चलचित्र लेखक, निर्देशक एवं वरिष्ठ गीतकार यादव खरेललाई गीतकार संघ नेपालले तेस्रो संस्करणको ‘स्रष्टा सम्मान–२०७१’ द्धारा सम्मान गरेको हो ।
गत शुक्रबार संघद्वारा आयोजित कार्यक्रममा एमाओवादी नेता डा. बाबुराम भट्टराईले खरेललाई १ लाख १ रुपैयाँसहित सम्मान गरेका हुन् । यस्तै वर्ष गीत पुरस्कार बसन्त थाम्सुहाङले पाएका छन् । वर्षका उत्कृष्ट १० गीतमध्ये साम्सुहाङले रचेको तथा भीषण मुकारुङले गाएको ए चन्द्रमुखी गीत सर्वोत्कृष्ट भएको थियो । गीतकार थाम्सुहाङलाई ५१ हजार रुपैयाँ राशिसहित सम्मान गरिएको थियो ।
यस्तो पनि हुँदो रै’छ, चैत मास खडेरीमा, जिन्दगी खोला सरी बगिरहेछ, गैरी खेतको शिरै हान्यो, के भनु म कसो गरि परे, न मेरो घरै छ, सपना हो यो भनेदेखि लगायत चर्चित गीतका सर्जक खरेलले स्रष्टाको साँचो सम्मानका निम्ति उनीहरुको बौद्धिक सम्पत्तिको संरक्षण हुनुपर्ने कार्यक्रममा बताएका थिए । अहिले सर्जकका सृजनाबाट जमिन्दारहरु मोटाइरहेको खरेलले बताए ।
उक्त कार्यक्रममा गीतकार श्याम तमोटलाई विशिष्ट सम्मान प्रदान गरिएको थियो । गाउँ–गाउँबाट उठ बस्ती बस्तीबाट उठ जस्ता लोकप्रिय गीत रचेका तमोटलाई गीति लेखनको क्षेत्रमा पुर्याएको योगदान स्वरुप सम्मान गरिएको संघका उपाध्यक्ष विपिन किरणले बताए । संघमा ३ सय गीतकार आबद्ध छन् । सर्जकको रचनाको रोयल्टी र हकहितका निम्ति संघ कार्यरत छ । कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, किरण खरेल, पूर्वमन्त्री एवं गीतकार एसपी कोइराला लगायतको उपस्थिति थियो ।