरिएको छ । गीतलाई टेलिश्रृंखला ‘सिंहदरबार’को प्रवर्धन र प्रमूख अंशमा प्रयोग गरिने जानकारी निर्माता राजकर्णीकारले दिएका छन् ।