आरपी भट्टराई (लादालाम), हास्यकलाकार
धेरै मानिस भुँडी लाग्यो भनेर चिन्ता गर्छन् । विश्वमा त नभनौं, नेपालमा म मात्र एउटा त्यस्तो व्यक्ति हुँ जो भुँडी लागेकोमा खुसी छ । वास्तवमा मेरो कलाकारितालाई उचाइमा पुर्याउने एउटा माध्यम मेरो भुँडी पनि हो । कला र गला भएन भने ठूलो भुँडी भएर मात्र केही हुँदैन, तर कला र गलाका साथै ठूलो भुँडीसमेत भएकाले म आज यो स्थानसम्म आइपुगेको हुँ ।
मलाई सम्झना भएसम्म मेरो शरीरको सबैभन्दा कम तौल ५७ किलोग्राम थियो । बिस्तारै मोटाउन थालेपछि कुनै बेला मेरो तौल १ सय १४ किलोग्रामसम्म पुग्यो । आजको मितिमा मेरो तौल ९४ किलोग्राम छ । १ सय १४ किलोग्राम भएका बेला होस् अथवा अहिले ९४किलोग्राम भएका बेला होस्, मेरो भुँडीको आकार सामान्य मानिसको भन्दा धेरै ठूलो छ । हास्यश्रृंखला ‘तीतो सत्य’ मार्फत दर्शकहरूले मलाई ‘लादालाम’ का रूपमा जुन माया दिनुभएको छ, त्यसमा मेरो भुँडीको पनि ठूलै योगदान छ । सांस्कृतिक कार्यक्रमहरूमा मैले आफ्नो भुँडी हल्लाउन थालेपछि संवाद बोल्नुअघि नै दर्शकहरू हाँस्न थाल्छन् । यसलाई मैले भुँडीको सकारात्मक पक्षका रूपमा लिएको छु ।
ठूलो भुँडीका कारण म स्वास्थ्यप्रति उत्तिकै सचेत छु । आजका मितिसम्म मलाई कुनै पनि रोग लागेको छैन, न त भुँडीमा कुनै समस्या नै देखिएको छ । भुँडीलाई कुनै समस्या नहोस् भनेर बेला–बेलामा स्वास्थ्य परीक्षण पनि गराइरहन्छु । चिकित्सकहरूकै सल्लाहअनुसार विगत केही वर्षदेखि मैले खानपिनमा केही सुधार ल्याएको छु । कुनै बेला म ३–४ प्लेट म:म, २–३ प्लेट सेकुवा, एक दर्जन केरा, थुप्रै उसिनेका अन्डा तथा भात थपी–थपी खान्थें । अहिले म बिहान मात्र भात खान्छु, साँझ रोटी अथवा अन्य कुनै हल्का खानेकुरा खान्छु । दूध तथा दूध हालेको चिया, म:म तथा सेकुवा खान्नँ । एलोबेराको जुस, कालो चिया तथा फलफूलमा बढी जोड दिइरहेको छु ।
टेलिश्रृंखला तथा सांस्कृतिक कार्यक्रमहरूमा मेरो भुँडी चर्चाको विषय बन्न थालेपछि मैले एउटा गीत नै गाएँ, ‘जय भुँडी’ । उक्त गीतमा मैले भुँडीका प्रकार तथा विशेषताहरू वर्णन गरेको छु । भुँडीको प्रकारका बारेमा मेरो आफ्नै परिभाषा छ । संसारमा जम्मा चार प्रकारका भुँडी हुन्छन्— घ्याम्पे भुँडी, हाँडीघोप्टे भुँडी, टाकनटुकन भुँडी अनि ठण्डाराम भुँडी, मेरो आफ्नै चाहिँ ‘घ्याम्पे भुँडी’ हो ।
भुँडी ठूलो भएपछि झेल्नुपरेको एउटा मात्र समस्या भनेको पहिरनको हो । काठमाडौंमा मलाई ठीक हुने तयारी पोसाक सितिमिति पाइँदैनन् । म प्राय: विदेशबाटै टिसर्टहरू मगाउँछु । जिन्सका पाइन्ट सिलाएरै लगाउँछु । मैले लगाउने टिसर्टबाहेक प्राय: सबै पहिरन टेलरमा गएर सिलाउनुपर्छ । यो कुरामा चाहिँ मलाई केही दु:ख लाग्छ ।