विज्ञानमा उच्च शिक्षा हासिल गर्न सुरुङ्गा झापाबाट काठमाडौं आएका राजेन्द्र पोखरेल यतिबेला नेपाली हास्यव्यंग्य क्षेत्रमा राजा राजेन्द्रका नामले स्थापित छन् । रत्नराज्य (आरआर) क्याम्पसमा मानविकी तथा ललितकला क्याम्पसमा संगीतको विद्यार्थी बनेपछि राजा राजेन्द्रको कलाकारिता यात्रा प्रारम्भ भएको हो । २०५८ सालमा आरआर क्याम्पसमा सम्पन्न एउटा कार्यक्रममा विभिन्न गायक–गायिकाका लोकप्रिय गीतको प्यारोडी गाउँदै राजेन्द्रले कलाकारितामा हात हालेका हुन् । संगीतका विद्यार्थी भएकाले राजेन्द्रले २०६१ सालमा ‘ट्रयाजेडी’ शीर्षकको पहिलो गीति एल्बम पनि सार्वजनिक गरे, तर श्रोताले ती गीत मन नपराएपछि उनको सांगीतिक यात्राले ट्रयाजेडी नै भोग्नुपर्यो । प्यारोडी गायनमा जमिसकेका राजेन्द्रले बिस्तारै नेताहरूको क्यारिकेचर गर्न थाले । उक्त अवधिमा उनले काठमाडौंका अधिकांश कलेज तथा विद्यालयमा प्यारोडी एवं क्यारिकेचरमार्फत दर्शकको मन जित्न सफल भए । २०६३ सालदेखि राजेन्द्रले गाईजात्रे हास्यव्यंग्य कार्यक्रममा पनि स्थान पाए । प्रारम्भमा व्यंग्यकार मनोज गजुरेलका प्रहसनमा सहभागी राजेन्द्रको हास्यव्यंग्य करियरले २०६५ सालदेखि नयाँ उचाइ प्राप्त गर्यो । गणतन्त्र घोषणा भएको दिन नयाँ बानेश्वरमा भेला भएको जनसागरमा राजेन्द्रले राजा ज्ञानेन्द्रको क्यारिकेचर गरे । उनी यति लोकप्रिय भए कि दर्शकले नै उनको नाम ‘राजा राजेन्द्र’ राखिदिए । उक्त कार्यक्रमको सफलतासँगै रेडियो अडियोका दीपेन्द्र खनियाँले राजेन्द्रलाई रेडियो जक्कीका रूपमा हास्यव्यंग्यात्मक रेडियो कार्यक्रम सञ्चालन गर्ने अवसर प्रदान गरे । रेडियो अडियोमार्फत यतिबेला राजेन्द्र ‘सुपर फास्ट’, ‘कमेडी क्लब’, ‘चटपटे गरम मसला’ तथा ‘जोकतन्त्र’ शीर्षकका कार्यक्रममार्फत श्रोतामाझ पुगिरहेका छन् । ई–२४ च्यानलमा ‘गीत जात्रा’ तथा हिमालय टेलिभिजनमा ‘जोकतन्त्र’ शीर्षकका कार्यक्रम सञ्चालन गरिरहेका राजेन्द्र २०६७ को
‘झ्याइँकुटी गाईजात्रे महोत्सव’ मार्फत उद्घोषण विधामा सक्रिय भएका हुन् । ‘तीते–जीरे गाईजात्रा महोत्सव’ को तयारीमा सक्रिय राजा राजेन्द्रसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न :
यसपटकको गाईजात्रा महोत्सवमा के–के गर्दै हुनुहुन्छ ?
यसपटकको महोत्सवमा रिमिक्स तथा र्याप शैलीको कविता वाचनका साथै नेताहरूको राष्ट्रिय सहमतिका विषयमा क्यारिकेचर प्रस्तुत गर्दैछु । त्यसबाहेक कार्यक्रमको उद्घोषण गर्ने जिम्मा पनि मैले नै पाएको छु ।
गायक बन्ने योजना बनाएको मान्छे, हास्यव्यंग्यकार कसरी हुनुभयो ?
म त इन्जिनियर बन्न पो आएको त । समयले मलाई कलाकार बनायो । हास्यव्यंग्यकारका रूपमा आज आफ्नो पेसाप्रति खुसी र सन्तुष्ट छु ।
आगामी योजना के–के छन् ?
यो वर्षको अन्त्यसम्ममा दोस्रो गीति–संग्रह सार्वजनिक गर्दैछु । त्यसबाहेक टेलिभिजनका लागि एउटा महत्वाकांक्षी कार्यक्रम पनि तयार पार्दैछु ।