सुशील कोइराला : मुन्द्रे ब्रो, मैले अब राजनीतिबाट संन्यास लिने विचार गरेको छु । राजनीति छाडेपछि मैले के गर्दा ठीक होला ?
तपाईंले राजनीतिबाट संन्यास लिने होइन, तपाईंंलाई देखेर अब राजनीतिले नै संन्यास लेला जस्तो छ । तपाईं कतै फिट नभएर नेता बन्नुभएको हो, नेताबाहेक तपाईंलाई सल्लाह दिनुपर्दा दीनबन्धु पण्डितले सप्ताह लगाएको ठाउँमा भक्तजनहरूलाई टीका लगाइदिने, भजन गाउने जस्ता काम गर्दा बेस होला ।
शेरबहादुर देउवा : यदि मैले चलचित्रमा अभिनय गर्न चाहें भने कस्तो भूमिका गर्दा बेस होला मुन्द्रे ब्रो ?तपाईंका लागि संवाद बोल्नुपर्ने भूमिकाको कुनै काम छैन । डबिङ अर्कैलाई गराउनुपर्छ, त्यसैले बजरंगी भाइजानको बच्चीको जस्तै भूमिका गर्दा ठीक होला । बजरंगी भाइजानमा पाकिस्तानबाट भारत आउँदा एउटी बच्ची हराउँछे, उक्त बच्चीलाई सलमान खानले अनेक कष्ट गरेर पाकिस्तान पुर्याउँछ । तपाईंलाई चैं भारतमा हरा’को भूमिका ठीक हुन्छ, तर सलमान खानले पुर्याउन आउँदैन, जता हरा’को त्यतै हरा’को हराइ हुने भूमिका गर्दा राम्रो होला, किनभने तपाईंलाई यो मुलुकमा फर्काउनुको कुनै अर्थ छैन ।
रामचन्द्र पौडेल : ए मुन्द्रे बाबु, लौन बुढेसकालको पुता, यता न उता भइयो । राजनीति गर्दा–गर्दा बूढो भइयो । अब मैले राजनीति छाडेर केही काम गर्नुपर्यो भने के गर्दा ठीक होला ?
तपाईं ब्राह्मण मान्छे, हुनुपर्ने त भान्छे हो, तर तपाईंले खाना पकाउन सक्नुहोला जस्तो छैन । नुनको ठाउँमा चिनी, बेसारको ठाउँमा खुर्सानी हाल्नुहोला भन्ने डर छ । त्यसैले तपाईंका लागि उपयुक्त काम भनेको कर्मकाण्ड, पूजापाठ, होम, रुद्री, सोह्रश्राद्ध गर्दै हिँड्ने हो । यसको सुरुवात यही जनैपूर्णिमाबाटै गरिहाल्नुहोस् । जनैपूर्णिमामा डोरा बाँध्दै हिँड्नुहोस् त्यसपछि लगत्तै सोह्रश्राद्धमा सराद्धे गराउँदै हिँड्नुहोस् । सुरुवातचाहिँ प्रचण्डजीको नाडीमा डोरो बाँधेर गर्दा बेस होला ।
केपी ओली : मलाई पनि गाईजात्रामा प्रहसन गर्न मन लाग्या छ, लु मुन्द्रे ब्रो, यसो सिक्वेन्स मिलाउनुस् त, त्यसका लागि मैले के गर्नुपर्छ ?
गाईजात्रा त तपाईंले सधैं गरिरहनुभएकै छ नेताज्यू । अब तपाईंका लागि गाईजात्रामा प्रहसन होइन, रेडियो नाटक गर्नु उपयुक्त होला, किनभने तपाईंको आवाजबाहेक अरू केही राम्रो छैन । एफएम र रेडियोतिर कार्यक्रम चलाउँदा पनि २–४ वर्षलाई राम्रै रेस्पोन्स पाउनुहोला । कार्यक्रम चलाउँदा चाहिँ सुरुमा बेलाबेला आवाजको दुनियाँको साथी भन्न नभुल्नुहोला ।
माधव नेपाल : मलाई नम्रता श्रेष्ठसँग फोटोसेसन गरेर साप्ताहिकमा ब्लोअप छपाउने रहर छ, के गर्नुपर्ला ?
यसका लागि केही गर्नै पर्दैन, नम्रताजीलाई मनाउन सक्नुपर्छ । उहाँको फिगर कोकाकोला, तपाईंको फिगर के होला ? फोटोसुट गर्न कठिन नहोला, तर त्यसलाई साप्ताहिकमा छपाउनचाहिँ गाह्रो होला । त्यसैले एउटा फोटो खिचेर इन्लार्ज गर्ने अनि त्यो फोटोको माथि साप्ताहिकको लोगो राखिदिने । त्यसपछि तपाईंको रहर पूरा हुन्छ ।
सुजाता कोइराला : मुन्द्रे ब्रो, मलाई पनि रेखा थापाजस्तै भएर चलचित्रमा अभिनय गर्न मन छ, के यो सम्भव छ ?
अवश्य सम्भव छ, तपाईंले गर्ने भनेकै त्यही हो । तपार्इंले चलचित्र खेल्ने अनि रेखाले राजनीति गर्ने । अहिले रेखालाई कमरेडहरूले धोका दिएको अवस्था छ । त्यसैले तुरुन्तै यो काम गरिहाल्नुपर्यो । रेखासँग सम्पर्क गरेर उहाँले लगाउने कट्टु कहाँ किन्न पाइन्छ, बुझिहाल्नुस् । नयाँ गेटअपमा फोटोसेसन गरेर निर्देशकहरूसँग सेटिङ मिलाएर सुटिङ सुरु गराइहाल्नुस् । रेखाको चलचित्रको नाम हिम्मतवाली भएझै तपाईंले आफ्नो चलचित्रको नाम इज्जत फाली राख्नुहोला । सुजाता फिल्म्सको पहिलो प्रस्तुति इज्जत फाली.... ढिङट्डयाऊँ... । नायकको भूमिका कसलाई दिने, आफैंले सोच्नुहोला । सकिन्छ भने नाना पाटेकरसँग सम्पर्क गर्दा बेस होला ।
प्रचण्ड : मने निश्चित रूपमा भनेर— कुम हल्लाउँदा–हल्लाउँदै जीवन बित्ने भो ब्रो । अब राजनीतिमा केही हुनेवाला छैन, जे हुनु भैसक्यो । यो राजनीति चटक्क छाडेर मलाई हिपअप गीत गाएर बि–बोइङ डान्स गर्ने इच्छा छ । यसका लागि मैले के गर्दा राम्रो होला ?
हिपपप गाएर बि–बोइङ डान्स गर्ने जुन इच्छा कमरेडबाट व्यक्त भयो, त्यसका लागि धन्यवाद । तपाईंलगायत तपाईंका पार्टीका नेताहरूलाई अहिले अरू पार्टीका नेताहरूले नरुचाएको अवस्था छ, त्यसैले तपाईं एक्लै नाच्दा त्यति राम्रो हुँदैन । किनभने बि–बोइङ भनेको समूहमा नाचिने नृत्य हो, त्यसैले तपार्इं र छोरा प्रकाश अगाडि अनि नारनकाजी, वर्षमान पुन, अग्नि सापकोटा आदि नेतालाई पछाडि कोरसमा राखेर नाच्दा बेस होला । तपाईंका लागि सानो टुक्रा र्याप पनि बनाइदिएको छु । यसरी गाउनुहोला लय तान्दै...